close

नझुक्किनुस् है ! एमाले प्रवेश गरेका शेरबहादुर देउवा काँग्रेसका निवर्तमान सभापति होइनन्

टेकपाना टेकपाना

माघ २९, २०८२ १९:५५

नझुक्किनुस् है ! एमाले प्रवेश गरेका शेरबहादुर देउवा काँग्रेसका निवर्तमान सभापति होइनन्

काठमाडौँ । सामाजिक सञ्जालमा डडेलधुराका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा एमाले प्रवेश गरेको सम्बन्धी सामग्री भाइरल भइरहेका छन् । नाम मिलेका कारण केही आईडीले कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नै पार्टी छाडेर एमाले प्रवेश गरेको दाबी फैलाएका छन् ।

टिकटकमा ‘nepal.tak.news’ नामको अकाउन्टले बुधबार (११ फेब्रुअरी) एक भिडिओमार्फत काँग्रेस नेता शेरबहादुर देउवा एमाले प्रवेश गरेको दाबी गरेको छ । पृष्ठभूमिमा नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको तस्बिरको प्रयोग गरिएको छ, जसले गर्दा सर्वसाधारण झुक्किने अवस्था बनेको छ ।

भिडिओमा भनिएको छ, “एमाले प्रवेश गरे शेरबहादुर देउवा, एमाले नै राष्ट्र निर्माणको शक्ति भएको शेरबहादुरको दाबी । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका-स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा शेरबहादुर देउवाले काँग्रेस परित्याग गर्दै एमाले प्रवेश गरेको नेकपा एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुले बताएका हुन् । नेकपा एमाले नै राष्ट्र निर्माणको शक्ति भएको शेरबहादुर देउवाले बताएका छन् ।” हेर्नुहोस् भिडिओ र स्क्रिनशट ।

 

कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘डडेलधुराका शेरबहादुर देउवा एमाले प्रवेश’ भन्ने शीर्षकमात्र पोस्ट गर्दा अन्योल सिर्जना भएको छ । यस्तो संक्षिप्त जानकारीका कारण केही सर्वसाधारणले कांग्रेसका केन्द्रीय सभापति देउवाले नै पार्टी परित्याग गरेको भनी बुझ्न पुगेका छन् ।

सामाजिक सञ्जालमा देउवा एमालेमा प्रवेश गरेका विभिन्न पोस्ट गरेको पाइएपछि हामीले उक्त घटनाबारे बुझ्ने प्रयास गर्‍यौँ । बुझ्ने क्रममा डडेलधुराको गन्यापधुरा गाउँपालिका वडा नं ३ का स्थानीय नेता शेरबहादुर देउवा २६ माघमा एमाले प्रवेश गरेको पाइएको छ । 

यस विषयमा सञ्चार माध्यम नेपालप्रेसले समेत समाचार लेखेको छ । बुधबार (११ फेब्रुअरी) दिउँसो ३:११ मा नेपालप्रेसमा ‘डडेल्धुराका शेरबहादुर देउवा एमाले प्रवेश’ शीर्षकमा समाचार प्रकाशित हो । समाचारमा उल्लेख छ, “एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका-स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका तत्कालीन मष्टामाण्डौ गाउँ कमिटी सभापति देउवाले कांग्रेस परित्याग गर्दै एमाले प्रवेश गरेको जानकारी नेकपा एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुले दिएका छन् ।” पढ्नुहोस् समाचार, आर्काइभ लिङ्क र स्क्रिनशट । 

 

त्यसपछि हामीले एमाले डडेलधुराका अध्यक्ष गजेन्द्रबहादुर शाहीसँग एमालेमा काँग्रेस नेताहरू प्रवेश गरेको विषयमा कुराकानी गर्‍यौँ । उनले २६ माघमा भएको पालिका स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा तत्कालीन मष्टामाण्डौ गाउँ समिति सभापतिसमेत रहेका स्थानीय नेता शेरबहादुर देउवासहितका व्यक्तिहरू एमाले प्रवेश गरेको जानकारी दिए ।

उनले भने, “२६ माघमा उहाँसँगै ९-१० जना एमाले प्रवेश गर्नु भएको हो । हिजो (२८ माघ) देखि केही मिडियामा समाचार आउन थाल्यो । त्यसपछि काँग्रेसका पूर्वसभापति देउवासँग नाम मिलेको कारणले यो कुरालाई अतिरञ्जित बनाउँदै सामाजिक सञ्जालमा प्रस्तुत गरिएको हो । पूर्वप्रधानमन्त्री देउवासम्बन्धी आएका ती दाबी पूर्णतः निराधार र भ्रमपूर्ण हुन् ।” 

पछिल्लो अध्यावधिक: माघ २९, २०८२ २०:१६