एमाले अध्यक्ष ओलीका फेसबुक फलोअर १० लाख नाघे, पोस्टमा लाइक गर्नेको नाम लुक्ने फिचर सक्रिय
फागुन २, २०८२ १३:४५
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा फलोअरको सङ्ख्या १० लाख नाघेको छ । पछिल्लो दुई साताको अवधिमा अस्वाभाविक रूपमा फलोअर थपिएसँगै ओलीको पेजले यो आँकडा पार गरेको हो ।
सामाजिक सञ्जालको तथ्याङ्क विश्लेषण गर्ने पोर्टल ‘सोसल ब्लेड’का अनुसार १३ फेब्रुअरी २०२६ सम्म ओलीको फेसबुकमा ९ लाख ८५ हजार फलोअर थिए । शनिबार एकैदिन १५ हजार फलोअर थपिएपछि यो सङ्ख्या १० लाख पुगेको हो । पछिल्लो १४ दिनको छोटो अवधिमा मात्रै ओलीको पेजमा साढे दुई लाख बढी फलोअर थपिएका छन् ।
यसअघि माघ २१ गते टेकपानाले ओलीको फेसबुक पेजमा फलोअरको सङ्ख्या अस्वाभाविक रूपमा बढिरहेको उल्लेख गरेको थियो । सो समयमा ९ लाख ५७ हजार फलोअर रहेकोमा त्यसपछिको १० दिनमा मात्रै ४३ हजारभन्दा बढी फलोअर थपिएका थिए ।
सोसल ब्लेडको तथ्याङ्क अनुसार ३० जनवरीमा ओलीको फेसबुकमा सात लाख ३० हजार हाराहारी फलोअर थिए । फेब्रुअरी १ मा १८०० र फेब्रुअरी २ मा २२०० को हाराहारीमा फलोअर बढेका थिए । तर,३ फेब्रुअरीमा एकैपटक एक लाख ५३ हजार र ४ फेब्रुअरीमा ७३ हजारभन्दा बढी फलोअर थपिएका थिए । यसरी दिनहुँ हजारौँको सङ्ख्यामा फलोअर थपिँदा ओलीको खातामा १० लाखको आँकडा पुगेको हो ।

रियाक्ट गर्ने व्यक्तिको नाम लुक्ने फिचर सक्रिय
१० लाख फलोअर नाघेसँगै ओलीको फेसबुक पेजमा एउटा नयाँ प्राविधिक परिवर्तन देखिएको छ । फेसबुकले १० लाखभन्दा बढी फलोअर भएका पेजका पोस्टमा ‘रियाक्ट’ गर्ने प्रयोगकर्ताको नाम सार्वजनिक रूपमा सबैले हेर्न नमिल्ने फिचर उपलब्ध गराउँदै आएको छ । ओलीको फेसबुक पेजमा १० लाख फलोअर पुगेलगत्तै यो फिचर सक्रिय भएको छ ।
हाल एन्ड्रोइड, डेस्कटप र म्याक ओएस प्रयोगकर्ताका लागि ओलीको पेजमा रियाक्ट गर्नेको नाम देखिन छाडेको छ भने आईओएस (आईफोन) मा भने यो विवरण अझै देखिने गरेको छ । यद्यपि फेसबुकले यो फिचरबारे आधिकारिक घोषणा भने गरेको छैन ।
पछिल्लो अध्यावधिक: फागुन २, २०८२ १४:०
