close

रोहित शर्माले दिपेन्द्रसिंह ऐरीलाई बाइक उपहार दिएको दाबी मिथ्या, एआई सिर्जित तस्बिर भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन ६, २०८२ १४:१

रोहित शर्माले दिपेन्द्रसिंह ऐरीलाई बाइक उपहार दिएको दाबी मिथ्या, एआई सिर्जित तस्बिर भाइरल

काठमाडौँ । मङ्गलबार रातिदेखि सामाजिक सञ्जालमा नेपाली क्रिकेट टिमका उप-कप्तान एवम् अलराउन्डर दिपेन्द्रसिंह ऐरीलाई भारतीय क्रिकेट टोलीका पूर्वकप्तान रोहित शर्माले बाइक उपहार दिएको दाबी गरिएका पोस्ट भाइरल भइरहेका छन् । जारी टी-२० पुरुष विश्वकप २०२६ अन्तर्गतको खेलमा स्कटल्याण्डविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गर्दै नेपाललाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै शर्माले ऐरीलाई सम्मानस्वरूप उक्त उपहार दिएको चर्चा चलेको छ ।

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी मिथ्या पुष्टि भएको छ । भारतीय क्रिकेटर रोहित शर्माले दिपेन्द्रसिंह ऐरीलाई कुनै पनि किसिमको उपहार दिएका छैनन् र सामाजिक सञ्जालमा फैलाइएको यो जानकारी झुटो हो ।

दाबी

मङ्गलबार १७ फेब्रुअरी २०२६ राति ११ः२६ बजे ‘Rohit Sharma Fans’ नामक अकाउन्टबाट एउटा पोस्ट अपलोड भयो । पोस्टको क्याप्सनमा लेखिएको छ, “Rohit Sharma Gifted a bike to Dipendra Singh Airee after Winning the Match as Rohit Paudel and Harbhajan Singh Show Respect.❤️🙆।” यसलाई नेपालीमा भावानुवाद गर्दा यस्तो हुन्छ, “खेल जितेपछि रोहित शर्माले दिपेन्द्रसिंह ऐरीलाई एउटा बाइक उपहार दिएका छन्, जसमा रोहित पौडेल र हरभजन सिंहले पनि सम्मान प्रकट गरेका छन् ।” त्यसभन्दा तल फोटो राखिएको छ, जहाँ दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, रोहित शर्मा र हरभजन सिंह देखिएका छन् । रोहित शर्माले ऐरीलाई बाइकको साँचो दिएको देखाइएको छ । माथि क्याप्सनमा भने फोटो एआई सिर्जित भएको उल्लेख गरिएको छ ।

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ६२ हजार बढी रियाक्सन, १३०० बढी कमेन्ट र २५९ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले सोही किसिमका दाबी फेला पार्न गुगल एड्भान्स सर्चमा ‘Rohit Sharma Dipendra Singh Airee’, ‘Bike gift Dipendra Singh’ जस्ता किवर्ड खोज्यो । त्यस क्रममा युट्युबमा ‘@indiancriceter’ नामका प्रयोगकर्ताले पनि रोहित शर्माले दिपेन्द्रसिंह ऐरीलाई बाइक उपहार दिएको दाबीसहित भिडिओ राखेको पाइयो । हेर्नुहोस् ओरिजिन भिडिओ र स्क्रिनशट ।

त्यस्तै थ्रेड्समा ‘bcn_livesports’ नामक प्रयोगकर्ताले पनि रोहित शर्माले दिपेन्द्रसिंह ऐरीलाई बाइक उपहार दिएको दाबी गर्दै पोस्ट राखेको फेला पर्‍यो । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट ।

फेसबुकमा ‘Cricotism TV’ नामको फेसबुक पेजले रोहित शर्माले ऐरीलाई बाइकसँगै कार पनि उपहार दिएको दाबी गरेका छन् । यो सामग्री तयार पार्दासम्म सो पोस्टमा ३१०० बढी रियाक्सन र १८२ ओटा कमेन्ट आएका छन् भने पोस्टलाई २० पटक शेयर गरिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यस विषयमा थप जानकारी फेला पार्न रोहित शर्माले दिपेन्द्रसिंह ऐरीलाई बाइक वा कार उपहार दिएको बारे गुगलमा एड्भान्स सर्चमा जानकारी खोज्यौँ । तर, रोहित शर्माले उपहार दिएको विषयमा हालसालै कुनै पनि नेपाली, भारतीय वा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार राखेको फेला परेन । 

त्यसपछि हामीले दिपेन्द्रसिंह ऐरीको सामाजिक सञ्जालका अकाउन्ट हेर्‍यौँ । त्यहाँ पनि उनले कार वा बाइक उपहार पाएको विषयमा केही जानकारी नराखिएको देखियो । हेर्नुहोस् उनको फेसबुक, एक्स इन्स्टाग्राम अकाउन्ट ।

त्यस्तै रोहित शर्माको पनि सामाजिक सञ्जालका अकाउन्टमा उनले दिपेन्द्रसिंह ऐरीलाई उपहार दिएको विषयबारे खोज्यौँ । त्यसमा पनि कुनै जानकारी फेला परेनन् । हेर्नुहोस्, रोहित शर्माको फेसबुक पेज, इन्स्टाग्राम अकाउन्ट र एक्स ह्यान्डल । 

आईसीसीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टहरूमा पनि रोहित शर्माले दिपेन्द्रसिंह ऐरीलाई उपहार दिएको विषयमा कुनै जानकारी राखिएको फेला परेन । हेर्नुहोस्, आईसीसीको फेसबुक पेज, वेबसाइट, इन्स्टाग्राम एक्स अकाउन्ट ।

त्यस्तै भाइरल भइरहेको पोस्टमा फोटो एआई सिर्जित भएको स्पष्ट उल्लेख गरिएको छ । टेकपाना फ्याक्टचेक डेस्कले गुगलको सिन्थ आईडी डिटेक्टरमा परीक्षण गर्दा उक्त फोटो गुगलको एआई टुल प्रयोग गरी तयार पारिएको पुष्टि भयो । यद्यपि माथिपट्टि ऐरी र समर्थकको वास्तविक फोटो पछिबाट थपिएको देखिन्छ ।

यी विभिन्न तथ्यलाई विश्लेषण गर्दा भारतीय क्रिकेट टिमका पूर्व कप्तान रोहित शर्माले नेपाली क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई स्कटल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरे वापत बाइक, कार वा दुबै उपहार दिएको भन्ने दाबी मिथ्या पुष्टि हुन्छ ।

दाबी

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान रोहित शर्माले नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई जारी टी-२० पुरुष विश्वकप क्रिकेटमा स्कटल्यान्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भन्दै बाइक, कार उपहार दिए । 

दाबीकर्ता

‘Rohit Sharma Fans’, ‘Cricotism TV’, नामका फेसबुक पेज, ‘@indiancriceter’ नामक युट्युब च्यानल, थ्रेड्समा 'bcn_livesports' नामको एकाउन्ट  लगायत अन्य ।

तथ्य

यो दाबीलाई पुष्टि गर्ने कुनै पनि ठोस प्रमाण फेला परेनन् । गुगल एड्भान्स सर्च र अन्तर्राष्ट्रिय सञ्चार माध्यममा खोजि गर्दा रोहित शर्माले दिपेन्द्रसिंह ऐरीलाई उपहार दिएको विषयमा कतै पनि समाचार फेला परेन । अनुसन्धानकै क्रममा दिपेन्द्रसिंह ऐरी र रोहित शर्मा दुवैका आधिकारिक सामाजिक सञ्जालका अकाउन्ट अध्ययन गर्दा यसबारे कुनै जानकारी उल्लेख नभएको पाइयो । साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक प्लेटफर्ममा पनि यस्तो कुनै घटनाको विवरण देखिएन । दाबीमा प्रयोग गरिएको तस्बिर समेत एआई सिर्जित रहेको पुष्टि भयो ।

निष्कर्ष

रोहित शर्माले दिपेन्द्रसिंह ऐरीलाई बाइक वा कार उपहार दिए भन्ने दाबी मिथ्या हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८२ १६:१९