close

फ्याक्टचेकः रास्वपा नेतृ सोविता गौतमले मतदातालाई रकम दिएको दाबी भ्रामक

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन १३, २०८२ १६:३४

फ्याक्टचेकः रास्वपा नेतृ सोविता गौतमले मतदातालाई रकम दिएको दाबी भ्रामक

काठमाडौँ । पछिल्ला केही दिनयता सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम् चितवन क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार सोविता गौतमले चुनावी प्रचारका क्रममा मतदातालाई रकम बाँडेको भन्दै एउटा दाबी भाइरल भइरहेको छ । प्रचार गरिएको तस्बिरमा गौतम र एक महिलाले रकम समातेको देखाइएको छ र सोही भागमा गोलो घेरा लगाइएको छ ।

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त दाबी भ्रामक पुष्टि भएको छ । वास्तवमा चितवनको चुनावी अभियानका क्रममा एक महिलाले गौतमलाई ‘पानी पिउने खर्च’ भन्दै १,०१० रुपैयाँ हातमा राखिदिएकी थिइन् । गौतमले लिन नाइँनास्ती गर्दा पनि ती महिलाले नमानेपछि अन्त्यमा उनले उक्त रकम स्वीकार गरेकी थिइन् । मतदाताले उम्मेदवारलाई दिएको रकमलाई उल्टै उम्मेदवारले मतदातालाई बाँडेको भन्दै भ्रम फैलाइएको पुष्टि हुन्छ ।

दाबी

सोमबार, २३ फेब्रुअरी बेलुका ७ः२५ बजे ‘टिका सानु फ्यान क्लब’ नामक फेसबुक ग्रुपमा ‘Ram Kumar’ नामका फेसबुक प्रयोगकर्ताले एक पोस्ट शेयर गर्छन् । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “"जान्नेलाई छान्ने"  जनताको खल्तीमा १००० को नोट हाल्ने ।।”

उक्त पोस्टमा राखिएको फोटोमा रास्वपा नेतृ गौतम एक महिलासँग फोटो खिचाइरहेको देखिन्छिन् । उनको हातमा नेपाली रुपैयाँको नोट जस्तो देखिन्छ । फोटोमा ‘Savage Nepal’ को वाटरमार्क छ । रकम लिएको भनिएको फोटोमा रातो घेरा लगाइएको छ । 

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ६३९ रियाक्सन, ४१५ कमेन्ट आएका छन् । साथै सो पोस्ट २८ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

प्रतिनिधि सभा सदस्य उम्मेदवार गौतमले मतदातालाई रकम बाँडेको दाबीबारे थप बुझ्न टेकपाना फ्याक्टचेक डेस्कले फोटो रिभर्स इमेज सर्च गर्‍यो । त्यस क्रममा उक्त फोटो ‘Ram Kumar’ नामका फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुक अकाउन्टबाट पनि पोस्ट गरेको पाइयो । सो पोस्टमा यो समाग्री तयार पार्दासम्म १३२ ओटा रियाक्सन र २०८ ओटा कमेन्ट आएका छन् भने १७ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

सो पोस्टलाई थप विश्वसनीय बनाउन उनले आफ्नो धारणा कमेन्टमा राखेका छन् । उनले लेखेका छन्, “लौ सुन घण्टे पार्टीका भेंडा समर्थकहरू हो। मैले रास्वपा भन्दा अरूको स्टाटस पोस्ट गर्दा तिमीहरूको नजर र आँखा पुग्दैन तर, "घण्टे पार्टी" लेख्यो कि टोक्न आइपुगी हाल्छौ त!! अनि तिमीहरूलाई **त्ता न भनेर कसलाई भन्ने ? ।”

त्यस्तै ‘Laxman Dhami’ नामका फेसबुक प्रयोगकर्ताले रकम नै सोविता गौतमले मतदातालाई दिएको जस्तो देखिने गरी फोटो राखेका छन् । उनले क्याप्सनमा लेखेका छन्, “रास्वपा का उम्मेदवार ले धमाधम पैसा बाड्दै छ जेल ठाेकाै ।” उक्त पोस्टमा १९५ रियाक्सन, ५८ कमेन्ट आएका छन् भने २३ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

फेसबुकमा लेखक राईले उक्त फोटो शेयर गर्दै लेखेका छन्, “धमाधम भोट किन्दै <रास्वपा> का उमेद्वार हरू, न्युनतम १०००, देखी २०/३० हजार सम्म एक भोट को निम्ति पैसा बाँडिरहेको भन्ने सूचना प्राप्त भएको छ, प्रमाणहरू स्रब्यदृष्य मै उपलब्ध हुनेछ! तर सीमित पैसा मा भोट बेचेर कस्तो परिवर्तन आउँछ नेपाली हो? यसरी किन गति छाडा भएको नेपाली हरू?”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ११०० बढी रियाक्सन, ६७० कमेन्ट र १५५ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

यस तस्बिरको वास्तविकता जाँच्न ‘Savage Nepal’ नामको सामाजिक अकाउन्ट खोज्ने क्रममा एउटा अकाउन्ट फेला पर्‍यो । उक्त अकाउन्टबाट २० फेब्रुअरीमा पोस्ट राख्दै लेखिएको थियो, “चुनावी प्रचारमा हिँड्दा ❤️🗳️ मायाले भरिएकी एक आमाले Shobita Gautam लाई पैसा दिनु भयो 💵🙏 “भयो भयो, चाहिँदैन आमा” भन्दा पनि नमानेपछि 😅 १००० र १० को नोटमध्ये शोबिताले केवल रु १० को नोट लिँदै भन्नुभयो —“यति भए पुग्छ आमा, तपाईंको माया नै ठूलो हो” ❤️✨।” अर्थात मूल रूपमा फैलिएको मध्ये एक फोटोको वास्तविक स्रोतले उक्त रकम मतदाताले सोविता गौतमलाई दिएको उल्लेख गरेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट । 

यसको तथ्यजाँचका लागि हामीले इनभिड वि भेरिफाई टुलबाट कीफ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गरी हेर्‍यौं । त्यस क्रममा २० फेब्रुअरी २०२६ मा ‘uniquecreationtv’ नामक युट्युब च्यानलले शर्ट भिडिओ राखेको फेला पर्‍यो । हेर्नुहोस् भिडिओ । 

त्यस्तै ‘राष्ट्रप्रेस मिडिया’ नामक फेसबुक पेजले पनि २० फेब्रुअरीमा उक्त भिडिओ राखेको छ । हेर्नुहोस् भिडिओ

सो भिडिओमा टीका बोकेर आएकी एक महिलाले हातमा १०१० रुपैयाँ बोकेको देखिन्छ । वृद्ध महिलाले भनेकी छिन्, “यति लर (यति लिनुहोस्)।” पृष्ठभूमिमा आवाज सुनिन्छ, “हामीले चितवनबाट ज्योती नगर ल्याएर राख्दिएको है ।”

त्यसपछि सोविताले १०१० मध्ये १० रुपैयाँको नोट हातमा लिंदै भन्छिन्, “हैन, मैले यो मात्र लिन्छु आमा । यो मुनिको मात्रै । होइन पर्दैन के । पर्दैन…” त्यसपछि पृष्ठभूमिमा अर्की महिलाले बोलेको सुनिन्छ, “नदिनु भनेको पानी खाने पैसा …।”

अर्थात् सोविताले रकम नदिन जोड गर्दा गर्दै पनि ती महिलाले पानी पिउनु भन्दै सो रकम हातमा दिएकी हुन् । यसरी मतदाताले उम्मेदवारलाई दिएको रकम गलत अर्थ लाग्ने गरी उम्मेदवारले मतदातालाई दिएको जस्तो बनाइ भ्रम फैलाइएको पुष्टि हुन्छ ।

दाबी

रास्वपा नेतृ एवं प्रतिनिधि सदस्य निर्वाचन २०८२, चितवन-३ की उम्मेदवार सोविता गौतमले चुनावी प्रचारप्रसारका क्रममा भोट किन्नका लागि मतदाताको खल्तीमा १००० को नोट हालिदिएको अर्थात् मतदातालाई रकम बाँडेको ।

दाबीकर्ता

सामाजिक सञ्जाल (विशेषगरी फेसबुक) प्रयोगकर्ता ‘Ram Kumar’, ‘Laxman Dhami’ र ‘लेखक राई’ लगायत अन्य । 

तथ्य

वास्तवमा सोविता गौतमले मतदातालाई पैसा दिएको नभई चितवनको चुनावी अभियानका क्रममा एक जना वृद्ध महिला (मतदाता) ले सोवितालाई ‘पानी पिउने खर्च’ भन्दै १,०१० रुपैयाँ हातमा राखिदिएकी थिइन् । सोविताले सुरुमा उक्त रकम लिन इन्कार गर्दै १० रुपैयाँ मात्र लिन खोजेको र पछि ती महिलाले निरन्तर कर गरेपछि मात्र रकम स्वीकार गरेको भिडिओमा प्रस्ट देखिन्छ र सुनिन्छ ।

निष्कर्ष

रास्वपा नेतृ सोविता गौतमले मतदातालाई रकम बाँडेको भन्ने दाबी भ्रामक हो ।

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स, ​युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १३, २०८२ १७:४०