फ्याक्टचेकः जीतनारायण श्रेष्ठले प्रचारमा जरासहितको रुख बोकेको भाइरल तस्बिर वास्तविक नभई एआई सिर्जित
फागुन १३, २०८२ २०:०
काठमाडौँ । बुधबारदेखि चितवनका काँग्रेस नेता जीतनारायण श्रेष्ठको एउटा तस्विर भाइरल भइरहेको छ । तस्विरमा चुनावी प्रचारका क्रममा उनले जरासहितको रुख बोकेको देखिन्छ ।
तर टेकपाना फ्याक्टचेकका क्रममा उक्त तस्विर एआईबाट तयार गरी भाइरल बनाइएको पुष्टि भएको छ । श्रेष्ठ १० वैशाख २०८० मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन २ बाट काँग्रेस उम्मेदवार रहेका थिए । यतिखेर भने उनी सोही क्षेत्रबाट काँग्रेसकै उम्मेदवार मीना कुमारी खरेलको प्रचार गरिरहेका छन् ।
प्रचारकै क्रममा केही दिनअघि उनले रास्वपाका कार्यकर्ताले घण्टी बजाएको प्रति लक्षित गर्दै ‘काँग्रेसले त्यसैगरी रुख बोके के हुन्छ ?’ भन्ने टिप्पणी गरेका थिए । उनको सोही टिप्पणीलाई लिएर रुख बोकेको देखाउने एआई तस्विर तथा भिडिओ बनाई भ्रम फेलाउनुका साथै ट्रोल समेत बनाएको पाइएको हो ।
दाबी
Gyanendra Khadka नामक फेसबुक प्रयोगकर्ताले २५ फेब्रुअरी २०२६ को साँझ ४:४९ बजेको समयमा फेसबुकमा काँग्रेस नेता जीतनारायण श्रेष्ठले पार्टीको चुनावी प्रचारमा जरासहितको सानो रुख बोकेको जस्तो देखिने तस्विर पोस्ट गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्, "जितनारायणले रूख बोके, केपी ओली र प्रचण्डले कहाँबाट ल्याउलान् सूर्य र तारा ?" हेर्नुहोस्, पोस्ट र स्क्रिनशट ।

अनुसन्धान
Gyanendra Khadka ले पोस्ट गरेको फोटोको सत्यता बुझ्न हामीले गुगल रिभर्स इमेज सर्च गरेर हेर्यौँ । त्यस क्रममा अन्य फेसबुक प्रयोगकर्ता तथा पेजबाट समेत सोही फोटो पोस्ट भएको देखियो ।
फेसबुक प्रयोगकर्ता Bikas Shahi ले २५ फेब्रुअरी २०२६ को बिहान २ः१९ बजेको समयमा लेखेका छन्, "कांग्रेसले यसरी प्रचार गर्दा कस्तो होला ?"
हेर्नुहोस् पोस्टको लिङ्क र तलको स्क्रिनशट ।

त्यस्तै Purbeli News नामक फेसबुक पेजले २५ फेब्रुअरी साँझ ३ः४९ बजेको समयमा सोही फोटोमा रास्वपा उम्मेदवार डा तोसिमा कार्कीको फोटो जोडेर फेसबुकमा राखेको छ । जसको क्याप्सनमा लेखिएको छ, "रास्वपाले निर्वाचन चिन्ह घन्टी बोकेर हिँड्न थालेपछि कांग्रेसका कार्यकर्ताले पनि चुनाव चिन्ह रुख बोकेर हिँड्न थालेको छन l" साथै सोही टेक्स्टलाई फोटोमाथि टेक्स्ट ओभरलेको रूपमा समेत राखिएको छ ।
हेर्नुहोस्, सो पोस्टको लिङ्क र तलको स्क्रिनशट ।

Betana Dainik नामक फेसबुक पेजले पनि २५ फेब्रुअरी दिउँसो ३ः२१ बजेको समयमा Purbeli News कै क्याप्सन र फोटो जस्ताको तस्तै पोस्ट राखेको भेटियो । हेर्नुहोस्, लिङ्क र स्क्रिनशट ।

यसबाहेक Lók Star Nepal, Uttam Dai , RM Chhetri लगायतका फेसबुक प्रयोगकर्ताले समेत सोही फोटो विभिन्न शीर्षक सहित पोस्ट गरेको पाइयो ।
उक्त फोटोलाई गुगलको एआई स्टुडियोमा राखेर चेक गर्दा तस्विरको अधिकांश अथवा समग्र भाग गुगल एआईमार्फत सम्पादन एवं सिर्जना गरेको देखियो ।

त्यसपछि हामीले फेसबुकमा 'जितनारायण श्रेष्ठ', 'जीतनारायण श्रेष्ठ', 'जीतनारायण श्रेष्ठ रुख' आदि किवर्ड सर्च गर्दा उनले साना-ठुला रुख बोकेका सजिलै एआई सिर्जित भएको बुझिने अनेकौँ फोटो भिडिओहरू भेटिए ।



त्यसैक्रममा उनको एउटा वास्तविक भिडिओ भेटियो । जसमा उनले भिडिओ खिच्ने व्यक्तिसँग कुरा गर्दै प्रतिक्रिया दिएका छन्, "हामी प्रचारमा हिँडिराख्या छौँ । आएर ट्याङड्याङ ट्याङड्याङ ट्याङड्याङ ट्याङ-ड्याङ घण्टी । हाम्ले रुखको जरा बोकेर हिन्न थाल्यो भने के हुन्छ काँग्रेसले ? रुखै बोकेर हिन्यो भने के हुन्छ त्यो बेलामा ?"
श्रेष्ठको सोही भिडिओलाई धेरैले ट्रोलको रूपमा सामाजिक सञ्जालमा शेयर गरेको र क्रमशः एआईबाट उनले रुख बोकेको देखिने फोटो भिडिओ सिर्जना गरेको बुझियो ।
दाबी
Gyanendra Khadka नामक फेसबुक प्रयोगकर्ताले २५ फेब्रुअरी २०२६ साँझ ४:४९ बजे फेसबुकमा एउटा तस्बिर पोस्ट गरेका छन् । जसमा चितवनका काँग्रेस नेता जीतनारायण श्रेष्ठले चुनावी प्रचारका क्रममा जरासहितको रुख बोकेको जस्तो देखिन्छ । पोस्टको क्याप्सन उनले लेखेका छन्, “जितनारायणले रूख बोके, केपी ओली र प्रचण्डले कहाँबाट ल्याउलान् सूर्य र तारा ?” तस्बिरमार्फत उनले वास्तविक रूपमा प्रचारका क्रममा रुख बोकेको सन्देश दिन खोजेको देखिन्छ ।
दाबीकर्ता
Gyanendra Khadka, Bikas Shahi, Purbeli News, Betana Dainik, Lok Star Nepal, Uttam Dai, RM Chhetri लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
तस्बिरको वास्तविकता जाँच गर्न गुगल रिभर्स इमेज सर्च गर्दा सोही फोटो विभिन्न प्रयोगकर्ता र पेजबाट पोस्ट भएको भेटियो । जसले यो तस्विर भाइरल बनाइएको सङ्केत गर्छ । साथै तस्बिरलाई एआई डिटेक्सन उपकरणमार्फत परीक्षण गर्दा गुगल एआई मार्फत सिर्जना वा सम्पादन गरिएको देखियो ।
यसै क्रममा सामाजिक सञ्जालमा खोजी गर्दा श्रेष्ठको एउटा वास्तविक भिडिओ भेटियो, जहाँ उनले प्रतिप्रश्नको रूपमा “हामीले रुखै बोकेर हिँड्यौँ भने के हुन्छ ?” भन्ने अभिव्यक्ति दिएका छन् । सोही अभिव्यक्तिलाई आधार बनाएर एआई प्रविधि प्रयोग गरी उनले रुख बोकेको जस्तो देखिने तस्बिर तथा भिडिओहरू बनाइएको देखिन्छ ।
निष्कर्ष
उपलब्ध प्रमाण र प्रविधिगत विश्लेषणका आधारमा जीतनारायण श्रेष्ठले चुनावी प्रचारका क्रममा जरासहितको रुख बोकेको भन्ने दाबी पुष्टि हुँदैन । भाइरल तस्बिर एआई प्रविधिबाट सिर्जित वा सम्पादित गरिएको देखिन्छ । त्यसैले सामाजिक सञ्जालमा फैलिएको उक्त तस्विर भ्रामक हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन १३, २०८२ २०:१
