कांग्रेस उम्मेदवारको घर पुगेको प्रसङ्गलाई तोडमोड गरी भ्रामक प्रचार भएपछि रास्वपा उम्मेदवार टासी ल्हाजोमको आपत्ति
फागुन १३, २०८२ ०:३१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट हुम्लाकी उम्मेदवार टासी ल्हाजोमले आफूलाई ‘कांग्रेस उम्मेदवार’ भनेको भन्दै सामाजिक सञ्जालमा फैलाइएको भिडिओको खण्डन गरेकी छिन् । केही सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडिओको सानो अंशलाई तोडमोड गरी उनी पार्टीप्रति नै अन्योलमा रहेको भन्दै भ्रम फैलाएपछि उनले त्यसको प्रतिवाद गरेकी हुन् ।
बुधबार ‘जनता मिडिया’ लगायतका फेसबुक र टिकटक आईडीहरूमा “हुम्ला पुगेर टासी ल्हाजोमले भनिन् म काँग्रेसको उम्मेदवार” भन्ने शीर्षकमा समाचार शैलीको भिडिओ सार्वजनिक भएको थियो । उक्त भिडिओमा टासीले “म हाल कांग्रेसको उम्मेदवार हुम्लाबाट..." भन्दै गर्दा एक वृद्धालेले उनलाई खादा लगाइदिएको देखिन्छ ।
यद्यपि, वास्तविक भिडिमा टासी ल्हाजोम हुम्लाका नेपाली कांग्रेसका प्रत्यक्ष उम्मेदवार जयपति रोकायाको घरमा पुगेकी थिइन् । उनले “म हाल कांग्रेसको उम्मेदवारको घरमा आएकी छु” भन्न खोज्दा रोकायाकी आमाले खादा लगाइदिएर स्वागत गरेपछि उनको वाक्य बीचमै रोकिएको देखिन्छ । भिडिओमा उनले रास्वपाको चुनाव चिह्न घन्टी अंकित टोपी स्पष्ट रूपमा लगाएकी छिन् ।
आफ्नो भनाइलाई गलत अर्थ लाग्ने गरी प्रचार गरिएकोमा आक्रोश व्यक्त गर्दै ल्हाजोमले सामाजिक सञ्जालमा लेखेकी छिन्, “म चट्टान हुँ, नकरात्मक प्रचारले मलाई होइन, मेरो साहसलाई अझ बलियो बनाउँछ । आलोचनाको आगोमा तापिएर निस्किएको छु, अब जित रोक्ने कसैको शक्ति छैन । कसैको विषयमा बोल्नुभन्दा अगाडि गहिराइमा पुग्न जरुरी छ । यस्ता नकरात्मक टिप्पणीले मलाई केही हुँदैन, यो त हजुरहरूको काम हो- कसरी कसलाई खसाल्ने र होच्याउने भन्ने कुरा !”
टासीबारे अफबाह फैलाउने भिडिओमा सयाैँले कमेन्ट गरेका छन् । कतिपय प्रयोगकर्ताले उनलाई ‘आफ्नो पार्टी नै थाहा नभएको’ भन्दै व्यङ्ग्य गरेका छन् ।
निर्वाचनको मुखमा उम्मेदवारको छवि धुमिल बनाउन भिडिओ कट गरेर भ्रामक शीर्षक र सन्दर्भसहित प्रचार गर्ने प्रवृत्ति बढेको छ ।
पछिल्लो अध्यावधिक: फागुन १३, २०८२ ०:३५

