close

एनसेल बिजनेस र ‘दामी एक्सपिरियन्स’ बीच साझेदारी, ४०० आउटलेटमा ५० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

फागुन १४, २०८२ १५:४२

एनसेल बिजनेस र ‘दामी एक्सपिरियन्स’ बीच साझेदारी, ४०० आउटलेटमा ५० प्रतिशतसम्म छुट

काठमाडौँ । एनसेल बिजनेसले डिजिटल प्रिभिलेज कार्ड प्लेटफर्म ‘दामी एक्सपिरियन्स’सँगको साझेदारीमा आफ्ना ग्राहकका लागि नयाँ अफर सार्वजनिक गरेको छ । मङ्गलबार एक कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोले र दामी एक्सपिरियन्सका प्रमुख कार्यकारी अधिकृत विजेन्द्र कुँवरले यसबारे सम्झौता पत्रमा हस्ताक्षर गरे । 

साझेदारीअन्तर्गत एनसेलको ‘प्रोफेसनल’ वा ‘प्रिमियम’ सिग्नेचर प्लानमा आबद्ध ग्राहकहरूले ४०० भन्दा बढी आउटलेटहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन् । यो सुविधा विभिन्न रेस्टुरेन्ट, स्पा, जिम र मनोरञ्जन केन्द्रहरूमा उपलब्ध हुने बताइएको छ । व्यावसायिक नेटवर्किङ र स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

सम्झौताप्रति उत्साह व्यक्त गर्दै एनसेलका सीईओ माइकल फोलेले भने, “यो साझेदारीले नेतृत्वदायी भूमिकामा रहेका हाम्रा ग्राहकहरूका लागि सिग्नेचर प्लानलाई अझ विशेष बनाएको छ । प्रिमियम अनुभव र जीवनशैलीसँग जोडिएका सुविधाहरूसहितको यस प्लानले ग्राहकलाई विश्वस्तरीय सञ्चार सेवासँगै सफलता प्राप्त गर्न सहयोग गर्नेछ ।”

योजनाअन्तर्गत प्रयोगकर्ताले ‘हेयर एन्ड शान्ति’मा ५० प्रतिशत, ‘दुसित प्रिन्सेस होटल’मा २० प्रतिशत र विभिन्न व्यायामशाला (जिम) हरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । दामी एक्सपिरियन्सका सीईओ विजेन्द्र कुँवरले प्रिमियम ब्रान्डहरूमा उपलब्ध हुने यी छुटले ग्राहकहरूको व्यावसायिक जीवनशैलीलाई थप परिष्कृत बनाउने विश्वास व्यक्त गरे ।

कसरी लिने सुविधा ?

एनसेल सिग्नेचर प्लान प्रयोगकर्ताहरूले कुनै झन्झटबिना एनसेल एपमार्फत यो सुविधा लिन सक्ने बताइएको छ । एपभित्र रहेको ‘दामी एक्सपिरियन्स’ सेक्सनमा ट्याप गरी सरल प्रक्रिया पूरा गरेर ‘डिजिटल भीआईपी कार्ड’ सक्रिय बनाउन सकिन्छ । कार्ड सक्रिय भएपछि त्यहाँ सूचीकृत पार्टनर ब्रान्डहरूबाट ग्राहकले छुटको लाभ लिन सक्नेछन् । कुन-कुन ब्रान्डमा के-कस्ता अफर छन् भन्ने जानकारी पनि एपबाटै हेर्न सकिनेछ ।

के हो एनसेल सिग्नेचर प्लान ?

एनसेल बिजनेसले विशेषगरी कर्पोरेट अधिकारी र व्यवसायीहरूलाई लक्षित गरी ‘प्रोफेसनल’ र ‘प्रिमियम’ सिग्नेचर प्लान सञ्चालन गर्दै आएको छ । यसमा भ्वाइस, डेटा, एसएमएस र अन्तर्राष्ट्रिय रोमिङ सेवाहरू समावेश छन् ।

यस योजनामा २५० जीबीसम्मको उच्च गतिको डेटा र असीमित मासिक कल तथा एसएमएस सुविधा उपलब्ध छ । ग्राहकले ‘प्रोफेसनल सिग्नेचर प्लान’ वार्षिक १७,९९९ रुपैयाँमा र ‘प्रिमियम सिग्नेचर प्लान’ वार्षिक २१,९९९ रुपैयाँमा प्राप्त गर्न सक्छन् ।

छनोट गरिएको योजनाअनुसार भारत, चीन, अमेरिका, बेलायत, सिंगापुर, कतार, मलेसिया, थाइल्याण्ड र यूएई जस्ता देशहरूमा मासिक ६० मिनेट रोमिङ भ्वाइस र १० जीबी रोमिङ डेटा प्राप्त हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १४, २०८२ १८:५५