फ्याक्टचेकः रास्वपा कार्यकर्ताबाट १२ करोड बरामद भन्दै श्रम संस्कृति पार्टी समर्थकले भाइरल बनाएको भिडिओ भ्रामक
फागुन १४, २०८२ १८:५८
काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ । जसको पृष्ठभूमिमा प्रहरी चौकीको जस्तो पार्किङ देखिन्छ भने क्यामेरा अघि ३ जना प्रहरीले घटनाको बारेमा बयान गरिरहेका छन् ।
भिडिओको क्याप्सनमा चुनावमा ओसारपसार गर्दागर्दै रास्वपाका कार्यकर्ताहरूबाट प्रहरीले १२ करोड बरामद गरेको भन्ने दाबी गरिएको छ । तर टेकपाना फ्याक्टचेकका क्रममा उक्त भिडिओ फरक घटनाको भएको र असान्दर्भिक रूपमा फरक क्याप्सन सहित भ्रामक रूपमा प्रचार गरिएको पुष्टि भएको छ ।
दाबी
फेसबुकमा Yalambar Hang Angbo नामक प्रयोगकर्ताले २५ फेब्रुअरी २०२६ को राति ८ः४६ बजेको समयमा २ मिनेट १८ सेकेन्ड लामो एउटा भिडिओ पोस्ट गरेका छन् । जसको क्याप्सनमा लेखिएको छ, "Breaking news रास्वपा का कार्यकर्ताहरूबाट १२ करोड पैसा चुनावमा असारपसार गर्दैगर्दा पुलिसले बरामद गरिएको छ जानकारी गराउन चाहे एक हप्ता अगाडि २० लाख फेरि पनि आज १२ करोडको चलखेल चुनावका लागि भनेर लग्दै गरेको share गर्नुहोला।"
उक्त भिडिओमा प्रहरी अधिकारीले गरेको सम्बोधनको लिखित पाठ यस्तो छ-
"पाल्नुभएका सम्पूर्ण पत्रकार ज्यूहरू र सञ्चारकर्मी ज्यूहरूलाई जिल्ला प्रहरी कार्यालय हार्दिक स्वागत गर्दछ ।
आजको यो पत्रकार सम्मेलन सन्दर्भमा केही घटनाबारेमा केही जानकारी दिन गइरहेको छु । सर्वप्रथम चाहिँ यहाँहरू सबैलाई जानकारी नै छ, अहिले चाहिँ झापा जिल्लामा जुन आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेको छ, यसमा चाहिँ हाम्रो एकीकृत सुरक्षा योजना लागू भएको छ । यसै सन्दर्भमा चाहिँ मिति २०८१/११/१२ गते बेलुका १८:०० बजेको समयमा दुई वटा भारतीय नम्बर प्लेटको सवारी साधन शङ्कास्पद रूपमा चन्द्रगढीबाट काँकडभिट्टा तर्फ गइरहेको अवस्थामा भद्रपुर स्थित सशस्त्र प्रहरी बल नेपालको २ नम्बर हेडक्वार्टर गणले चेकजाँच गर्ने क्रममा शङ्कास्पद गतिविधि देखी तत्कालै आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो।
र जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गर्दा निज अभियुक्तहरूले सङ्गठित रूपमा ठगी, आपराधिक लाभ लगायत उद्देश्य राखी नोट (कागजी मुद्रा) आकारको सादा कागजको प्रत्येक बन्डलमा तल-माथि सक्कली कागजी मुद्रा राखी र साथमा सरकारी कार्यालयको पत्र समेत राखी आफूले व्यापारमा लगानी गरी नाफा कमाएको रकम कानुनी अड्चनको कारण नेपालको कानुन कार्यान्वयन गर्ने निकायले जफत गरेको र सो रकम भारत तर्फ ल्याउन पेनाल्टी स्वरूप जरिवाना बापतको रकम बुझाउनु पर्ने भएकोले केही रकम आवश्यक परेको भनी चिनजान वा व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई उक्त भिडियो सन्देश पठाई ठगी गर्ने योजना बनाउने गरिएको गिरोह फेला परेको छ।
निज अभियुक्तहरूले मेचीनगर नगरपालिका वडा नम्बर ४ आमडाँगी स्थित लुकाएर राखिएको २१ वटा टिनको बाकस र २३७ बन्डल नोट आकारको सादा कागज बरामद गरिएको, साथै निजहरूको साथबाट सरकारी छाप तथा दस्तखत किर्ते कागजातहरू, नेपाल सरकारको निशान छाप र नेपाल प्रहरीको किर्ते गरी बनाइएका परिचयपत्र समेत नक्कली सरकारी डकुमेन्टहरू प्रहरीले बरामद गर्न सफल भएको छ। यसमा चाहिँ ६ जना चाहिँ भारतीय नागरिकहरू र १ जना नेपाली नागरिक चाहिँ पक्राउ परेका छन्। जसमा भारतीय नागरिक ६ जनामध्ये..."
लाइक तथा रियाक्सन सङ्ख्या हेर्न नमिल्ने बनाइएको उक्त भिडिओमा यो सामग्री तयार पार्दासम्म २ लाख ६२ हजार भ्युज र ३३८ कमेन्ट आइसकेको थियो भने २६०० बढी पटक शेयर गरिएको थियो । अन्य प्रयोगकर्ताले शेयर गर्दा राखेका क्याप्सन हेर्दा कसैले पनि उक्त भिडिओ ध्यान दिएर नहेरेको तथा नसुनेको थाहा हुन्छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ लिङ्क र क्याप्सन समेत देखिने स्क्रिनशट ।

अनुसन्धान
भिडिओ भाइरल भइरहेको पाइएपछि टेकपाना फ्याक्टचेक डेस्कले यसमाथि अनुसन्धान अगाडि बढायो । उक्त भिडिओ कतै पनि रास्वपा कार्यकर्ताबाट बरामद भएको कुरा समावेश सुनिँदैन । बरु सङ्गठित रूपमा ठगी, आपराधिक लाभ लगायत उद्देश्यले गतिविधि गर्ने व्यक्तिहरू पक्राउ गरिएको बुझिन्छ । यसबाट फरक घटनाको भिडिओलाई कुनै पार्टी विशेषको विरुद्धमा अफवाह फैलाउने गरी भ्रामक क्याप्सन राखेको देखियो ।
फेसबुक प्रोफाइल खोलेर विश्लेषण गर्दा उनी श्रम संस्कृति पार्टीका समर्थक रहेको बुझियो । तल हेर्नुहोस्, उनले भोटका लागि अपिल गर्दै राखेको पोस्ट ।

भिडिओ Yalambar Hang Angbo ले राखेको भिडिओ शीर्षकलाई जस्ताको तस्तै कपी गरेर फेसबुकमा सर्च गर्यौँ । ‘जनताको चासो र गुनासो’ नाम गरेको फेसबुक पेजले पनि सोही प्रकारको शीर्षकमा उक्त भिडिओ राखेको पाइयो । जसको क्याप्सनमा लेखिएको छ, “Breaking news रास्वपाका कार्यकर्ताहरूबाट १२ करोड पैसा चुनावमा असारपसार गर्दैगर्दा पुलिसले बरामद गरिएको भन्ने अनुमान गरिएको छ।
एक हप्ता अगाडि २० लाख फेरि पनि आज १२ करोडको चलखेल चुनावका लागि भनेर लग्दै गरेको अनुमान गरिएको छ। ”
अनुसन्धानका क्रममा ती दुवै भिडिओको माथि दायाँ कुनामा एउटा लोगो समेत देखियो । रातो र हरियो रङ्गमा ‘BJ Birtamod Jhapa’ अङ्कित लोगो देखिन्छ ।
त्यसपछि हामीले ‘BJ Birtamod Jhapa’, ‘Birtamod Jhapa’ राखेर फेसबुकमा सर्च गर्यौँ । त्यस क्रममा सोही प्रकृतिको लोगो देखिने विभिन्न अकाउन्ट, ग्रुप र पेजहरू भेटिए । जसमध्ये एउटा फेसबुक पेजमा भाइरल भइरहेको भिडिओ २५ फेब्रुअरी २०२६ को साँझ ६ः३४ बजेको समयमा पोस्ट भएको पाइयो ।
जसको शीर्षकमा लेखिएको छ, “झापामा १२ करोड ‘पैसा’ को ड**रलाग्दो स्क्या-म,भारतीयसहित ७ जना प*क्राउ”
हेर्नुहोस्, भिडिओ र त्यसको स्क्रिनशट ।

यसबाट प्रहरीले सार्वजनिक गरेको एक आपराधिक घटनामा Birtamode Jhapa नामक फेसबुक पेजले राखेको भिडिओलाई डाउनलोड गरी भ्रामक शीर्षक राखेर फैलाएको पाइयो ।
दाबी
सामाजिक सञ्जालमा २ मिनेट १८ सेकेन्ड लामो एउटा भिडिओ भाइरल भइरहेको छ, जसमा प्रहरी अधिकारीले पत्रकार सम्मेलनमार्फत एक आपराधिक घटनाबारे जानकारी गराइरहेका देखिन्छन् । उक्त भिडिओको क्याप्सनमा भने “रास्वपाका कार्यकर्ताहरूबाट चुनावमा ओसारपसार गर्दागर्दै १२ करोड रुपैयाँ प्रहरीले बरामद गरेको” दाबी गरिएको छ ।
फेसबुक प्रयोगकर्ता Yalambar Hang Angbo ले २५ फेब्रुअरी २०२६ मा पोस्ट गरेको उक्त भिडिओको शीर्षकमा ‘Breaking news’ भन्दै चुनावका लागि १२ करोड रुपैयाँ चलखेल भइरहेको उल्लेख गरिएको छ । यही सामग्री अन्य पेजहरूले पनि समान आशयको क्याप्सनसहित शेयर गरेका छन् ।
दाबीकर्ता
उक्त दाबी सबैभन्दा पहिले फेसबुक प्रयोगकर्ता Yalambar Hang Angbo मार्फत सार्वजनिक भएको देखिन्छ । उनको पोस्टलाई हजारौँ पटक शेयर गरिएको छ भने लाखौँ भ्युज प्राप्त भएको छ । यसले सामाजिक सञ्जाल प्रयोगकर्तामाझ तीव्र रूपमा फैलिएको सङ्केत गर्छ ।
त्यस्तै ‘जनताको चासो र गुनासो’ नामक फेसबुक पेजले पनि सोही भिडिओलाई समान दाबी र आशयसहित पोस्ट गरेको पाइयो । दुवै पोस्टमा एउटै प्रकृतिको भ्रामक शीर्षक प्रयोग गरिएको छ, जसले योजनाबद्ध रूपमा एउटै कथनलाई प्रचार गरिएको स्पष्ट हुन्छ ।
तथ्य
टेकपाना फ्याक्टचेक डेस्कले भिडिओको सामग्री विश्लेषण गर्दा उक्त भिडिओमा कहीँ पनि रास्वपा कार्यकर्ता वा कुनै राजनीतिक दलसँग सम्बन्धित व्यक्तिबाट १२ करोड रुपैयाँ बरामद भएको उल्लेख नभएको पुष्टि भयो । प्रहरी अधिकारीको सम्बोधनमा झापा जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा लागु गरिएको सुरक्षा योजनाअन्तर्गत भारतीय नम्बर प्लेटका सवारी साधन जाँच गर्दा सङ्गठित ठगी गिरोह पक्राउ परेको उल्लेख छ ।
भिडिओको माथिल्लो कुनामा देखिएको ‘BJ Birtamod Jhapa’ लोगोका आधारमा खोजी गर्दा “झापामा १२ करोड ‘पैसा’ को डरलाग्दो स्क्याम, भारतीयसहित ७ जना पक्राउ” शीर्षकमा मूल भिडिओ पोस्ट गरिएको भेटियो । उक्त सामग्रीमा भारतीय नागरिकसहित सात जना व्यक्ति संगठित ठगी र किर्ते कागजात प्रकरणमा पक्राउ परेको उल्लेख छ । यसबाट स्पष्ट हुन्छ कि मूल घटना आपराधिक ठगीसँग सम्बन्धित हो, राजनीतिक दलका कार्यकर्तासँग होइन ।
निष्कर्ष
सामाजिक सञ्जालमा भाइरल गरिएको “रास्वपा कार्यकर्ताबाट १२ करोड बरामद” भन्ने दाबी भ्रामक र असत्य हो । प्रहरीद्वारा सार्वजनिक गरिएको ठगीसम्बन्धी घटनाको भिडिओलाई गलत सन्दर्भ बनाउँदै फरक राजनीतिक अर्थ दिने गरी क्याप्सन राखेर प्रचार गरिएको देखिन्छ । यसरी फरक घटनाको भिडिओलाई राजनीतिक दल विशेषको विरुद्धमा प्रयोग गर्नु दुष्प्रचारको उदाहरण हो । त्यसैले उक्त दाबी तथ्यहीन रहेको पुष्टि हुन्छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन १४, २०८२ १९:१६
