close

जेनजी आन्दोलनमाथि बनेको बीबीसी डकुमेन्ट्री भूराजनीतिक चलखेल भएको एमाले महासचिव पोखरेलको दाबी

टेकपाना टेकपाना

फागुन १५, २०८२ ८:५

जेनजी आन्दोलनमाथि बनेको बीबीसी डकुमेन्ट्री भूराजनीतिक चलखेल भएको एमाले महासचिव पोखरेलको दाबी

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बीबीसीको डकुमेन्ट्री सञ्चार सामग्री मात्र नभई भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको दाबी गरेका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले डकुमेन्ट्रीको विषयवस्तु र समय सन्दर्भलाई लिएर आपत्ति जनाएका हुन् ।

"चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन-यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो," पोखरेलले भनेका छन्, "नेपाल जस्तो सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो, हामीले बुझ्नुपर्छ ।"

पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनता आफैँले गर्नुपर्ने, नेपालको सार्वभौमिकता साझा जिम्मेवारी भएको, सूचना स्वतन्त्र हुनुपर्ने, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्ने कुरामा जोड दिएका छन् । "भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ । सचेत बनौँ, तथ्य जाँचौँ र राष्ट्रिय हितको पक्षमा उभिऔँ," पोखरेलले भनेका छन् ।

बिहीबार मात्र बीबीसी वर्ल्ड सर्भिस, बीबीसी न्युज इन्डिया, बीबीसी न्युज र बीबीसी न्युज अफ्रिका युट्युब च्यानलबाट अङ्ग्रेजी र बीबीसी न्युज नेपाली सेवाको युट्युब च्यालनबाट नेपाली भाषामा तयार पारिएको डकुमेन्ट्री सार्वजनिक गरेको थियो ।

'शट लाइक एनिमिजः नेपाल्स जेन जी अपराइजिङ' शीर्षकको उक्त डकुमेन्ट्री करिब ४२ मिनेट लामो छ । डकुमेन्ट्रीमा २३ भदौको जेनजी प्रदर्शनमा निहत्था नवयुवामाथि तत्कालीन प्रहरी प्रमुख चन्द्रकुबेर खापुङको आदेशमा अन्धाधुन्ध गोली प्रहार गरिएको दाबी गरिएको छ । चार हजारभन्दा बढी भिडिओ फुटेज विश्लेषणको आधारमा तयार गरिएको भनिएको उक्त डकुमेन्ट्रीमा गोली हानी युवाको हत्या गरिएका केही प्रतिनिधिमूलक दृश्यहरू समावेश गरिएका छन् । 

निर्वाचन आयोगले बिहीबार नै उक्त डकुमेन्ट्री हटाउन प्रेस काउन्सिललाई पत्राचार समेत गरिसकेको छ । उक्त डकुमेन्ट्री अङ्ग्रेजी भाषामा हेर्न यहाँ क्लिक गर्नुहोस् र नेपालीका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०८२ ८:६