close

बालेनलाई अमिताभ बच्चन र रणवीर कपुरले समर्थन गरेको भन्दै नक्कली भिडिओ भाइरल

टेकपाना टेकपाना

फागुन १६, २०८२ २०:१६

बालेनलाई अमिताभ बच्चन र रणवीर कपुरले समर्थन गरेको भन्दै नक्कली भिडिओ भाइरल

काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई भारतीय अभिनेताद्वय अमिताभ बच्चन र रणवीर कपुरले समर्थन गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भिडिओ भाइरल भएको पाइएको छ । बच्चन र कपुर कसैले पनि बालेनलाई समर्थन गरेका छैनन् ।

शुक्रबारदेखि टिकटक र फेसबुकमा फैलिरहेको १७ सेकेन्डको भिडिओमा रणवीर कपुरले बालेनलाई आफ्नो साथी बताउँदै समर्थन गर्न आग्रह गरिएको छ । त्यसैगरी अर्को १५ सेकेन्डको भिडिओमा अमिताभ बच्चनले नेपालको भ्रमण गर्ने बताउँदै बालेनलाई निर्वाचनको शुभकामना दिएको सुन्न सकिन्छ । तर, लाखौं भ्युज र हजारौं रियाक्सन आएका यी दुवै भिडिओ एआई प्रविधि दुरुपयोग गरी बनाइएका सामग्री हुन् ।

यी भ्रामक भिडिओ टिकटकको ‘speed8817’ नामक अकाउन्टबाट सुरुमा अपलोड गरिएका हुन् । सोही अकाउन्टले नेपाली अभिनेता राजेश हमालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समर्थन गरेको दाबीसहितको अर्को एआई भिडिओ पनि सार्वजनिक गरेको छ । जबकि अभिनेता हमालले हालसम्म कुनै पनि दललाई समर्थन गरेको भिडिओ राखेका छैनन् ।

निर्वाचनलाई लक्षित गरी भ्रामक सूचना फैलाउने यो टिकटक अकाउन्टले यसअघि पनि अफवाह फैलाएको थियो । यसै अकाउन्टबाट केही समयअघि भारतीय कलाकार अमिताभ बच्चन, अक्षय कुमार, आमिर खान, शाहरुख खान लगायतले नेपाली अभिनेता सुनिल थापालाई श्रद्धाञ्जली अर्पण गरेको दाबी गर्दै नक्कली भिडिओ भाइरल गराइएको थियो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातालाई प्रभावित पार्ने उद्देश्यले चर्चित अनुहारको प्रयोग गरी डिपफेक र एआई सिर्जित सामग्री अन्य प्लेटफर्ममा समेत व्यापक रूपमा फैलाउने क्रम बढेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०८२ २१:२२