close

चुनाव बिथोल्न भ्रामक र तथ्यहीन सामग्री फैलाउनेहरूलाई कानुनी दायरमा ल्याइन्छ: प्रधानमन्त्री कार्की

टेकपाना टेकपाना

फागुन १८, २०८२ १३:५५

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल र केही आमसञ्चार माध्यमबाट तथ्यहीन, कृत्रिम सामग्री र भ्रामक भविष्यवाणी फैलाउने तत्त्वहरू सरकारको कडा निगरानीमा रहेको बताएकी छन् । निर्वाचनको मुखमा वातावरण धमिल्याउन खोज्ने त्यस्ता तत्वलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको जानकारी दिँदै उनले देशवासीलाई भ्रमको पछि नलाग्न आग्रह गरेकी हुन् ।

यही २१ फागुनमा हुन गइरहेको निर्वाचनको सन्दर्भमा सोमबार एक भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “सामाजिक सञ्जाल र सञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्त्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइराखेको पनि तपाईँहरूलाई जानकारी गराउँदछु । साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्त्वका पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सम्पूर्ण देशवासीलाई विनम्र आग्रह गर्दछु ।”

‘जेन जी’ (Gen Z) विद्रोहपछिको जटिल र चुनौतीपूर्ण अवस्थामा आफूले सरकारको नेतृत्व सम्हालेको स्मरण गर्दै उनले अहिले देश शान्तिपूर्ण निकास र संविधानको मार्गमा फर्किएकोमा सन्तोष व्यक्त गरिन् । उनले थपिन्, “सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो । त्यो कठिन सङ्क्रमणलाई व्यवस्थापन गर्दै हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो, जसमा हामी सफल भएका छौँ ।”

देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन आगामी २१ फागुन बिहीबारका दिन आफ्ना अन्य काम थाती राखेर भए पनि मतदान केन्द्रमा पुग्न उनले मतदाताहरूलाई अपिल गरेकी छन् । मतदानको महत्त्व दर्साउँदै उनले भनिन्, “भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाएर कसैलाई जिताउनु मात्र होइन, यो तपाईँ र तपाईँका सन्ततिको भविष्य कस्तो बनाउने भनेर गरिने महत्त्वपूर्ण निर्णय हो ।”

प्रधानमन्त्री कार्कीले सरकारले कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने स्पष्ट पारिन् । उनले भनिन्, “मुलुकमा दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन । कानुनबमोजिम गरिने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन ।”

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन सरकार र निर्वाचन आयोग पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेकी छन् । साथै, निर्वाचन व्यवस्थापनमा सहयोग गर्ने मित्रराष्ट्र, संयुक्त राष्ट्रसङ्घीय निकाय, सुरक्षा संयन्त्र र अभिभावकीय भूमिका निभाउने राष्ट्रपतिप्रति उनले आभार प्रकट गरिन् ।

यसैगरी निर्वाचनकै समयमा परेको फागुपूर्णिमा (होली) को अवसरमा शुभकामना दिँदै उनले कसैको इच्छाविपरीत रङ नलगाउन र संयमता अपनाएर पर्व मनाउन आग्रह गरिन् ।

सन्देशका क्रममा प्रधानमन्त्रीले मध्यपूर्वी क्षेत्र (इरान वरपर) मा गहिरिएको युद्धको सङ्कटप्रति पनि चिन्ता व्यक्त गरेकी छन् । त्यहाँ रहेका नेपालीको सुरक्षाप्रति सरकार गम्भीर रहेको र नेपाली नियोगहरूलाई सक्रिय बनाइएको जानकारी दिँदै उनले भनिन्, “हामी हरदम तपाईँहरूको साथमा छौँ । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षा गर्न यो सरकार कटिबद्ध छ ।”

इतिहासको कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर न्याय र निष्ठाको पक्षमा काम गर्ने प्रयास गरेको बताउँदै प्रधानमन्त्री कार्कीले अब छिट्टै देशको बागडोर जनताले चुन्ने नयाँ प्रतिनिधिको हातमा पुग्ने उल्लेख गरिन् । उनले होलीको खुसी साट्दै आसन्न निर्वाचनलाई शान्तिपूर्ण र ऐतिहासिक बनाउन सम्पूर्ण देशवासीलाई आह्वान गरेकी छन् ।

पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ १३:५५