close

मौन अवधिमा कुनै पनि किसिमको एडभेन्चर अर्थात् खतरनाक वा जोखिमपूर्ण प्रयोग नगरौँ

डिजिटल युगमा मौन अवधि र बढ्दो चुनौती

टेकपाना टेकपाना

फागुन १८, २०८२ १९:१

मौन अवधिमा कुनै पनि किसिमको एडभेन्चर अर्थात् खतरनाक वा जोखिमपूर्ण प्रयोग नगरौँ

नेपालमा यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आज (फागुन १८ गते) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । यस समयमा राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, कर्मचारी, सञ्चार माध्यम, पत्रकार, सर्वसाधारण लगायत सबैले निर्वाचनको पक्षधरताबारे चुप बस्नुपर्छ । 

पहिले पहिले परम्परागत सञ्चारमाध्यम मात्रै हुँदा मौन अवधिको पालना र अनुगमनमा सहज थियो । तर अहिले भने गाह्रो छ । आजको 'अलवेज अन' (सधैं खुला) रहने डिजिटल र सामाजिक सञ्जालको युगमा मौन अवधिलाई पुरानो शैलीमा परिभाषित गर्न असम्भव प्रायः छ । अडियो र भिजुअल त हामी बन्द गर्छौँ, तर डिजिटल माध्यममा सामग्रीहरू आफैं चलिरहन्छन् । प्रविधिको यो तीव्र विकासले मौन अवधिको परिभाषालाई नै पुनः परिभाषित गर्नुपर्ने स्थिति ल्याएको छ । 

अहिले मास मिडिया र सामाजिक सञ्जालको 'सह-अस्तित्व' (Co-existence) कस्तो हुने भन्ने कुरा विश्वभर नै एउटा नयाँ प्रयोग र विकासको क्रममा छ । मानिसहरू परम्परागत मिडियाभन्दा बढी सामाजिक सञ्जालमा झुम्मिएका छन् । जहाँ बसिरहेका छन्, त्यहीँबाट सूचना लिएर रमाइरहेका छन् । उनीहरु डिजिटल संसारमा भिजिरहेका छन् ।

डिजिटल संसारमा राखिएका सामग्रीहरू सजिलै मेटिँदैनन् । यसलाई प्राविधिक रूपमा 'फुटप्रिन्ट इफेक्ट' भनिन्छ । त्यसैले निर्वाचनको मौन अवधिमा सामग्रीहरूलाई 'राइट टु फर्गेट' (बिर्सिने अधिकार) वा 'अनपब्लिस' (अप्रकाशित) गर्ने जस्ता प्राविधिक सजगता अपनाउनु अनिवार्य छ ।

डिसइन्फर्मेसन र एआईको भयावह चुनौती

अहिलेको समयमा समाजलाई गलत बाटोमा मोड्न खोज्ने 'डिसइन्फर्मेसन' (गलत सूचना) सबैभन्दा ठुलो खतरा हो । मिस-इन्फर्मेसन (अञ्जानमा हुने गल्ती) र डिस-इन्फर्मेसन (नियतवश फैलाइने भ्रम) बीचको भिन्नता प्रष्टसँग बुझ्नुपर्छ । उदाहरणको लागि मैले कुनै कुरा बोल्दा जिब्रो चिप्लिएको हुन सक्छ, यसलाई हामीले क्राइम जस्तो व्यवहार गर्नु हुँदैन । तर डिसइन्फर्मेसनमा मान्छेलाई बराल्ने र भ्रम छर्ने स्पष्ट नियत हुन्छ । यसबाट जोगिनु र जोगाउनुपर्छ । 

विशेष गरी सिन्थेटिक मिडिया प्रोडक्ट र एआईले गर्दा सत्य र बनावटी सामग्री छुट्याउन विशेषज्ञहरूलाई समेत धौ-धौ परिरहेको छ । एआईले विभिन्न कुरा मिसाएर नयाँ भ्रमपूर्ण सामग्री तयार पारिदिन सक्छ । जसले मतदाताको निर्णयलाई नै प्रभावित गर्न सक्छ । यस्तो बेलामा मिडिया र प्रयोगकर्ता दुवै अत्यन्तै होसियार हुनुपर्छ ।

मेरो विचारमा अहिलेको मौन अवधिलाई मतदाताका लागि एउटा 'योगिक विश्राम' को रूपमा व्याख्या  गर्नुपर्छ । यो समय मतदाताले प्राप्त गरेका सूचनाहरूलाई प्रोसेस गर्ने र शान्त भएर ५ वर्षका लागि आफ्नो भविष्य फैसला गर्ने बेला हो । मिडियाको काम मतदातालाई कुनै निश्चित पक्षमा प्रभाव पार्नु वा 'जजमेन्टल' बनाउनु होइन । बरु उनीहरूलाई सही निर्णय लिन सक्षम बनाउनु हो । निर्वाचनलाई मर्यादित बनाउन र मतदाताको सोच्ने शक्तिलाई सम्मान गर्न 'साइलेन्स पिरियड' अनिवार्य छ ।

अभिव्यक्ति स्वतन्त्रता र यसको गरिमापूर्ण सीमा

अभिव्यक्ति स्वतन्त्रता एउटा 'एब्सोलुट फ्रिडम' (पूर्ण स्वतन्त्रता) भए पनि यो निरपेक्ष हुँदैन । तपाईँसँग अभिव्यक्ति स्वतन्त्रता छ भने तपाईंको मित्रसँग पनि त्यो अधिकार छ । जसको कदर तपाईंले गर्नैपर्छ । आफ्नो निजी कोठामा बोलेको कुरा त्यहीँ सीमित हुन सक्छ, तर डिजिटल र ब्रोडकास्ट माध्यमबाट बोलेको कुराले लाखौँमा प्रभाव पार्छ, जसलाई फिर्ता लिन असम्भव हुन्छ । त्यसैले मौन अवधिमा कुनै पनि किसिमको 'एडभेन्चर' (खतरनाक वा जोखिमपूर्ण प्रयोग) नगर्न मेरो विशेष आग्रह छ ।

नेपालले आज निर्वाचनको जुन स्थिति हासिल गरेको छ, त्यो गर्वको विषय हो । कैयौँ राष्ट्रहरूले अझै पनि यस्तो अवसर पाएका छैनन् । त्यसैले यो समयमा मिडियाले सबै प्रतिस्पर्धीहरूका लागि 'लेभल प्लेइङ फिल्ड' (समान अवसरको मैदान) तयार पारिदिनुपर्छ र कुनै पनि पक्षको हतियार वा औजार बन्नु हुँदैन ।

डिजिटल युगको पत्रकारिता केवल सूचनाको प्रवाह मात्र होइन, यो धैर्य, संयमता र लोकतान्त्रिक मूल्यप्रतिको उच्चतम सम्मान पनि हो । यसलाई सम्मान गरौँ ।

(प्रेस काउन्सिल नेपालले आइतबार राजधानी काठमाडौंमा आयोजना गरेको ‘मौन अवधि र मिडिया’ विषयक अन्तरक्रियामा प्राध्यापक तथा आमसञ्चार विज्ञ रामकृष्ण रेग्मीले राखेको विचार ।)

पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ १९:१