close

फ्याक्टचेक: रास्वपा उम्मेदवारले काङ्ग्रेसलाई समर्थन गरेको देखाउन सेतोपाटीको ‘फेक स्क्रिनशट’ प्रयोग

हिक्मत आचार्य हिक्मत आचार्य

फागुन १९, २०८२ २२:५

फ्याक्टचेक: रास्वपा उम्मेदवारले काङ्ग्रेसलाई समर्थन गरेको देखाउन सेतोपाटीको ‘फेक स्क्रिनशट’ प्रयोग

काठमाडौँ । बुधबार सामाजिक सञ्जाल फेसबुकमा ‘दिल घर्ती मगर’ नामका प्रयोगकर्ताले समाचारको ‘स्क्रिनशट’ जस्तो देखिने एउटा तस्बिर पोस्ट गरे । उक्त पोस्टमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ-१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठकले नेपाली काङ्ग्रेसका उम्मेदवारलाई समर्थन गरेको देखाइएको छ ।

तर, टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट उक्त पोस्ट मिथ्या रहेको पुष्टि भएको छ । सेतोपाटीले प्रकाशन नै नगरेको समाचारलाई एडिट गरेर हुँदै नभएको भ्रामक सूचना फैलाइएको हो ।

दाबी

फेसबुकमा ‘Dil GhartiMagarr’ नामका प्रयोगकर्ताले मङ्गलबार (३ मार्च २०२६) मा एक फोटोसहितको पोस्ट राखे । फोटोमा अनलाइन सञ्चार माध्यम सेतोपाटीले फेसबुकमा समाचार शेयर गरेको जस्तो स्क्रिनशट देखिन्छ । त्यसको माथिपट्टि सेतोपाटीको लोगो र छेउमा ‘Setopati’ अनि भेरिफाइड चेकमार्क राखिएको छ । त्यसभन्दा तल पोस्ट तीन घण्टा अघि राखिएको देखाइएको छ । तल क्याप्सनमा लेखिएको छ, “दाङ १ रास्वपा उमेदवार देवराज पठक भन्छन मैले जिते पनि काङ्ग्रेसले जिते पनि उस्ता उस्तै हो।”त्यसको तलपट्टि रास्वपा उम्मेदवार देवराज पाठक, रवि लामिछाने र बालेन्द्र शाहको फोटो राखिएको छ । तलपट्टि ‘setopati.com’ देखिन्छ । त्यसभन्दा तल पुनः दाङ १ रास्वपा उमेदवार देवराज पठक भन्छन मैले जिते पनि काङ्ग्रेसले जिते पनि उस्ता उस्तै हो।” लेखिएको छ । उक्त पोस्टमा ४४ रियाक्सन आएको र ७ पटक शेयर भएको देखाइएको छ ।

उक्त फोटो शेयर गर्ने दिल गुरुङले क्याप्सनमा लेखेका छन्, “दाङ क्षेत्र नं.१

हजार-हजाररुपैयाँको डिजल र पेट्रोलमा जनता उतारेर शक्ति प्रदान हुन्छ? लाखौं लाखको गाडी-मोटर किन्नेहरुले जाबो १ हजारको तेल हाल्न सक्दैनौं? "हो हामिलाइ थाहा छ। हिजो बा-आमाहरु काङ्ग्रेस एमाले बनेर देश लुटेर अहिले छोरा छोरिहरु फेरि नयाँ तरिकाले देश लुट्दैछौ।

कुरो ठिक हो। काङ्ग्रेस दाइ १ घण्टेकाङ्ग्रेस भाइ २ जस्ले जिते पनि हुन्छ रे...!👇️समचार कस्ले पढिदिने हो? थुक्क बिज्जत हेर हेर ।”

उक्त पोस्टमा याे सामग्री तयार पार्दासम्म २९० रियाक्सन, ८४ कमेन्ट आएका छन् भने १० पटक शेयर भएको छ । त्यसमा भोजराज थापा नामका प्रयोगकर्ताले समाचारको लिङ्क पठाउन आग्रह गरेका छन् । जवाफमा दिल गुरुङले लेखेका छन्, “सर यो काङ्ग्रेसको सेतो पाटीले लेख्छ delete गर्छ क्या हो है?” हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले यस पोस्टमा केही कमजोरी फेला पार्‍यो । सबैभन्दा पहिले समाचारको शीर्षकमा पूर्णविराम हुँदैन । यसमा समाचार जस्तो देखाउन पूर्ण विराम राखिएको छ । त्यस्तै हिज्जे पनि बिग्रिएको छ । उम्मेदवार हुनुपर्नेमा ‘उमेदवार’, पाठक हुनुपर्नेमा ‘पठक’, ‘भन्छन्’ हुनुपर्नेमा ‘भन्छन’ लेखिएको छ । मूलधारको व्यावसायिक सञ्चार माध्यमले समाचारको शीर्षकमा यति धेरै हिज्जे बिगार्दैन, अर्थात व्याकरणीय त्रुटि हुँदैन । 

यस्तो समाचारमा तीन घण्टामा जम्मा ४४ रियाक्सन आएको र सात पटक शेयर भएको देखाइएको छ । कमेन्ट भने एउटा पनि आएको छैन । यसबाट पनि यो सनसनीपूर्ण लाग्ने पोस्टमा तीन घण्टासम्म एउटा पनि कमेन्ट नआउनु शंकास्पद देखियो । 

यो समाचाको शीर्षक गुगल एड्भान्स सर्च गर्दा फेला नै परेन । व्यावसायिक र मूलधारका सञ्चारमाध्यमले वेबसाइटमा राखेका समाचार तत्कालै गुगलमा इन्डेक्स हुन्छन् । त्यसलाई हटाए पनि केही समय गुगलमा देखिन्छ । तर, भाइरल स्क्रिनशटसँग सम्बन्धित समाचार फेला परेन । 

हामीले फोटो रिभर्स इमेज सर्च गर्‍यौँ । त्यस क्रममा यो फोटो देवराज पाठकले नै १६ फेब्रुअरी २०२६ मा आफ्नै फेसबुकमा राखेको फेला पर्‍यो । हेर्नुहोस् पोस्ट । त्यही पोस्टरबाट समाचारका लागि उपयुक्त हुने किसिमले क्रप गरी प्रयोग गरेको देखियो ।

यसबाट सेतोपाटीले राख्दै नराखेको समाचारलाई उसले फेसबुकमा शेयर गरेको जस्तो देखाउनेगरी एडिट गरेर राखिएको पुष्टि भयो । 

हामीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट दाङ क्षेत्र नम्बर १ का उम्मेदवार देवराज पाठकको विषयमा तयार पारिएका समाचार खोज्यौं । तर, काङ्ग्रेसलाई समर्थन गर्ने विषय वा आफूले जिते पनि काङ्ग्रेसले जिते पनि उस्ता उस्तै हो भन्ने आशयका उनका भनाइ र सामग्री फेला परेनन् । 

यी तथ्यको विश्लेषण गर्दा ‘सेतोपाटी’ले प्रकाशन नै नगरेको विषयलाई समाचार जस्तो देखिने गरी ‘एडिट’ गरेर पोस्ट राखिएको पाइयो । साथै, दाङ क्षेत्र नम्बर १ मा पाठकले उक्त भनाइ बोल्दै नबोलेको पुष्टि भयो ।

दाबी

दाङ क्षेत्र नं. १ का रास्वपा उम्मेदवार देवराज पाठकले ‘मैले जिते पनि काङ्ग्रेसले जिते पनि उस्ता उस्तै हो’ भन्ने अभिव्यक्ति दिँदै काङ्ग्रेस उम्मेदवारलाई समर्थन गरेका छन् । यो समाचार ‘सेतोपाटी’ले प्रकाशन गरेको हो भन्दै समाचारको स्क्रिनशट दाबीका रूपमा प्रस्तुत गरिएको छ ।

दाबीकर्ता

फेसबुक प्रयोगकर्ता ‘दिल घर्ती मगर’ ।

तथ्य

दाबी गरिएको स्क्रिनशटमा सामान्य व्याकरणीय त्रुटीहरू छन् । सेतोपाटी वा अन्य कुनै पनि विश्वसनीय मिडियामा यस्तो समाचार प्रकाशित भएको छैन । प्रयोग गरिएको तस्बिर उम्मेदवारको आफ्नै फेसबुक अकाउन्टबाट चोरिएको हो । रास्वपा उम्मेदवार पाठकले कांग्रेसलाई समर्थन गरेको तथ्य भेटिएन ।

निष्कर्ष

यो दाबी मिथ्या हो । 'सेतोपाटी'ले प्रकाशन नै नगरेको समाचारलाई फोटो एडिट गरी नक्कली स्क्रिनशटमार्फत भ्रम फैलाइएको हो ।

 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०८२ २२:२३