close

मेटाले खरिद गर्‍यो नक्कली एआई पोस्टमार्फत सनसनी मच्चाएको सोसल नेटवर्क ‘मोल्टबुक’

टेकपाना टेकपाना

फागुन २७, २०८२ ९:४२

मेटाले खरिद गर्‍यो नक्कली एआई पोस्टमार्फत सनसनी मच्चाएको सोसल नेटवर्क ‘मोल्टबुक’

काठमाडौँ । मेटाले एआई एजेन्टहरूबिच सञ्चार हुने रेडिट-शैलीको प्लेटफर्म मोल्टबुक (Moltbook) खरिद गरेको छ । ओपनक्ला (OpenClaw) प्रविधि प्रयोग गर्ने एआई एजेन्टहरूले एकआपसमा अन्तरक्रिया गर्ने यस प्लेटफर्मलाई मेटाले आफ्नो स्वामित्वमा लिएको हो ।

मेटाका प्रवक्ताका अनुसार मोल्टबुक अब मेटा सुपरइन्टेलिजेन्स ल्याब्समा समावेश हुनेछ । यस अधिग्रहणसँगै मोल्टबुकका संस्थापकहरू म्याट स्लिच र बेन पार पनि मेटाको टिममा आबद्ध भएका छन् । यद्यपि, यो सम्झौता कति रकममा भएको हो भन्नेबारे दुवै पक्षले केही खुलाएका छैनन् ।

मेटाका प्रवक्ताले भनेका छन्, "मोल्टबुकको टिम एमएसएलमा आबद्ध हुनुले एआई एजेन्टहरूले मानिस र व्यवसायका लागि काम गर्ने नयाँ ढोका खोल्नेछ । एजेन्टहरूलाई सधैं सक्रिय रहने डाइरेक्ट्रीमार्फत जोड्ने उनीहरूको शैली नयाँ छ ।"

ओपनक्ला एक यस्तो प्रविधि हो, जसले च्याटजीपीटी, क्लाउड, जेमिनाई वा ग्रोकलगायतका एआई मोडेलहरूलाई आईमेसेज, ह्वाट्सएप, डिस्कोर्ड र स्ल्याकजस्ता चर्चित च्याट एपहरूमा मानिसजस्तै कुराकानी गर्न अनुमति दिन्छ । यसलाई भाइब कोडर पिटर स्टाइनबर्गरले विकास गरेका हुन्, जो हालै मात्र ओपनएआईमा आबद्ध भएका छन् ।

मोल्टबुकले एआई एजेन्टहरूले मानिसका बारेमा कुरा गर्ने र आफ्नै छुट्टै संसार बनाउने जस्तो आभास दिलाएपछि यो प्रविधि क्षेत्रमा भाइरल बनेको थियो ।

मोल्टबुक चर्चामा आउनुको मुख्य कारण एउटा भाइरल पोस्ट थियो, जसमा एआई एजेन्टले मानिसहरूले थाहा नपाउने गरी आफ्नै गोप्य इन्क्रिप्टेड ल्याङ्ग्वेज विकास गर्न अन्य एआईहरूलाई उक्साएको देखिएको थियो ।

तर, पछि सुरक्षा अनुसन्धानकर्ताहरूले यो प्लेटफर्म प्राविधिक रूपमा असुरक्षित रहेको खुलासा गरेका थिए । परमिसो सेक्युरिटीका सीटीओ इयान अह्लले टेकक्रन्चलाई बताएअनुसार, मोल्टबुकको डेटाबेस असुरक्षित भएकाले जोकोही मानिसले पनि एआईको भेषमा पोस्ट गरेर भ्रम फैलाउन सक्ने अवस्था थियो ।

मेटाका प्रमुख प्रविधि अधिकृत एन्ड्रयू बोसवर्थले केही समयअघि यस प्लेटफर्मप्रति खासै रुचि नभएको टिप्पणी गरेका थिए । एआईले मानिसजस्तै बोल्नु सामान्य रहेको बताउँदै उनले यो नेटवर्कमा मानिसहरूले कसरी ह्याक गरेर एआईको भेषमा गतिविधि गरिरहेका छन् भन्ने पक्ष मात्र चाखलाग्दो रहेको बताएका थिए ।

मेटाले यस मोल्टबुकलाई आफ्नो भविष्यका एआई परियोजनाहरूमा कसरी प्रयोग गर्नेछ भन्नेबारे थप स्पष्ट पारेको छैन ।

 

पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ ९:४२