close

पोखरामा महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा ४३ वर्षीय विकास गुरुङ पक्राउ

टेकपाना टेकपाना

फागुन २८, २०८२ १९:४६

पोखरामा महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा ४३ वर्षीय विकास गुरुङ पक्राउ

काठमाडौँ । पूर्व शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने ४३ वर्षीय विकास गुरुङ रहेका छन् ।

गुरुङलाई बिहीबार पोखराको महेन्द्रपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत २५ फागुनमा पोखराको पृथ्वीचोकमा पुनमाथि अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेको पाइएकाले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

पुन आफ्नो पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बिक्रीका लागि पृथ्वीचोकमा रहेको समयमा गुरुङले असभ्य व्यवहार गरेका थिए । उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

कास्की प्रहरीका अनुसार पक्राउ परेका गुरुङको आपराधिक पृष्ठभूमि समेत रहेको पाइएको छ । निज गुरुङ यसअघि तीन पटक लागुऔषध मुद्दामा सजाय पाइसकेका व्यक्ति भएको प्रहरी अभिलेखबाट खुलेको छ ।

पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २८, २०८२ १९:४६