सावधान ! टिकटकमा देखिने यी सुन्दरी वास्तविक होइनन्, एआई भिडिओमार्फत यसरी भइरहेको छ बेटिङको प्रचार
चैत ६, २०८२ १७:१५
काठमाडौँ । पछिल्ला केही दिनयता छोटो भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमा ‘आश्ना महर्जन’ नामको एउटा अकाउन्ट चर्चामा छ । झट्ट हेर्दा वास्तविक नेपाली युवती जस्तो देखिने यो अकाउन्ट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बाट सिर्जित पात्र भएको र यसले नेपालमा पूर्ण रूपमा प्रतिबन्धित अनलाइन सट्टेबाजी (बेटिङ) को अवैध प्रचार गरिरहेको पाइएको छ ।
गत २१ जनवरीमा पहिलो भिडिओ अपलोड गरेको यस अकाउन्टले छोटो समयमै २२ हजारभन्दा बढी फलोअर र झन्डै आठ लाख लाइक प्राप्त गरिसकेको छ । दुई महिनाको अवधिमा यसबाट ११५ ओटा भिडिओ अपलोड भएका छन् ।
चिनियाँ ट्रेन्डलाई पछ्याउँदै सुरु भएको यो अकाउन्टले नेपाली सङ्गीत, रहनसहन र संस्कृतिलाई जोडेर भिडिओ बनाउन थालेपछि प्रयोगकर्ताको ध्यान तानेको हो ।
यस अकाउन्टका क्रिएटरले सामान्यतया एआई भिडिओमा देखिने अस्वाभाविकता लुकाउन निकै चलाखी अपनाएको देखिन्छ । कुनै वास्तविक व्यक्तिको हाउभाउ र चालढालमा ‘बडी स्वाप’ प्रविधि प्रयोग गरी एआई फोटो वा अनुहार प्रतिस्थापन गरेर यी सामग्री तयार पारिएका छन् ।

वास्तविकता झल्काउन महँगो स्टुडियोको साटो गाउँघरका साधारण भित्ता देखिने पृष्ठभूमि प्रयोग गरिएको छ भने अनुहारमा कोठीसमेत देखाइएको छ । भिडिओमा यी एआई युवती कहिले परम्परागत नेपाली पहिरन त कहिले आधुनिक पोसाकमा सजिएकी देखिन्छिन् । यसले गर्दा एकातिर संस्कृति झल्काएको भन्दै प्रशंसा र अर्कोतिर आधुनिकताका नाममा विकृति फैलाएको भन्दै आलोचना भइरहेको छ ।
प्रयोगकर्तालाई झुक्याउन एउटै पहिरनमा खिचिएका लगातार तीन-चारओटा भिडिओहरू राख्ने गरिएको छ । कतै पनि यो ‘एआई सिर्जित’ पात्र हो वा यी युवती वास्तविक अस्तित्वमा छैनन् भनेर खुलाइएको छैन । अधिकांश भिडिओमा एउटै लवज, उही अनुहार र उस्तै ट्रेन्ड देखिने भएकाले स्क्रोल गरेर हेर्ने आम प्रयोगकर्ताले यसलाई वास्तविक नै ठान्ने गरेका छन् । यद्यपि, सूक्ष्म रूपमा विश्लेषण गर्दा यसका केही कमजोरीहरू फेला पर्छन् ।

हरेक भिडिओमा युवतीको शरीरको बनावट केही फरक देखिन्छ । एउटा भिडिओको ब्याकग्राउन्डमा रहेको फोटो फ्रेमलाई जुम गरेर हेर्दा त्यहाँ भएको व्यक्तिको अनुहार अस्वाभाविक र विकृत देखिन्छ भने भिडिओमा सुनिने आवाज पनि एआई सिर्जित नै हो ।

टेकपानाले ‘हाइभ मोडरेसन’ टुलमार्फत यस अकाउन्टका तीन फरक भिडिओको विश्लेषण गर्दा ९९ प्रतिशतभन्दा बढी एआई सिर्जित भएको पुष्टि भएको छ ।


एआई प्रविधि प्रयोग गरी हजारौँ प्रयोगकर्ताको विश्वास जितेपछि यस अकाउन्टबाट ‘हेमाबेट’ नामक अवैध सट्टेबाजी प्लेटफर्मको प्रचार भइरहेको छ । विशेषगरी नेपाली दर्शकलाई लक्षित गरेर सञ्चालनमा आएको यो प्लेटफर्मले लामो समयदेखि महँगो विज्ञापन गर्दै नेपालीहरूलाई सट्टेबाजीमा आकर्षित गरिरहेको छ । यो टिकटक अकाउन्टले पनि सोही अवैध प्लेटफर्मको खुलेआम प्रवर्द्धन गरिरहेको छ ।

नेपालको कानुनले जुवा तथा सट्टेबाजीलाई पूर्ण रूपमा बन्देज लगाएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने स्पष्ट व्यवस्था छ । उक्त दफाको उपदफा २ (क) अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । त्यस्तै, उपदफा २ (ख) अनुसार दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तथा त्यसपछिका कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान रहेको छ ।
पछिल्लो अध्यावधिक: चैत ६, २०८२ २०:१९
