जेन-जीको प्रवेश बढेसँगै परिवर्तन हुँदैछ कार्यक्षेत्रमा काम गर्ने शैली, रोजगारदातालाई तनाव !
चैत १२, २०८२ १६:२१
काठमाडौँ । विश्वभरको कार्यक्षेत्र (कार्यस्थल) मा अहिले एउटा ठुलो पुस्तान्तरण भइरहेको छ । सन् १९९६ देखि २०१० को बीचमा जन्मेका 'जेन-जी' पुस्ताको सङ्ख्या कार्यक्षेत्रमा तीव्र रूपमा बढ्दै जाँदा परम्परागत काम गर्ने तरिका र कम्पनीका नीतिहरूमा व्यापक परिवर्तन आउन थालेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
पूर्णकालीन कार्यक्षेत्रमा जेन-जी पुस्ताको सङ्ख्या 'बेबी बुमर्स' (१९४६ देखि १६६४ को बिचमा जन्मिएका) पुस्ता भन्दा धेरै भइसकेको अनुमान गरिएको छ ।
अनुसन्धानकर्ता रोबर्टा काट्जले भने अनुसार जेनजी पुस्ताका मूल्य र अपेक्षाहरू अघिल्लो पुस्ता भन्दा फरक छन् । यो पुस्ता प्रविधिको तीव्र विकास र अनिश्चितताको बीचमा हुर्केकाले उनीहरूमा परिवर्तनलाई आत्मसाथ गर्ने क्षमता बढी छ । जेन-जी पुस्ता व्यावहारिक (Pragmatic) छ र उनीहरू हरेक कुरामा प्रश्न गर्छन् । उनीहरू पदानुक्रम (Hierarchy) भन्दा पनि सहकार्य र पारदर्शितामा विश्वास गर्छन् ।
डेलोइट ग्लोबल २०२५ जेन-जी र मिलनियल सर्वेका अनुसार यो पुस्ता केवल पैसाको पछाडि मात्र दौडिँदैन । उनीहरू करियरमा प्रगति गर्न चाहन्छन् । तर नेतृत्व तहको पदमा पुग्ने आकाङ्क्षा भने उनीहरूमा कम देखिन्छ । सर्वेक्षणमा सहभागी मध्ये केवल ६ प्रतिशतले मात्र आफ्नो मुख्य लक्ष्य नेतृत्व तहमा पुग्नु रहेको बताएका छन् । यसको सट्टा उनीहरू 'काम र जीवनको सन्तुलन' (Work-life balance) र सिक्ने अवसरलाई बढी महत्त्व दिन्छन् । डेलोइटका अनुसार पैसा, कामको अर्थ र मानसिक कल्याण (Well-being) जेन जीका लागि एक-अर्कासँग जोडिएका महत्त्वपूर्ण पक्ष हुन् ।
अक्सफोर्ड ब्रुक्स युनिभर्सिटीको एक अध्ययनले जेन-जी कामदारहरूका लागि मानसिक स्वास्थ्य, विविधता र 'वर्क-लाइफ ब्यालेन्स' प्रमुख प्राथमिकता रहेको खुलासा गरेको छ । डा साइमन एम स्मिथका अनुसार यो पुस्ताले डिजिटल दुनियाँमा हुर्कँदा जलवायु परिवर्तन र राजनीतिक अस्थिरता जस्ता विश्वव्यापी सङ्कटहरू देखेकाले उनीहरूमा बर्नआउट (Burnout) र चिन्ता (Anxiety) को स्तर बढी देखिएको छ । त्यसैले उनीहरू यस्तो कार्यस्थल खोज्छन्, जहाँ उनीहरूको मानसिक स्वास्थ्यको ख्याल राखियोस् र विविधता एवं समावेशितालाई वास्तविक रूपमा लागु गरियो स्।
ब्रिटिश काउन्सिलले जेन-जीलाई 'डिजिटल नेटिभ'को संज्ञा दिएको छ । जसले ईमेल भन्दा इन्स्ट्यान्ट मेसेजिङ र भिजुअल सञ्चार (जस्तै इमोजी) लाई बढी प्राथमिकता दिन्छन् । उनीहरूको सञ्चार शैली प्रत्यक्ष र सङ्क्षिप्त हुन्छ । यसले कार्यस्थलमा पुस्तान्तरणको कारण केही असमझदारी पैदा गरे तापनि यसले सञ्चारलाई थप प्रभावकारी र समावेशी बनाउन मद्दत पुर्याएको छ ।
परम्परागत वार्षिक कार्यसम्पादन मूल्याङ्कन (Performance Review) जेन-जीका लागि पर्याप्त छैन । टेस्टएडको २०२५ को गाइड अनुसार ७४ प्रतिशत जेन-जी कर्मचारीहरू वार्षिक समीक्षा भन्दा साप्ताहिक वा मासिक रूपमा निरन्तर प्रतिक्रिया (Continuous Feedback) चाहन्छन् । उनीहरू पारदर्शी लक्ष्य निर्धारण र आफ्ना सहकर्मीहरूबाट प्राप्त हुने प्रशंसा (Peer Recognition) लाई बढी महत्त्व दिन्छन् ।
जेन-जीको कार्यशैलीलाई लिएर केही रोजगारदातामा भने चिन्ता पनि देखिएको छ । द आई पेपरसँगको कुराकानीमा केही उद्यमीहरूले जेन-जी कर्मचारीहरूमा पहलकदमी (Initiative) को कमी र काम सुरु गर्नु अघि नै धेरै सुविधाहरू (जस्तै हप्तामा ४ दिन मात्रै काम गर्ने) खोज्ने प्रवृत्ति रहेको बताएका छन् । यस्तै एक रिपोर्टका अनुसार केही जेन-जी कामदारहरूले आफ्नो तोकिएको जिम्मेवारी भन्दा बाहिर गएर काम गर्न नचाहँदा उनीहरूलाई कामबाट निकालिने क्रम पनि बढेको छ ।
यसरी जेन-जी पुस्ताले कार्यक्षेत्रलाई थप मानवीय, लचिलो र उद्देश्यपूर्ण बनाउन दबाब दिइरहेका छन् । लस एन्जलस टुडेको रिपोर्ट अनुसार प्याटागोनिया र नेटफ्लिक्स जस्ता कम्पनीहरूले उद्देश्य-केन्द्रित (Purpose-driven) वातावरण सिर्जना गरेर यो पुस्तालाई आकर्षित गरिरहेका छन्। भविष्यको कार्यस्थल सफल हुनका लागि कम्पनीहरूले जेन जीको स्वायत्तता, मानसिक स्वास्थ्य र सामाजिक प्रभाव प्रतिको रुचिलाई बुझेर आफ्नो नीतिमा परिमार्जन गर्न आवश्यक देखिन्छ ।
पछिल्लो अध्यावधिक: चैत १२, २०८२ १६:२१
