close

प्रधानमन्त्रीमा नियुक्त भएसँगै बालेनले फेरे सामाजिक सञ्जालको बायो, कहाँ के छ अपडेट ?

टेकपाना टेकपाना

चैत १३, २०८२ १५:१४

प्रधानमन्त्रीमा नियुक्त भएसँगै बालेनले फेरे सामाजिक सञ्जालको बायो, कहाँ के छ अपडेट ?

काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेपालको ४०औँ प्रधानमन्त्रीमा नियुक्त भएसँगै उनका सामाजिक सञ्जालका प्लेटफर्ममा बायो अपडेट भएको छ । प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै उनले आफ्ना विभिन्न सामाजिक सञ्जालको ‘बायो’ अपडेट गर्दै ‘प्राइम मिनिस्टर अफ नेपाल’ (नेपालको प्रधानमन्त्री) राखेका हुन् ।

युवापुस्तामाझ लोकप्रिय बालेनको सामाजिक सञ्जालमा राम्रो प्रभाव छ । खासगरी फेसबुक, इन्स्टा, टिकटक, युट्युब लगायतमा उनी चर्चित छन् । 

प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले चार लाख २४ हजार फलोअर रहेको सामाजिक सञ्जाल ‘एक्स’ को बायो परिवर्तन गरेर ‘Prime Minister of Nepal’ राखेका छन् । 

त्यसैगरी चार लाख ८६ हजारभन्दा बढी फलोअर रहेको उनको व्यक्तिगत फेसबुक अकाउन्टमा पनि ‘प्राइम मिनिस्टर अफ नेपाल’ भनेर अपडेट गरिएको छ ।

उनको इन्स्टाग्राम र लिङ्क्डइनको बायो अपडेट गरिएको छ । १३ लाखभन्दा बढी फलोअर भएको इन्स्टाग्राम र ९६ हजारभन्दा बढी फलोअर भएको लिङ्क्डइन अकाउन्टको बायोमा पनि उनले ‘प्राइम मिनिस्टर अफ नेपाल’ राखेका छन् ।

सामाजिक सञ्जालमात्र नभई ‘विकिपिडिया’मा पनि बालेनको विवरण अपडेट भइसकेको छ । विकिपिडियामा रहेको नेपालका प्रधानमन्त्रीको सूचीमा बालेनको नाम थपिएको छ भने उनको व्यक्तिगत विकिपिडिया पेजमा पनि प्रधानमन्त्रीको रूपमा विवरण अपडेट गरिएको छ ।

फेसबुक पेज र टिकटकमा भने यथावत्

धेरैजसो प्लेटफर्ममा बायो परिवर्तन भए तापनि उनका केही ठुला अकाउन्टमा बायो अपडेट हुन बाँकी छ । ३९ लाखभन्दा बढी फलोअर रहेको उनको आधिकारिक फेसबुक पेज, चार लाखभन्दा बढी फलोअर भएको टिकटक अकाउन्ट र ११ लाख बढी सब्स्क्राइबर भएको युट्युब च्यानलको बायो यो सामग्री तयार पार्दासम्म परिवर्तन गरिएको छैन ।

यद्यपि नयाँ बायो अपडेट गरिएका अकाउन्टमा पनि उनले आफ्ना पुराना पहिचानलाई भने सँगै राखेका छन् । विभिन्न सामाजिक सञ्जालका अकाउन्टको बायोमा उनी र्‍यापर, स्ट्रक्चरल इन्जिनियर र काठमाडौँ महानगरपालिकाका ‘पूर्वमेयर’ भएको कुरा यथावत् छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०८२ १६:२