काठमाडौँ । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नवीन समाधानहरू खोज्ने उद्देश्यका साथ ‘आइडिया: नेपाल एआई ह्याकाथन’ (AIDEA – Nepal’s AI Hackathon) आयोजना गरिएको छ । ड्रेपर स्टार्टअप हाउस नेपालमा भएको यस प्रतिस्पर्धामा काठमाडौँ विश्वविद्यालयको टिम त्रियन्त्र टेकिज (TriYantra Techies) प्रथम भएको छ ।
विजेता बनेसँगै टिम त्रियन्त्रले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उक्त टिममा समीर वाग्ले, रिवाज खनाल, बत्सल भण्डारी र अबिरल अधिकारी सदस्य थिए ।
त्यस्तै, आईओई पुल्चोक क्याम्पस, ख्वप: कलेज अफ इन्जिनियरिङ र समृद्धि कलेजका विद्यार्थीहरूको संयुक्त टोली ‘अनटाइटल्ड डट जेपिजी’ (untitled.jpg) दोस्रो हुँदै ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भयो । उक्त टोलीमा सुपर्णा न्यौपाने, ऋषभ उपाध्याय, युरीशा बज्राचार्य र आदर्श श्रेष्ठ रहेका थिए ।
गत १३ माघमा सम्पन्न फाइनल चरणको मूल्याङ्कन नरोत्तम अर्याल, जोन बी. पार्क र आयुष्मा अर्याल सम्मिलित निर्णायक मण्डलले गरेको थियो ।
बहु-चरणीय प्रक्रियामार्फत सञ्चालन गरिएको ह्याकाथनमा सयौँ आवेदनहरूमध्येबाट सुरुमा १२ टोली छनोट गरिएको थियो । छनोट भएका टोलीहरूलाई एआई बुटक्याम्प, तीन दिने भौतिक ह्याकाथन र मेन्टरसिप प्रदान गरिएको थियो ।
ह्याकाथनको अन्तिम दिन ६ टोलीलाई दोस्रो चरणका लागि छनोट गरी उनीहरूका सोचलाई व्यावसायिक स्टार्टअपमा रूपान्तरण गर्न आवश्यक तालिम दिइएको थियो ।
यो कार्यक्रम ‘क्लक बी बिजनेस इनोभेसन’ र ‘ड्रेपर स्टार्टअप हाउस नेपाल’ ले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
ह्याकाथनलाई अमेरिकी दूतावासले रणनीतिक सहयोग गरेको थियो भने लिपफ्रग टेक्नोलोजी ‘टेक्नोलोजी पार्टनर’ को रूपमा रहेको थियो । यस्तै वेद एप, क्यूएफएक्स सिनेमाज र बिच हाउस नेपालले समेत कार्यक्रममा सहयोग गरेका थिए ।
विद्यार्थी र डेभलपरहरूका एआई सम्बन्धी सोचलाई व्यावहारिक उत्पादनमा बदल्ने र नेपाललाई एआई इनोभेसनको हबका रूपमा स्थापित गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।
पछिल्लो अध्यावधिक: चैत १३, २०८२ १६:२२
