‘विद्यार्थीलाई सानै उमेरदेखि एआई र प्रविधिको क्षेत्रमा आबद्ध गराउने गरी कार्यक्रम ल्याउँछाैँ’
चैत १३, २०८२ २१:२७
काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थीहरूलाई सानै उमेरदेखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र प्रविधिका क्षेत्रमा दक्ष बनाउन सरकारले लगानी बढाउने घोषणा गरेका छन् । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
नयाँ युगको आवश्यकता र मागअनुसार शिक्षा प्रणालीलाई परिमार्जन गर्ने आफ्नो मुख्य योजना रहेको उनले बताए । उनले भने, “हामी एआई, आईटी र स्वास्थ्य जस्ता क्षेत्रमा विद्यार्थीको प्रारम्भिक उमेरदेखि नै लगानी गर्ने योजनामा छौँ । खेलकुदका साथै विश्वव्यापी रूपमा विकास भइरहेका नयाँ र रचनात्मक क्रियाकलापलाई विद्यालय पाठ्यक्रममै समावेश गरेर अगाडि बढ्ने हाम्रो लक्ष्य छ ।”
मन्त्री पोखरेलले काठमाडौँ महानगरपालिकामा शिक्षा क्षेत्रमा गरिएका सफल र सकारात्मक अभ्यासहरूलाई अब राष्ट्रिय स्तरमा विस्तार गरिने उल्लेख गरे । उनले आफ्नो कार्यकालमा शैक्षिक नतिजामा सुधार, शिक्षकहरूको क्षमता अभिवृद्धि र विद्यालयको भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको स्पष्ट पारे ।
निजी विद्यालयको नियमन र छात्रवृत्ति वितरणका सन्दर्भमा बोल्दै उनले महानगरको अनुभवलाई देशभरि कार्यान्वयन गर्ने बताए । “काठमाडौँ महानगरमा हामीले जसरी छात्रवृत्ति वितरणलाई पारदर्शी र व्यवस्थित बनायौँ, त्यसैगरी देशभरका निजी विद्यालयलाई व्यवस्थित बनाउँदै छात्रवृत्ति प्रणालीलाई पूर्ण पारदर्शी बनाइनेछ,” उनले भने ।
यसका साथै मन्त्री पोखरेलले विद्यालय तहमा मात्र नभई उच्च शिक्षा र विश्वविद्यालयको गुणस्तर सुधारका लागि समेत आवश्यक कार्यक्रमहरू अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पछिल्लो अध्यावधिक: चैत १३, २०८२ २१:२७
