सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुरक्षित र आधुनिक बनाउने दिशामा काम गर्नेछु: मन्त्री तिमिल्सिना
चैत १४, २०८२ ८:२
काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशको सञ्चार र सूचना प्रविधि क्षेत्रलाई सुरक्षित, आधुनिक र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार पदबहाली गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो कार्ययोजना सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री तिमिल्सिनाले आफ्नो कार्यकालमा डिजिटल नेपालको लक्ष्यलाई व्यवहारमा उतार्न विशेष जोड दिने उल्लेख गरेका छन् । "सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई सुरक्षित र आधुनिक बनाउँदै डिजिटल नेपालको लक्ष्यलाई व्यवहारमा उतार्ने दिशामा काम गर्नेछु," उनले भनेका छन्, "डिजिटल शासन प्रणालीलाई सुदृढ बनाउने, सरकारी सेवाहरूलाई प्रविधिमैत्री र पहुँचयोग्य बनाउने, तथा साइबर सुरक्षा सुदृढ गर्ने कार्यमा विशेष जोड रहनेछ ।"
नुवाकोट निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद समेत रहेका तिमिल्सिनाले आफ्नो कार्यकालमा भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने सुनाए ।
"मेरो कार्यकाल स्पष्ट सिद्धान्तहरूमा आधारित हुनेछ-गलत सम्झौता हुने छैन, अनावश्यक ढिलासुस्ती हुने छैन, भ्रष्टाचारप्रति शून्य सहनशीलता लागु हुनेछ । पारदर्शिता, उत्तरदायित्व र इमान्दारीलाई केन्द्रमा राख्दै, सेवाप्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउनेतर्फ विशेष ध्यान केन्द्रित हुनेछ," उनले भनेका छन् ।
युवाहरूको परिवर्तनमुखी सोच र सुशासनको अपेक्षालाई आत्मसात गर्दै नयाँ सकारात्मक राजनीतिक संस्कृतिको निर्माणतर्फ अघि बढ्ने उनले उल्लेख गरेका छन् । "यो पदलाई मैले देशको सूचना, प्रविधि र डिजिटल भविष्यलाई सही दिशा दिने गम्भीर दायित्वका रूपमा ग्रहण गरेको छु," उनले थपे ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८२ ८:२
