close

हायर बन्यो विश्वकै नम्बर एक स्मार्ट होम इन्टरप्राइज

टेकपाना टेकपाना

चैत १६, २०८२ १८:१३

हायर बन्यो विश्वकै नम्बर एक स्मार्ट होम इन्टरप्राइज

काठमाडौँ । हायर ब्रान्ड विश्वकै नम्बर एक स्मार्ट होम इन्टरप्राइज बनेको छ । अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था ‘युरोमनिटर इन्टरनेसनल’ ले सार्वजनिक गरेको सन् २०२५ को तथ्याङ्कअनुसार हायर शीर्ष स्थानको स्मार्ट होम इन्टरप्राइजका रूपमा स्थापित भएको हो ।

कम्पनीको स्मार्ट होम क्षेत्रको विश्वव्यापी आम्दानी र बजारमा उपलब्ध स्मार्ट उपकरणहरूको सङ्ख्याका आधारमा यो वरियता प्रदान गरिएको अनुसन्धान संस्थाले जनाएको छ ।

हायरले स्मार्ट होमअन्तर्गत स्मार्ट उपकरण, सुरक्षा प्रणाली, लाइटिङ र ऊर्जा व्यवस्थापन जस्ता व्यापक क्षेत्रमा आफूलाई विस्तार गरेको छ । यसले कम्पनीलाई केवल घरेलु उपकरण निर्मातामा मात्र सीमित नराखी ‘स्मार्ट लिभिङ’ क्षेत्रकै नेतृत्वदायी कम्पनीका रूपमा रूपान्तरण गरेको छ ।

कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सलाई आफ्ना सबै उपकरणहरूमा समावेश गर्दै ७० भन्दा बढी स्मार्ट उत्पादनहरू निर्माण गरेको छ । यी उपकरणहरू घरको भान्सा, सुत्ने कोठा, बैठक कोठा र बाथरूममा प्रयोगका लागि उपयुक्त छन् ।

सबै उपकरणहरू एउटै सफ्टवेयर प्लेटफर्ममा जोडिने भएकाले यिनीहरूले एक-अर्कासँग सहज रूपमा सञ्चार गर्दछन्, जसले प्रयोगकर्ताको दैनिकीलाई थप सहज बनाउनेछ ।

हाल विश्वभर हायरका १३ करोडभन्दा बढी प्रयोगकर्ता छन्, जसमध्ये लाखौँले स्मार्ट होम प्लेटफर्ममार्फत आफ्नो दैनिक कामकाज व्यवस्थापन गरिरहेका छन् । यसलाई अझ प्रभावकारी बनाउन कम्पनीले ‘स्मार्ट एआई २.०’ सार्वजनिक गरेको छ ।

यो नयाँ प्रविधिले उपकरणहरूलाई प्रयोगकर्ताको आवश्यकता आफैँ बुझ्न सक्ने बनाउँछ । उदाहरणका लागि, स्मार्ट फ्रिजले भित्र रहेका सामग्री पहिचान गरी सोहीअनुसार तापक्रम व्यवस्थापन गर्न सक्छ ।

हायरले अब हार्डवेयर, सफ्टवेयर र रोबोटिक्सलाई एउटै प्रणालीमा जोड्दै अझ उन्नत प्रविधि विकास गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत घरका कामहरू रोबोटले नै गर्ने गरी स्मार्ट उपकरणहरूसँग रोबोटलाई जोड्ने प्रणाली तयार भइरहेको छ ।

यसबाट सामान व्यवस्थापनदेखि सरसफाइ र हेरचाहसम्मका काम रोबोटले नै गर्नेछन् । कम्पनीका अनुसार यो प्रविधिले घरलाई ‘सुन्ने, देख्ने र सोच्ने’ क्षमता प्रदान गर्दै प्रयोगकर्ताको जीवनलाई अझ स्मार्ट र आधुनिक बनाउन मद्दत पुर्‍याउनेछ ।

पछिल्लो अध्यावधिक: चैत १६, २०८२ १८:१५