close

विश्वकै मूल्यवान् कम्पनी बन्ने दौडमा स्पेसएक्स, एलन मस्क पहिलो ‘ट्रिलियनेयर’ बन्ने बाटोमा

टेकपाना टेकपाना

चैत १९, २०८२ २३:०

विश्वकै मूल्यवान् कम्पनी बन्ने दौडमा स्पेसएक्स, एलन मस्क पहिलो ‘ट्रिलियनेयर’ बन्ने बाटोमा

काठमाडौँ  । एलन मस्कको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्स विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनी बन्ने तयारीमा जुटेको छ । रकेट, अन्तरिक्ष अन्वेषण प्रविधि र स्टारलिङ्क स्याटलाइट निर्माण गर्ने यो कम्पनी हाल निजी स्वामित्वमा रहेको छ ।

तर, बुधबार कम्पनीले धितोपत्र बजारमा शेयर कारोबार गर्ने अनुमति पाउन इनिसियल पब्लिक अफरिङ आईपीओ) का लागि अधिकारीहरूसमक्ष आवेदन दिएको छ ।

सार्वजनिक कम्पनीका रूपमा दर्ता भएपछि स्पेसएक्सको बजार मूल्य १० खर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने अपेक्षा गरिएको छ । स्पेसएक्समा रहेको मस्कको आफ्नै स्वामित्वले उनलाई विश्वकै पहिलो ट्रिलियनेयर (१० खर्ब डलरको मालिक) बन्ने बाटोमा पुर्‍याउने देखिन्छ । फोर्ब्सका अनुसार उनी हाल ८३९ अर्ब डलर सम्पत्तिका साथ विश्वकै सबैभन्दा धनी व्यक्ति हुन् ।

ब्लुमबर्ग, रोयटर्स र न्यूयोर्क टाइम्सका रिपोर्टहरूका अनुसार कम्पनीले आगामी जुन महिनासम्ममा आधिकारिक रूपमा शेयर निष्कासन गर्ने लक्ष्य राखेको छ । अमेरिकी धितोपत्र तथा विनिमय आयोगमा दिइने यस्तो गोप्य आवेदनले कम्पनीलाई नियामकबाट प्रतिक्रिया लिने समयसम्म आफ्ना वित्तीय विवरणहरू सार्वजनिक हुनबाट जोगाउँछ । 

अबको चरणमा कम्पनीका कार्यकारीहरूले ठुला लगानीकर्ताहरूलाई शेयर किन्न आकर्षित गर्न रोडशो (अन्तरक्रिया कार्यक्रमहरू) सञ्चालन गर्नेछन् ।

रिपोर्टहरूका अनुसार सार्वजनिक रूपमा शेयर बिक्री गरेर कम्पनीले ५० अर्ब डलर वा सोभन्दा बढी पुँजी जुटाउने योजना बनाएको छ । यसै वर्ष (२०२६) को सुरुमा स्पेसएक्सले मस्ककै एआई कम्पनी एक्सएआईलाई आफूमा गाभेको थियो । उक्त मर्जरपछि स्पेसएक्सको आन्तरिक मूल्याङ्कन १२.५ खर्ब डलर पुगेको र यो विश्वकै सबैभन्दा मूल्यवान निजी कम्पनी बनेको विश्वास गरिन्छ ।

पछिल्लो समय मस्कका विभिन्न कम्पनीहरू एकआपसमा गाभिदै गएका छन् । गत वर्ष ग्रोक च्याटबटका लागि चर्चित एक्सएआईले सामाजिक सञ्जाल एक्सलाई आफ्नो मातहतमा लिएको थियो । पिचबुककी वरिष्ठ विश्लेषक एमिली झेङले बीबीसीलाई बताएअनुसार एक्सएआईलाई स्पेसएक्स अन्तर्गत ल्याएर मस्कले लगानीकर्ताहरूलाई आफ्ना कम्पनीहरूबिच लागत घटाउने र स्रोतसाधन सजिलै शेयरिङ गर्न सकिने सन्देश दिन खोजेका छन् ।

झेङका अनुसार स्पेसएक्सका ठुला योजनाहरू पूरा गर्न ठुलै लगानी चाहिन्छ, जुन सार्वजनिक शेयर निष्कासनबाट प्राप्त हुन सक्छ । कम्पनीको विस्तारका लागि आवश्यक पर्ने कम्प्युटिङ, पूर्वाधार र ऊर्जाको भारी खर्च धान्न स्पेसएक्स यतिबेला संघर्षरत रहेको उनले बताइन् ।

यसै वर्षको सुरुमा मस्कको विद्युतीय सवारी कम्पनी टेस्लाले पनि एक्सएआईमा दुई अर्ब डलरभन्दा बढी लगानी गरेको खुलासा गरेको थियो । मस्कका अनुसार टेस्लाको उत्पादनको ठुलो हिस्सा अब रोबोट निर्माणतर्फ केन्द्रित हुनेछ, जसमा एक्सएआईको ग्रोक प्रविधि प्रयोग गरिनेछ । हाल केही टेस्ला गाडीहरूमा ग्रोकलाई एआई असिस्टेन्टका रूपमा समावेश गरिसकिएको छ ।

मस्कले गत महिना घोषणा गरेको ‘टेराफ्याब’ नामक चिप निर्माण परियोजनामा पनि स्पेसएक्सले टेस्ला र एक्सएआईसँग सहकार्य गर्नेछ । “टेस्ला, एक्सएआई र स्पेसएक्स सबैले यस्ता अद्भूत काम गरेका छन् जुन मानिसहरूले पहिले असम्भव ठानेका थिए,” मस्कले गत मार्चमा एक कार्यक्रममा भनेका थिए ।

मस्कले सन् २००२ मा अन्तरिक्ष यान प्रक्षेपणको लागत घटाउने र पुनः प्रयोग गर्न मिल्ने रकेटहरू बनाउने लक्ष्यका साथ स्पेसएक्स स्थापना गरेका थिए । कम्पनीले सन् २००६ मा पहिलो पटक अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँग सम्झौता गरेको थियो । हाल स्पेसएक्सको मुख्य काम रकेट निर्माण र विश्वभर इन्टरनेट सेवा प्रदान गर्ने स्टारलिङ्क भू-उपग्रहको सञ्चालनमा केन्द्रित छ ।

यद्यपि, मस्कले अक्सर अन्तरिक्षमा एआई डाटा सेन्टर राख्ने र मंगल ग्रहमा आत्मनिर्भर सहर बसाउने जस्ता अझ महत्त्वाकांक्षी योजनाहरू सुनाउने गर्छन् । तर, धेरै विज्ञहरूले यस्ता योजनाहरू साकार पार्न असम्भव रहेको टिप्पणी गर्दै आएका छन् ।

-बीबीसीको सहयोगमा

 

पछिल्लो अध्यावधिक: चैत १९, २०८२ २३:१३