सांकेतिक तस्बिर
काठमाडौँ । सामाजिक सञ्जालमार्फत भ्रामक सूचना र अफवाह फैलाएको आरोपमा पश्चिम एसियाका विभिन्न देशबाट ११ जना नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै युद्ध र संकटको अवस्थामा रहेका पश्चिम एसियाली मुलुकहरूमा भ्रामक सामग्री फैलाएको आरोपमा उनीहरू पक्राउ परेको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार पक्राउ पर्नेहरूमा साउदी अरबमा चार जना, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा तीन–तीन जना तथा ओमानमा एक जना रहेका छन् । पक्राउ परेका नेपालीहरूले सामाजिक सञ्जाल तथा मेसेजिङ एपहरू प्रयोग गरी त्रास उत्पन्न गराउने खालका भ्रामक भिडिओ, तस्बिर र सन्देशहरू सेयर गरेको पाइएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
सम्बन्धित देशको सुरक्षा नियम र साइबर कानुनको उल्लङ्घन गरेको अभियोगमा त्यहाँका सुरक्षा निकायले उनीहरूलाई नियन्त्रणमा लिएका हुन् । प्रवक्ता पौडेलले विदेशमा रहेका नेपालीहरूलाई स्थानीय नियम र कानुनको पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
भ्रामक सूचनाले नागरिकमा अनावश्यक डर पैदा गर्ने र देशको प्रतिष्ठामा समेत नकारात्मक असर पार्ने भन्दै परराष्ट्र मन्त्रालयले सचेतना कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले बताए । मन्त्रालयले सामाजिक सञ्जालमार्फत अफवाह नफैलाउन र साइबर अपराधप्रति सचेत रहन सार्वजनिक अपिल समेत गरेको छ ।
प्रवक्ता पौडेलले भने, “त्रास वा डर फैलाउने उद्देश्यले फोटो, भिडिओ वा अन्य सामग्रीहरू नबनाउन र त्यस्ता सामग्री सेयर नगर्न हामीले आग्रह गरिरहेका छौँ । ह्वाट्सएप वा मेसेन्जर जस्ता एपबाट 'प्राइभेट मेसेज' पठाउँदा समेत भ्रामक सामग्री नलैजान भनेका छौँ ।” उनले प्रायः नेपालीहरूले नियमको पालना गरिरहेको भए पनि केही व्यक्तिहरू अन्जानमा वा लापरबाहीका कारण कानुनी फन्दामा परेको बताए ।
संकटको समयमा आफू बसेको देशको सरकारले जारी गरेका सुरक्षा नियम पालना गर्नु सबै नेपालीको कर्तव्य भएको मन्त्रालयले जनाएको छ । नियम उल्लङ्घन गरेमा मोटो रकम जरिबाना, जेल सजाय र डिपोर्ट (देश निकाला) सम्मको कडा कानुनी कारबाही भोग्नुपर्ने चेतावनी समेत प्रवक्ता पौडेलले दिएका छन् ।
पछिल्लो अध्यावधिक: चैत २१, २०८२ ९:१३
