अमिशा पराजुलीलाई साइबर बुलिङ गर्ने युवक रौतहटबाट पक्राउ, अन्यको खोजी हुँदै
चैत २१, २०८२ १४:४३
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा भएको प्रदर्शनमा सहभागी भएपछि साइबर बुलिङको सिकार भएकी अमिशा पराजुलीको उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले रौतहट प्रहरीसँगको समन्वयमा ती युवकलाई नियन्त्रणमा लिएको हो ।
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दिलिपकुमार गिरीले एक युवकलाई पक्राउ गरिएको पुष्टि गरे । प्रवक्ता गिरीका अनुसार पक्राउ परेका व्यक्तिलाई हाल काठमाडौँ ल्याउने प्रक्रिया चलिरहेको छ । “हामीले रौतहट प्रहरीसँग समन्वय गरी एक जनालाई नियन्त्रणमा लिएका छौँ । उनलाई काठमाडौँ ल्याइपुर्याएपछि मात्र नाम र अन्य विस्तृत विवरण औपचारिक रूपमा सार्वजनिक गरिनेछ,” एसपी गिरीले भने ।
केही समयअघि काठमाडौँमा भएको प्रदर्शनमा सहभागी भएकै कारण अमिशामाथि सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउने र चरित्रहत्या गर्ने कार्य भएको थियो । निरन्तर दुर्व्यवहार र साइबर बुलिङ सहन नसकेपछि उनले केही दिनअघि विभिन्न व्यक्ति र सामाजिक सञ्जालका ह्यान्डलहरू पहिचान गरी कारबाहीको माग गर्दै साइबर ब्युरोमा किटानी जाहेरी दिएकी थिइन् ।
सोही उजुरीमाथि प्राविधिक अनुसन्धान अघि बढाउँदा रौतहटका युवकको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी र पहिचान गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: चैत २१, २०८२ १४:४३
