एलन मस्कको अनौठो सर्त: स्पेसएक्सको आईपीओ व्यवस्थापन गर्ने बैंकले ग्रोक एआई किन्नुपर्ने
चैत २१, २०८२ १९:५३
काठमाडौँ । अर्बपति उद्यमी एलन मस्कले आफ्नो रकेट कम्पनी ‘स्पेसएक्स’को सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रियामा संलग्न बैंक र सल्लाहकारका लागि अनौठो सर्त राखेका छन् । न्युयोर्क टाइम्सका अनुसार स्पेसएक्सको आईपीओमा काम गर्न इच्छुक बैंकले मस्कको एआई च्याटबट ग्रोकको सब्सक्रिप्सन अनिवार्य रूपमा लिनुपर्ने भएको छ ।
यस मामिलाका जानकार व्यक्तिलाई उद्धृत गर्दै सार्वजनिक गरिएको रिपोर्टका अनुसार केही ठुला बैंकले यो सर्त स्वीकार गर्दै वार्षिक करोडौँ डलर ‘ग्रोक’ का लागि खर्च गर्न सहमत भइसकेका छन् । ती बैंकले यो एआई च्याटबटलाई आफ्नो आन्तरिक सूचना प्रविधि प्रणालीमा समेत एकीकृत गर्न थालेका छन् ।
रोयटर्सका अनुसार स्पेसएक्सको ऐतिहासिक आईपीओका लागि मोर्गन स्टेनली, गोल्डम्यान साक्स, जेपी मोर्गन चेस, बैंक अफ अमेरिका र सिटी ग्रुपले मुख्य ‘बुक रनर्स’ वा नेतृत्वदायी बैंकको रूपमा काम गरिरहेका छन् ।
यस विषयमा एलन मस्क र स्पेसएक्सले हालसम्म कुनै औपचारिक टिप्पणी गरेका छैनन् । त्यस्तै जेपी मोर्गन, गोल्डम्यान साक्स र सिटी ग्रुप लगायतका बैंकले पनि यसबारे केही बोल्न अस्वीकार गरेका छन् ।
विश्वकै ठुलो आईपीओ बन्ने तयारी
ब्लुमबर्ग न्युजका अनुसार टेक्ससको स्टारबेसस्थित स्पेसएक्सले आफ्नो आईपीओको मूल्याङ्कन दुई ट्रिलियन डलरभन्दा बढी पुर्याउने लक्ष्य राखेको छ । कम्पनीले यस आईपीओमार्फत कीर्तिमानी ७५ अर्ब डलर संकलन गर्ने योजना बनाएको छ ।
यदि यो सफल भएमा स्पेसएक्सको आईपीओ सन् २०१९ को साउदी अरामको र २०१४ को अलिबाबाको आईपीओलाई पछि पार्दै इतिहासकै सबैभन्दा ठुलो शेयर निष्कासन बन्नेछ ।
मस्कले आफ्नो सामाजिक सञ्जाल एक्स र एआई कम्पनी ‘एक्सएआई’ मार्फत ग्रोकको प्रचार गर्दै आएका छन् । अहिले आएर आफ्ना अन्य कम्पनीको व्यावसायिक डिलमा समेत यसलाई अनिवार्य बनाउनुलाई अनौठो व्यावसायिक रणनीतिका रूपमा हेरिएको छ ।
पछिल्लो अध्यावधिक: चैत २१, २०८२ १९:५३
