close

भ्रम फैलाएको र चरित्रहत्या गरेको भन्दै युट्युबर रतन कार्की र मिन गुरुङविरुद्ध साइबर ब्युरोमा उजुरी

टेकपाना टेकपाना

चैत २२, २०८२ १४:९

भ्रम फैलाएको र चरित्रहत्या गरेको भन्दै युट्युबर रतन कार्की र मिन गुरुङविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौँ । युट्युबर रतन कार्की र मिन गुरुङसहितका व्यक्तिहरूविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । 'साइबर बुलिङ'को सिकार भएकी अमिशा पराजुलीले आफूविरुद्ध भ्रम फैलाएको र चरित्रहत्या गरेको आरोप लगाउँदै उनीहरू विरुद्ध उजुरी दिएकी हुन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्ध आयोजित प्रदर्शनमा पराजुली सहभागी भएकी थिइन् । त्यस क्रममा दिएको अभिव्यक्तिका कारण उनी भाइरल भएकी थिइन् ।

आइतबार आफ्नी आमासहित ब्युरो पुगेकी अमिशाले कार्की र गुरुङका साथै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता र कन्टेन्ट क्रिएटर विरुद्ध पनि उजुरी दर्ता गराएकी छिन् । आफूसँग असम्बन्धित विषयमा भ्रामक सामग्री बनाएको र बुबाले गाली गरेको भन्दै झुटो प्रचार गरेको उनको आरोप छ ।

उजुरी दिएपछि टेकपानासँग कुरा गर्दै अमिशाले भनिन्, "पटक-पटक मसँग सम्बन्धित नै नभएका विषयमा बोल्ने र बुबाले गाली गरेको भन्दै भ्रम फैलाएपछि मैले बाध्य भएर उजुरी दिएकी हुँ । एक जना पक्राउ परिसकेको र अन्यको खोजी भइरहेको जानकारी प्रहरीबाट पाएकी छु । हामीलाई न्याय चाहिन्छ ।"

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलिपकुमार गिरीका अनुसार यस प्रकरणमा जोडिएका विभिन्न २२ वटा फेसबुक अकाउन्टलाई रिपोर्ट गरी 'लोकेट' गर्ने कार्य भइरहेको छ । रतन कार्की र मिन गुरुङ लगायत विरुद्ध परेको उजुरीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

"हामीले सम्बन्धित सबै सामाजिक सञ्जालका खाताहरूको विवरण माग गरेका छौँ र घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ," प्रवक्ता गिरीले भने । केपी शर्मा ओलीको समर्थनमा सडकमा ओर्लिएपछि अमिशा पराजुली सामाजिक सञ्जालमा चर्चा र विवादको केन्द्रमा परेकी थिइन् ।

सोही क्रममा विभिन्न युट्युब च्यानल र फेसबुक पेजहरूले आफूबारे आपत्तिजनक सामग्री पोस्ट गरेको उनको दाबी छ ।

पछिल्लो अध्यावधिक: चैत २२, २०८२ १४:९