काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत बिक्रीका लागि राखिएको स्कुटर ‘टेस्ट राइड’ गर्ने बहानामा चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० जाल्पा घर भई हाल चन्द्रागिरी-१५ कालुपाण्डे बस्ने ३१ वर्षीय उमेश पुरी रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको थिमिस्थित शाखाबाट खटिएको प्रहरी टोलीले २२ चैतमा तीनकुनेबाट चोरीको स्कुटरसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पुरीले गत २ चैतमा भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट पुगी अनलाइनमा बिक्रीका लागि विज्ञापन गरिएको स्कुटर चेकजाँच गर्छु भन्दै लिएर फरार भएका थिए ।
अनुसन्धानका क्रममा पक्राउ परेका पुरीको आपराधिक पृष्ठभूमि गम्भीर रहेको पाइएको छ । उनी यसअघि जबरजस्ती करणी मुद्दामा पक्राउ परी पुर्पक्षका लागि भद्रबन्दी गृह डिल्लीबजारमा थुनामा रहेको बेला गत भदौमा भएको जेन-जी आन्दोलनको मौका छोपेर कारागारबाट फरार भएको प्रहरीले जनाएको छ ।
यसबाहेक पुरीको संलग्नता अन्य अपराधमा समेत देखिएको छ । उनी १९ माघ २०७७ मा सुनसरीको महेन्द्रनगरबाट बहुविवाह मुद्दामा र २१ कात्तिक २०७३ मा खोटाङबाट चोरी मुद्दामा समेत पक्राउ परिसकेका व्यक्ति हुन् ।
कारागारबाट फरार भएर पुनः चोरी कार्यमा संलग्न भएका उनलाई बरामद स्कुटरसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त थिमि, भक्तपुर पठाइएको प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८२ १८:५८
