मासिक १०० डलर पर्ने च्याटजीपीटीको प्रो प्लान सार्वजनिक, ५ गुणा बढी कोडिङ क्षमता रहेको दाबी
चैत २७, २०८२ १८:१३
काठमाडौँ । ओपनएआईले धेरै समयदेखि प्रयोगकर्ताहरूले माग गरिरहेको १०० डलर (साढे १४ हजार रुपैयाँ बराबर) प्रतिमहिना पर्ने नयाँ सब्सक्रिप्सन प्लान सार्वजनिक गरेको छ । बिहीबार घोषणा गरिएको यो प्रो प्लान विशेषगरी धेरै काम गर्ने ‘पावर युजर्स’ र सफ्टवेयर डेभलपरहरूलाई लक्षित गरी ल्याइएको हो ।
यसअघि कम्पनीले विज्ञापनसहितको निःशुल्क प्लान, विज्ञापनसहितकै ८ डलरको गो प्लान, २० डलरको प्लस प्लान र २०० डलरको प्रो प्लान ल्याएको थियो ।
ओपनएआईका अनुसार प्रो प्लानमा च्याटजीपीटीको कोडिङ टुल कोडेक्सको प्रयोग क्षमता २० डलरको प्लस प्लानको तुलनामा पाँच गुणा बढी हुनेछ । कम्पनीले यो नयाँ मूल्य आफ्नो मुख्य प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिकको १०० डलर पर्ने क्लाउडसँग प्रतिस्पर्धा गर्न ल्याएको विश्लेषण गरिएको छ ।
हाल विश्वभर साप्ताहिक रूपमा ३० लाखभन्दा बढी मानिसले कोडेक्स प्रयोग गरिरहेका छन् । यो संख्या पछिल्लो तीन महिनामा पाँच गुणाले बढेको कम्पनीको दाबी छ ।
पछिल्लो अध्यावधिक: चैत २७, २०८२ १८:१३
