close

स्वास्थ्यमा समस्या देखिएपछि युट्युबर रोशन पोखरेल हाजिरी जमानीमा छुटे, परिवारको जिम्मा लगाइयो

टेकपाना टेकपाना

चैत २९, २०८२ १६:२८

स्वास्थ्यमा समस्या देखिएपछि युट्युबर रोशन पोखरेल हाजिरी जमानीमा छुटे, परिवारको जिम्मा लगाइयो

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लगायतका राजनीतिक व्यक्तिहरूलाई लक्षित गरी गालीगलौजपूर्ण सामग्री बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल हाजिरी जमानीमा छुटेका छन् । गत बिहीबार पक्राउ परेका पोखरेललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले आइतबार दिउँसो परिवारको जिम्मा लगाएको हो ।

पोखरेलमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोप छ । उक्त मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालत पाँचथरले उनलाई १० दिन हिरासतमा राख्न अनुमति (म्याद थप) दिएको थियो । तर, हिरासतमा रहेकै बेला पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीले उनलाई हाजिरी जमानीमा छाड्ने निर्णय गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामचन्द्र शाहका अनुसार पोखरेललाई उनकै हजुरआमा र काकाको जिम्मा लगाइएको छ । "स्वास्थ्यमा समस्या देखिएका कारण मानवीय आधारमा उनलाई परिवारको जिम्मा लगाएका हौँ," प्रहरी निरीक्षक शाहले भने, "हाजिरी जमानीमा छोडिए पनि उनीमाथिको कानुनी अनुसन्धान र प्रक्रिया भने निरन्तर जारी रहनेछ ।"

पोखरेल पक्राउ परेपछि सामाजिक सञ्जालमा यस विषयलाई लिएर तीव्र बहस सुरु भएको छ । एक पक्षले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै विरोध गरिरहेका छन् भने अर्को पक्षले व्यक्तिगत मर्यादा र सामाजिक शिष्टता नाघेर गालीगलौज गर्नेलाई कारबाही हुनु स्वाभाविक भएको तर्क गरिरहेका छन् ।

 

पछिल्लो अध्यावधिक: चैत २९, २०८२ १६:२८