close

घट्यो एटीएमको कारोबार सीमा, अब दिनको १ लाखको साटो ५० हजार मात्रै झिक्न पाइने

टेकपाना टेकपाना

बैशाख ३, २०८३ २०:३६

घट्यो एटीएमको कारोबार सीमा, अब दिनको १ लाखको साटो ५० हजार मात्रै झिक्न पाइने

काठमाडौँ । एटीएम कार्डबाट गर्न सकिने कारोबारको सीमा घटेको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको एकीकृत निर्देशन २०८२ मार्फत यसअघिको कारोबार सीमा घटाइएको हो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार प्रति कारोबारको सीमा ५ हजार रुपैयाँ, दैनिक कारोबारको सीमा ५० हजार रुपैयाँ र मासिक कारोबारको सीमा १ लाख रुपैयाँले घटाइएको छ ।

यससँगै अब एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ र प्रतिदिन ५० हजार रुपैयाँ र प्रति महिना ३ लाख रुपैयाँसम्म मात्रै निकाल्न मिल्नेछ ।

जब कि यसअघि प्रति कारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रति महिना ४ लाख रुपैयाँ एटीएमबाट निकाल्न सकिने अवस्था थियो ।

नगद कारोबारभन्दा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अनुरूप कारोबार सीमा घटाइएको राष्ट्र बैङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए ।

उनका अनुसार केही महिनाअघि जारी निर्देशनहरूलाई नै अहिले एकीकृत निर्देशिकाको रूपमा 'कम्पायल' मात्र गरिएको हो । जसमा अनुमतिपत्र प्राप्त 'क' वर्गका वाणिज्य बैङ्कले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरूमा चल्ने सवारी साधनहरूबाट सडक उपभोग दस्तुर (टोल फि) सङ्कलन गर्ने प्रयोजनका लागि आरएफआईडी चिपमा आधारित प्रिपेड ट्याग तथा कार्ड जारी गर्न सक्ने नयाँ व्यवस्था समेत समावेश छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८३ २०:३६