आपत्तिजनक शब्द प्रयोग गरेको अडियो बाहिरिएपछि सप्तरीका एसपी केसीविरुद्ध छानबिन सुरु
बैशाख ८, २०८३ १९:२६
काठमाडौँ । सप्तरीका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीले आपत्तिजनक शब्द प्रयोग गरेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु गरिएको छ । मधेस प्रदेश प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक अडियोमा केसीले ‘मुस्तकिम भनेको को हो?’ भन्दै प्रश्न गरेका छन् । जवाफमा अर्को व्यक्तिले मुस्तकिम सप्तरीबाट रास्वपामा निर्वाचित भएका सांसद रामजी यादवको मान्छे हो भनेका छन् ।
त्यसपछि एसपी केसीले कलमा भएका व्यक्तिलाई ठीक ठाउँमा ल्याउन भन्दै धम्कीपूर्ण शैलीमा भनेका छन्, “त्यसलाई ठीक ठाउँमा ल्या । हैन भने तँ … लाई हान्दिन्छु । त्यो बड्ता भइरहेको छ, साला कुत्ता ।”
छानबिन समितिका संयोजक एसएसपी थापाका अनुसार एसपी केसीका दुई ओटा अडियो सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको हो ।
सार्वजनिक अर्को अडियोमा भने एसपी केसी र सप्तरीका मुस्तकिम आलम बिचको कुराकानी सुन्न सकिन्छ । उक्त अडियोमा ‘आलमले के लेखेको ?’ भन्दै एसपी केसीले प्रश्न गरेका छन् । जवाफमा आलमले आफू जनप्रतिनिधिको सचिवालयको मान्छे भएकाले सूचना थाहा पाउने अधिकार रहेको बताएका छन् । कुराकानीको क्रममा प्रहरीको सेवा राम्रो नभएको र आफूले अवैध क्रियाकलाप भएको भन्ने सूचना दिँदा पनि बेवास्ता भएको आलमले बताएका छन् ।
प्रारम्भिक छानबिन गर्दा आफूलाई जेनजी बताउने मुस्तकिम आलमले एसपी केसीलाई जुनसुकै समयमा पनि सम्पर्क गरेर जवाफ माग्ने गरेको देखिएको एसएसपी थापाले बताए । त्यसपछि आलमका बारेमा बुझ्न स्थानीय पत्रकार प्रह्लाद सिंह ‘विक्की’लाई एसपी केसीले गरेको कलको अडियो लिक भएको देखिएको उनले बताए ।
उनले भने, “आलमको बारेमा बुझ्न स्थानीय पत्रकारलाई अनौपचारिक रूपमा कल गरिएको जस्तो देखिएको छ । त्यसमा केही शब्द आपत्तिजनक सुनिएका छन् । त्यो अडियोलाई पत्रकारले नै लिक गरेको अनुमान छ । हामी यो विषयमा अनुसन्धान गर्दै छौँ ।”
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८३ १९:२६
