सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य, १५/१५ दिनमा विवरण प्रिन्ट गर्न निर्देशन
बैशाख १०, २०८३ १७:३६
काठमाडौँ । सरकारले कर्मचारीहरूको विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सरकारी कर्मचारीका लागि यस्तो हाजिरी प्रणाली अनिवार्य गर्न निर्देशन दिएको हो ।
बिहीबार सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय र ७५३ ओटै स्थानीय तहलाई पठाइएको परिपत्रमा कर्मचारीहरूको उपस्थितिको अभिलेखीकरणलाई व्यवस्थित बनाउन विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न अनुरोध गरिएको छ । यसअन्तर्गत कर्मचारी कार्यालय आएको र कार्यालयबाट बाहिरिएको दुवै समयको विवरण विद्युतीय प्रणालीबाटै राख्नुपर्ने छ ।
८ वैशाखको सचिवस्तरीय निर्णयअनुसार यो व्यवस्था लागु गर्न लागिएको हो । निर्देशानुसार, कार्यालयहरूले प्रत्येक १५ दिनमा विद्युतीय हाजिरीको विवरण प्रिन्ट गरी, प्रमाणित गरेर सुरक्षित रूपमा अभिलेख राख्नुपर्नेछ ।
मन्त्रालयले हालसम्म विद्युतीय हाजिरी प्रणाली जडान नभएका कार्यालयहरूलाई तत्काल सोको व्यवस्था मिलाउन र कार्यान्वयनमा ल्याउनसमेत आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८३ १८:१०
