काभ्रेमा अब सेवाग्राहीको घरमै राहदानी पुग्ने, जिल्ला प्रशासन र हुलाक कार्यालयबिच सम्झौता
बैशाख ११, २०८३ १९:१३
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला हुलाक कार्यालयबिच सेवाग्राहीको घरमै राहदानी (पासपोर्ट) पुर्याउने सम्बन्धी औपचारिक सम्झौता भएको छ । जिल्लाभरका सबै स्थानमा हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउने गरी शुक्रबार दुई कार्यालयबिच समझदारी भएको हो ।
सम्झौता कार्यान्वयनमा आएसँगै अब राहदानीका लागि आवेदन दिने सेवाग्राहीले आफ्नो इच्छा अनुसार घरमै राहदानी प्राप्त गर्न सक्ने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार राहदानी आवेदन दिने क्रममा सेवाग्राहीलाई हुलाक सेवामार्फत घरमै डेलिभरी लिन चाहने भए छुट्टै फारम भर्ने व्यवस्था मिलाइएको छ । यद्यपि, हालसम्म कुनै पनि सेवाग्राहीले घरमै राहदानी बुझ्ने विकल्प छनोट गरी फारम भरेका छैनन् ।
"हामीले ५-७ दिनअघि देखि नै फारम वितरण सुरु गरे पनि विभिन्न कारणले सेवाग्राहीले यो विकल्प रोज्नुभएको छैन," प्रजिअ अधिकारीले भने, "हुलाक सेवाको प्रभावकारिताप्रति सेवाग्राहीमा अझै पूर्ण विश्वास नहुनु र कार्यालयमै पुगेर सेवा लिने पुरानो बानीका कारण पनि आकर्षण कम देखिएको हुन सक्छ । अब औपचारिक सम्झौता नै भएपछि सेवाग्राहीको विश्वास बढ्ने अपेक्षा गरेका छौँ ।"
जिल्लाका विकट क्षेत्रहरू खानीखोला र महाभारतका बासिन्दालाई राहदानी लिनकै लागि पुनः सदरमुकाम धाउनुपर्ने झन्झटबाट मुक्त गराउने उद्देश्यले यो सेवा सुरु गरिएको उनले बताए । राहदानी बनाउन बायोमेट्रिकका लागि सेवाग्राही प्रशासन कार्यालय आउनै पर्ने भए पनि, राहदानी तयार भइसकेपछि भने घरमै पुर्याउँदा उनीहरूको समय र खर्च बचत हुने प्रशासनको विश्वास छ ।
जिल्ला हुलाक कार्यालयले राहदानी प्राप्त भएको सात दिनभित्र जिल्लाका दुर्गम स्थानमा समेत डेलिभरी गरिसक्ने प्रतिबद्धता जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ११, २०८३ १९:१३
