close

डा. बाबुराम भट्टराईको फेसबुक पेज २ दिनदेखि गायब, भन्छन्- ‘के कारणले हो मलाई नै थाहा छैन’

टेकपाना टेकपाना

बैशाख १४, २०८३ २३:१७

डा. बाबुराम भट्टराईको फेसबुक पेज २ दिनदेखि गायब, भन्छन्- ‘के कारणले हो मलाई नै थाहा छैन’

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज आइतबारदेखि गायब भएको छ । १५ लाखभन्दा बढी फलोअर रहेको उक्त पेज फेसबुकमा नदेखिएपछि उनी र उनको सचिवालय नै अन्योलमा परेका छन् ।

आफ्नो आधिकारिक पेज अचानक बन्द भएपछि डा. भट्टराईले आफूलाई समेत यसको ठोस कारण थाहा नभएको बताएका छन् । टेकपानासँग कुरा गर्दै उनले पेज गायब हुनुको कारणबारे अनभिज्ञता प्रकट गरे । “पेज किन बन्द भयो, मलाई नै थाहा छैन,” उनले भने ।

पछिल्लो समय नेपालको नयाँ नक्सा र लिम्पियाधुरासँग सम्बन्धित विषयहरू फेसबुकमा पोस्ट गर्दा धेरै प्रयोगकर्ताका अकाउन्ट र पेजहरू फेसबुकले 'सस्पेन्ड' (निलम्बन) गर्ने गरेको गुनासो बढेको छ । यही सन्दर्भमा भट्टराईको पेज पनि सोही कारणले बन्द भएको हुन सक्ने लख काटिएको थियो । तर, डा. भट्टराईले यो सम्भावनालाई ठाडै अस्वीकार गरेका छन् । उनले पछिल्लो समय आफूले लिम्पियाधुरासँग सम्बन्धित कुनै पनि सामग्री फेसबुकमा नराखेको स्पष्ट पारेका छन् ।

डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहने र देशको समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आफ्ना धारणा निरन्तर राख्ने नेताका रूपमा चिनिन्छन् । यति धेरै फलोअर संख्या भएको पेज गायब भएपछि अहिले उनको प्राविधिक टोलीले यसलाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको सचिवालयले जानकारी दिएको छ ।

अहिलेका लागि उनको पेज फेसबुकको सर्चमा नदेखिने र लिंकहरूले काम नगर्ने अवस्थामा रहेको छ । प्राविधिक समस्या हो वा फेसबुकको नीतिगत कारणले यसो भएको हो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।

यसअघि फागुन २०८१ मा पनि उनको फेसबुक पेज ह्याक भएको थियो । त्यस्तै साउन २०८० मा फेसबुकमा देखिएको ग्लिचका कारण पुराना पोस्टमा आएका सबै कमेन्टमा भट्टराईकै नाम देखिएको थियो ।

राजनीतिक नेताहरूको अकाउन्टमा धेरै फलोअर हुने भएकाले ह्याकरहरूले फिसिङ, पासवर्ड क्र्याक वा सोसियल इन्जिनियरिङमार्फत ह्याक गर्न सक्छन् । ह्याक भएपछि पोस्ट परिवर्तन, फेक कन्टेन्ट हाल्ने वा अकाउन्ट नै नियन्त्रणमा लिने गर्छन् ।

यदि धेरै रिपोर्ट आए, स्पाम जस्तो लाग्यो वा कम्युनिटी स्ट्यान्डर्ड उल्लङ्घन भयो भने फेसबुकले अकाउन्ट अस्थायी रूपमा सस्पेन्ड गर्छ । राजनीतिक कन्टेन्टमा अझ यो बढी हुन सक्छ ।

यसअघि हालैमात्र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज सस्पेन्ड भएको थियो भने गत फागुनमा रास्वपा सभापति रवि लामिछानेको फेसबुक प्रोफाइलले यस्तै समस्या सामना गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८३ २३:४३