close

नेपाली भाषामा आधारित इन्टरनेट सिस्टम बनाउन यूए ह्याकाथन हुँदै, हाइब्रिड कार्यक्रममा यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

बैशाख १५, २०८३ १०:५३

नेपाली भाषामा आधारित इन्टरनेट सिस्टम बनाउन यूए ह्याकाथन हुँदै, हाइब्रिड कार्यक्रममा यसरी बन्नुहोस् सहभागी

काठमाडौँ । कम्प्युटर एसोसिएसनन नेपाल (क्यान) महासङ्घ ले 'यूए ह्याकाथन नेपाल २०२६' का लागि आवेदन खुलाएको छ । युनिभर्सल एसेप्टेन्स (यूए) सम्बन्धी विश्वव्यापी अभियान तथा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ को अवसरमा यो ह्याकाथन आयोजना गर्न लागिएको हो ।

'यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६ः पायोनियरिङ यूए रेडी प्लेटफर्म' थिमका साथ आयोजना हुन लागेको यो कार्यक्रमले नेपाली भाषा र लिपिमा आधारित इन्टरनेट प्रणालीको विकासलाई मुख्य प्राथमिकता दिएको छ ।

अन्तर्राष्ट्रिय संस्थाहरू आईक्यान (ICANN), युनेस्को (UNESCO), एप्निक (APNIC) र सनवे कलेज काठमाडौँको सहकार्यमा आयोजना हुन लागेको ह्याकाथनको मुख्य उद्देश्य सबैका लागि समावेशी र बहुभाषिक इन्टरनेट सुनिश्चित गर्नु हो । हाल इन्टरनेटमा अङ्ग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा नेपाली लगायत अन्य स्थानीय भाषाहरूमा पनि सजिलै ईमेल र वेबसाइटहरू सञ्चालन गर्न सकिने वातावरण बनाउन यो अभियान सुरु गरिएको हो ।

ह्याकाथनमा सहभागी हुन इच्छुक डेभलपर, विद्यार्थी र प्रविधि प्रेमीहरूले आगामी १७ वैशाख २०८३ (३० अप्रिल, २०२६) सम्म आवेदन दिन सक्नेछन् । मुख्य कार्यक्रम भने २ जेठ २०८३ (१६ मे २०२६), शनिबार बिहान ०८:३० बजेदेखि काठमाडौँमा सुरु हुनेछ । यो कार्यक्रम भौतिक र अनलाइन दुवै माध्यमबाट सहभागी हुन मिल्ने गरी हाइब्रिड मोडमा सञ्चालन गरिनेछ ।

सहभागी हुन इच्छुक व्यक्तिहरूले क्यान महासंघको आधिकारिक नेपाली पोर्टल https://क्यान.संगठन/दर्ता/ मा गई आफ्नो नाम दर्ता गर्न सक्नेछन् । कार्यक्रम सम्बन्धी थप विस्तृत जानकारी https://क्यान.संगठन/ मा उपलब्ध छ । क्यानले गत वर्ष मात्र युनिभर्सल एक्सेप्टेन्स (यूए) कार्यक्रम अन्तर्गत नै डोमेनमा नेपाली भाषा प्रयोग गरिएको पहिलो वेबसाइट https://क्यान.संगठन सार्वजनिक गरेको थियो । जसलाई नेपालको पहिलो आईडीएन (Internationalized Domain Name) का रूपमा अगाडि सारिएको छ ।

ह्याकाथन मार्फत सहभागीहरूले बहुभाषिक र 'यूए-रेडी' डिजिटल सोलुसनहरू निर्माण गर्ने प्रत्यक्ष अवसर पाउनेछन् । इन्टरनेटलाई सबैको पहुँचमा पुर्‍याउन र प्रविधिको क्षेत्रमा नयाँ आविष्कार गर्न यो एउटा उत्कृष्ट प्लेटफर्म हुने विश्वास लिइएको छ ।

युनिभर्सल एसेप्टेन्स (यूए) दिवस एउटा विश्वव्यापी पहल हो । जसले सबै डोमेन नेम र ईमेल ठेगानाहरूलाई सबै इन्टरनेट एप, उपकरण र प्रणालीहरूले सहजै स्वीकार गर्न सक्ने (यूए-रेडिनेस) कुराको सुनिश्चित गर्न सचेतना जगाउँछ ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता सङ्गठनको रूपमा रहेको क्यान महासङ्घले नीतिगत वकालत, तालिम र अन्तर्राष्ट्रिय सहकार्य मार्फत प्रविधिको विकासमा काम गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८३ १०:५३