close

सूचना तथा सञ्चार क्षेत्रको आर्थिक वृद्धिदर ५.५३%, जीडीपीमा १.९३% योगदान पुग्ने अनुमान

टेकपाना टेकपाना

बैशाख १५, २०८३ १९:४४

सूचना तथा सञ्चार क्षेत्रको आर्थिक वृद्धिदर ५.५३%, जीडीपीमा १.९३% योगदान पुग्ने अनुमान

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा पनि सूचना तथा सञ्चार क्षेत्रको आर्थिक वृद्धिदर मुलुकको समग्र औसत वृद्धिदरभन्दा उच्च रहने देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलवार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमानअनुसार यस आवमा सूचना तथा सञ्चार क्षेत्रले उत्साहजनक प्रगति गर्ने प्रक्षेपण गरिएको हो ।

तथ्याङ्कअनुसार यस क्षेत्रको आर्थिक वृद्धिदर ५.५३ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । जबकि, देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी को आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसरी हेर्दा सूचना तथा सञ्चार क्षेत्रको वृद्धिदर राष्ट्रिय औसतभन्दा १.६८ प्रतिशतले बढी छ । 

विगत दुई वर्षको तुलनामा पनि यस आवमा सूचना तथा सञ्चार क्षेत्रमा राम्रो सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ४.८८ प्रतिशत र आर्थिक वर्ष २०८०/८१ मा ४.९१ प्रतिशत थियो । यस वर्ष कम्प्युटर प्रोग्रामिङ, इन्फर्मेसन सर्भिस, इन्टरनेट सेवा प्रदायक (आईएसपी) को व्यावसायिक विस्तार र ताररहित सञ्चार सेवामा भएको बढोत्तरीका कारण यो क्षेत्र चलायमान भएको कार्यालयको विश्लेषण छ ।

विद्युत र ग्यासमा उच्च वृद्धिदर

चालु आर्थिक वर्षमा सबैभन्दा बढी मूल्य अभिवृद्धि वृद्धिदर विद्युत् तथा ग्यास क्षेत्रमा हुने अनुमान गरिएको छ । नयाँ आयोजनाहरूबाट विद्युत् उत्पादन सुरु भई उत्पादन क्षमता बढेको, प्रसारण संरचना विस्तार भएको र उपभोगमा समेत वृद्धि भएकाले यस क्षेत्रमा २०.९३ प्रतिशतको उच्च वृद्धिदर हुने देखिएको हो । गत आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर १२.७१ प्रतिशत र आव २०८०/८१ मा ११.६१ प्रतिशत थियो ।

यस्तै, बैंक निक्षेप र बिमा शुल्क बढेका कारण वित्तीय तथा बिमा क्षेत्रमा ९.१६ प्रतिशत वृद्धि हुने अनुमान छ । तेस्रो स्थानमा रहेको यातायात तथा भण्डारण क्षेत्रमा पर्यटक र सवारी साधनको सङ्ख्या बढेकाले ५.७९ प्रतिशतको वृद्धि हुने देखिएको छ । सूचना प्रविधि क्षेत्र भने वृद्धिदरका आधारमा चौथो स्थानमा छ ।

तथ्याङ्कअनुसार सबैभन्दा कम वृद्धिदर सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा ०.२३ प्रतिशत रहनेछ । त्यस्तै शिक्षामा १.५० प्रतिशत र कृषि, वन तथा मत्स्य क्षेत्रमा १.५८ प्रतिशत मूल्य अभिवृद्धि वृद्धिदर रहने प्रारम्भिक अनुमान छ ।

जीडीपीमा सूचना प्रविधि क्षेत्रको १.९३ प्रतिशत योगदान

प्रारम्भिक विवरणअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यससँगै प्रतिव्यक्ति जीडीपी एक हजार ५१३ अमेरिकी डलर पुग्ने देखिएको छ । कुल जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रले १.९३ प्रतिशत योगदान पुर्‍याउने प्रक्षेपण गरिएको छ ।

जीडीपीमा सबैभन्दा धेरै योगदान दिने क्षेत्र भने कृषि, वन तथा मत्स्य नै रहनेछ, जसको हिस्सा २४.०३ प्रतिशत रहने अनुमान छ । अन्य क्षेत्रहरूमा थोक तथा खुद्रा व्यापारले १४.०९ प्रतिशत, शिक्षाले ९.२२ प्रतिशत र घरजग्गा कारोबारले ८.०७ प्रतिशत योगदान दिने अनुमान छ ।

यस्तै, सार्वजनिक प्रशासन तथा रक्षाले ७.९२ प्रतिशत, यातायात तथा भण्डारणले ७.२३ प्रतिशत, वित्तीय तथा बीमाले ६.७२ प्रतिशत, उद्योगले ५.७२ प्रतिशत र निर्माण क्षेत्रले ५.५२ प्रतिशत योगदान पुर्‍याउने देखिएको छ । आवास तथा भोजन सेवाको हिस्सा २.४४ प्रतिशत र विद्युत् तथा ग्यासको योगदान २.०८ प्रतिशत रहने अनुमान छ ।

चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण (रेमिटेन्स) मा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ मा जीडीपीको ३३.०२ प्रतिशत हिस्सा विप्रेषणले ओगट्ने प्रारम्भिक अनुमान छ । आव २०८१/८२ मा जीडीपीमा रेमिटेन्सको हिस्सा २७.८० प्रतिशत र आव २०८०/८१ मा २५.०९ प्रतिशत थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८३ १९:४९