टेलिकमको ब्याकबोन ट्रान्समिसन परियोजना: ५५ रुटको सर्भे सकियो, यी रुटमा बिछ्याइँदै छ फाइबर
बैशाख १९, २०८३ १७:१५
सांकेतिक तस्बिर
काठमाडौँ । नेपाल टेलिकमले ‘ब्याकबोन ट्रान्समिसन परियोजना’ अन्तर्गत चालु आर्थिक वर्षमा विभिन्न ५५ रुटमा सर्भे सम्पन्न गरेको छ । कम्पनीको ब्याकबोन प्रसारण निर्देशनालयमार्फत सञ्चालित परियोजना अन्तर्गत यी रुटमा कुल एक हजार ९५८ किलोमिटर अप्टिकल फाइबर केबलको सर्भे सकिएको टेलिकमले जनाएको छ ।
कम्पनीका अनुसार लमजुङको बेसीसहरदेखि मनाङको खान्सर-चामे (१२० किलोमिटर) रुटमा एडीएसएस फाइबर विस्तारको काम सकिएको छ । त्यस्तै, तराई क्षेत्रमा सिराहा-राजविराज (५७ किलोमिटर) र नवलपरासीको गैँडाकोट-दुम्किबास (५५ किलोमिटर) खण्डमा जमिनमुनि फाइबर बिछ्याउने काम पूरा भएको छ ।
हाल बुटवल-दुम्किबास (५५ किलोमिटर) खण्डमा जमिनमुनि फाइबर बिछ्याउने काम जारी रहेको टेलिकमले जनाएको छ ।
टेलिकमले अन्य सरकारी निकायहरूसँग समन्वय गरी रणनीतिक महत्त्वका सडकहरूमा पनि फाइबर विस्तार गर्ने जिम्मा पाएको छ । यसअन्तर्गत नेपाली सेनासँगको सहकार्यमा काठमाडौँ-तराई द्रुतमार्गको ७४ किलोमिटर खण्डमा जमिनमुनि फाइबर विस्तार भइरहेको छ भने सडक विभागसँगको सहकार्यमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कमलामाई-बागमती र बुटवल-गोरुसिङ्गे खण्डको १२५ किलोमिटरमा विस्तार कार्य जारी रहेको छ ।
अर्कोतर्फ बागमती-पथलैया, हेटौँडा-नारायणगढ र गोरुसिङ्गे-चन्द्रौटा खण्डको ११६ किलोमिटर रुटका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढेको कम्पनीले जनाएको छ ।
विकट हुम्ला जिल्लालाई फाइबर नेटवर्कमा जोड्न बाजुराको पिलुचौरदेखि हुम्लाको ताँजाकोटसम्म २९.५ किलोमिटर खण्डमा विस्तृत सर्भे र विस्तार कार्य अघि बढाइएको कम्पनीले उल्लेख गरेको छ ।
यसैगरी, कोशी र मधेश प्रदेशका हुलाकी राजमार्ग क्षेत्रमा २०५ किलोमिटर जमिनमुनि र १७५ किलोमिटर पोलमा टाँगिने एडीएसएस फाइबर विस्तारका लागि बोलपत्र आह्वान गरिएको छ । थप ४०० किलोमिटर एडीएसएस फाइबर विस्तारका लागि पनि टेन्डर प्रक्रियाको तयारी भइरहेको कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८३ १८:५०
