सरकारले अनुमति दिए प्रविधि विस्तारमा ३८ अर्ब लगानी गर्न तयार छौँ: एनसेल सीईओ
बैशाख १९, २०८३ १८:२९
काठमाडौँ । मोबाइल सेवाप्रदायक एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले नेपालमा सञ्चार प्रविधिको क्षेत्रमा ठुलो खाडल रहेको भन्दै यसलाई सुधार्न एनसेल थप २५ करोड अमेरिकी डलर (करिब ३८ अर्ब रुपैयाँ) सम्म लगानी गर्न तयार रहेको बताएका छन् । शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सीईओ फोलेले सरकार र नियामक निकायले आवश्यक अनुमति दिएमा एनसेल ठुलो लगानी गर्न प्रतिबद्ध रहेको सुनाए ।
विश्व अहिले सिक्सजी प्रविधिको बारेमा सोच्न थालिसकेको अवस्थामा नेपाल अझै पनि आधारभूत प्रविधिमै अल्झिएको फोलेको टिप्पणी थियो । “नेपालमा अहिले पनि लाखौँ ग्राहक टुजी मोबाइल सेटमा छन् । हाम्रो फोरजी नेटवर्क पनि तुलनात्मक रूपमा कमजोर छ,” उनले भने, “डिजिटल कनेक्टिभिटी अब ऐच्छिक विषय मात्र रहेन, यो विकासको जग नै हो ।”
एनसेलले फाइभजी प्रविधिको परीक्षणका लागि तीन पटकसम्म आवेदन दिएको तर अझै अनुमति नपाएको सीईओ फोलेले गुनासो गरे । उनले नेपालमा दोस्रो दर्जाको नभई वास्तविक ‘स्ट्यान्ड एलोन फाइभजी’ नेटवर्क सञ्चालन गरेर ग्राहकलाई उत्कृष्ट अनुभव दिन चाहेको बताए ।
एनसेलको वित्तीय अवस्था निकै बलियो रहेको भन्दै उनले आफ्नो नेटवर्कमा रहेको ‘टेक्नोलोजी डेट’ (प्राविधिक खाडल) पुर्न र नयाँ क्षमताहरू विकास गर्न करिब ३८ अर्ब रुपैयाँसम्म पुँजी लगानी गर्न तयार रहेको बताए ।
“हाम्रो आवश्यकता पूरा गर्न र प्रविधि सुधारका लागि मात्रै हामी २० देखि २५ करोड अमेरिकी डलर लगानी गर्न तयार छौँ । यसका लागि केवल सरकार र नियामक निकायको अनुमति आवश्यक छ,” उनले भने ।
नेपालमा वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउनका लागि बलियो डिजिटल पूर्वाधार अनिवार्य सर्त भएको फोलेको तर्क छ । प्रविधिमा गरिने लगानीले नै नेपाल सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मद्दत गर्ने उनले बताए । “एफडीआई भित्र्याउन र दक्ष युवाहरूलाई स्वदेशमै काम गर्ने वातावरण बनाउन बलियो डिजिटल पूर्वाधार चाहिन्छ । यसमा एनसेलले लामो समयदेखि लगानी गर्दै आएको छ,” उनले भने ।
आर्थिक रूपान्तरण कुनै एउटा नीति वा लगानीबाट मात्र सम्भव नहुने भन्दै उनले निजी क्षेत्र र सरकारबिच दिगो सहकार्य हुनुपर्ने बताए । नेपालको विशिष्ट भूगोल र युवा जनसंख्या डिजिटल अर्थतन्त्रका लागि ठुलो अवसर भएको बताउँदै उनले प्रविधिमा हुने परिवर्तनलाई आत्मसात् गर्न ढिला गर्न नहुनेमा जोड दिए ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८३ १८:४३
