‘ट्रु कलर’ मा साइबर ब्युरोको नाम राखेर ठगी धन्दा गर्ने गिरोह धरानबाट पक्राउ
बैशाख २१, २०८३ १८:५७
फाइल तस्बिर
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगीमा संलग्न गिरोहका चार जना पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्युरोले इलाका प्रहरी कार्यालय धरानसँगको समन्वयमा आइतबार उनीहरूलाई धरानबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका-३ का ३० वर्षीय दीपक लिम्बु, सुनसरीको धरान उपमहानगरपालिका-९ का २१ वर्षीय सौरभ भुजेल, धरान उपमहानगरपालिका-१३ का २८ वर्षीय सजल राई र इनरुवा नगरपालिका-६ का २४ वर्षीय सृजन थापा रहेका छन् ।
पक्राउ परेकाहरूलाई आइतबार राति नै काठमाडौँ ल्याइएको साइबर ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दिलीप कुमार गिरीले जानकारी दिए । उनीहरूविरुद्ध विद्युतीय माध्यमबाट हुने ठगी (साइबर अपराध) को कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको उनले बताए ।
प्रवक्ता गिरीका अनुसार यो गिरोहले टेलिग्राममार्फत पहिले नै ठगीमा परेका व्यक्तिहरूलाई पुनः निशाना बनाउने गरेको थियो । "उनीहरूले टेलिग्राम स्क्याममा परेका पीडितहरूलाई साइबर ब्युरोको अधिकारी बनेर फोन गर्ने र विश्वास दिलाउनका लागि ‘ट्रु कलर’ (Truecaller) एपमा समेत आफ्नो नम्बरमा ‘साइबर ब्युरो’ नाम देखिने बनाएका थिए," गिरीले भने ।
आरोपीहरूले पीडितलाई “तपाईँ पनि कारबाहीमा पर्न सक्नुहुन्छ” भन्दै डर देखाउने र कानुनी प्रक्रियाबाट बच्नका लागि रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडितहरूले यसबारे ब्युरोलाई जानकारी दिएपछि प्राविधिक अनुसन्धानमार्फत उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूले ठगीमा परेका व्यक्तिहरूको विवरण कहाँबाट प्राप्त गरे र हालसम्म कति रकम ठगी गरे भन्ने विषयमा ब्युरोले गहिरो अनुसन्धान गरिरहेको छ । साथै, यो गिरोह यसअघि अन्य किसिमका ठगी वा आपराधिक गतिविधिमा संलग्न भए/नभएको बारे पनि अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।
पछिल्लो अध्यावधिक: बैशाख २१, २०८३ २०:१
