close

फ्याक्टचेकः प्लेनबाट सगरमाथा आरोही देखिएको भन्दै अन्तर्राष्ट्रिय रूपमा भाइरल भिडिओ नक्कली

हिक्मत आचार्य हिक्मत आचार्य

बैशाख २५, २०८३ १६:५८

फ्याक्टचेकः प्लेनबाट सगरमाथा आरोही देखिएको भन्दै अन्तर्राष्ट्रिय रूपमा भाइरल भिडिओ नक्कली

काठमाडौँ । केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडिओ व्यापक फैलिएको छ, जसमा विमानको झ्यालबाट सगरमाथा आरोहण गरिरहेका आरोही देखिएको दाबी गरिएको छ । तर, टेकपाना फ्याक्टचेक डेस्कको तथ्यजाँचमा यो दाबी झुटो पुष्टि भएको छ । 

नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उडिरहेको विमानबाट यसरी आरोही देखिनु असम्भव छ । प्राविधिक विश्लेषण, एआई टुलको परीक्षण र असान्दर्भिक अडियोको प्रयोगले यो भिडिओ कृत्रिम रूपमा सम्पादन गरेर बनाइएको प्रमाणित हुन्छ । 

दाबी 

२९ अप्रिल २०२६ मा टिकटक प्रयोगकर्ता ‘nabeelsarwer’ ले एक भिडिओ राखे । भिडिओको क्याप्सनमा अङ्ग्रेजीमा लेखिएको छ, “A passenger captured climbers scaling Mount Everest from the airplane window.” । अर्थात ‘एक यात्रुले विमानको झ्यालबाट सगरमाथा आरोहण गरिरहेका आरोहीहरूको दृश्य कैद गरेका छन्’ । उक्त १० सेकेन्डको भिडिओमा टेक्स्ट ओभरले राखिएको छ । जहाँ ‘यात्रुले प्लेनको झ्यालबाटै सगरमाथा आरोहण गरिरहेका आरोहीको भिडिओ खिचेको’ दाबी गरिएको छ ।

भिडिओमा एक यात्रुले सबैभन्दा पहिले आफ्नो अनुहार क्यामेरामा देखाएका छन् । त्यसपछि झ्यालबाट बाहिरको दृश्य देखाइएको छ । अधिकांश भागमा बादल देखिएको छ भने केही भागमा मानिसहरू हिमालमा चढिरहेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा एक करोड ३० लाख बढी भ्युज आएको छ । चार लाख ८ हजार बढी लाइक रहेको सो भिडिओ ४५ हजार पटक शेयर भएको छ भने २१ हजार बढी अकाउन्टले सेभ गरेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ र स्क्रिनरेकर्ड ।

अनुसन्धान

भिडिओबाट किफ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्दा उक्त भिडिओ अन्य विभिन्न अकाउन्टबाट शेयर भएको पाइयो । एक्समा ‘BOODAK BARU’ नामका प्रयोगकर्ताले कुनै पनि क्याप्सन नराखी उक्त भिडिओ पोस्ट गरेका छन् । हेर्नुहोस् भिडिओ । 

 

त्यस्तै इन्स्टाग्राममा ‘captain.forozgandhipilot’ नामका प्रयोगकर्ताले पनि उक्त भिडिओ राखेका छन् । उनले पनि यात्रुले सगरमाथाको दृश्य प्लेनबाट खिचेको दाबी गरेका छन् । र, त्यही भिडिओलाई बढाईचढाई लेखेका छन् । हेर्नुहोस् भिडिओ । 

 

इन्स्टाग्राममै ‘tbh.newsbd’ नामको अकाउन्टले पनि प्लेनको झ्यालबाटै सगमाथा आरोही देखिएको दाबीसहितको भिडिओ पोस्ट गरेको देखियो । हेर्नुहोस् भिडिओ

पाकिस्तानबाट सञ्चालित १० लाख बढी सब्स्क्राइबर रहेको ‘GTV NETWORK HD’ नामको युट्युब च्यानलले पनि सो भिडिओ राखेको छ । हेर्नुहोस् भिडिओ

फेसबुकमा ‘Words_worth_Billions’ नामको अकाउन्टले पनि सो भिडिओ राखेको छ । हेर्नुहोस् भिडिओ

यस विषयमा तथ्यजाँच गर्ने क्रममा ‘द डेली टङ’ नामको इन्स्टाग्राम अकाउन्टले यो भिडिओ फेक हुने उल्लेख गरेको छ । जसरी भिडिओमा सबैभन्दा पहिले प्लेनको दृश्य देखिन्छ र त्यसपछि सगरमाथाको भनिएको दृश्य देखिन्छ । ती दुई दृश्यबिच तालमेल नमिलेको उक्त अकाउन्टको दाबी छ । साथै सो अकाउन्टले भौतिक विज्ञानको तर्क पनि दिएको छ । हेर्नुहोस् पोस्ट । 

हामीले तथ्यजाँचका क्रममा यस विषयमा थप बुझ्नका लागि नागरिक उड्ड्यन प्राधिकरण (क्यान)का प्रवक्ता ज्ञानेन्द्र भुललाई सम्पर्क गर्‍यौं । उनलाई उक्त भिडिओ उपलब्ध गराएर त्यसबारे क्यानको धारण के छ भन्ने बुझ्न खोज्यौं । भुलले यो भिडिओ नक्कली (एडिटेड) हुनसक्ने बताए ।

उनले भने, “यो हेर्दै नक्कली छ । नेपालमा सामान्यतः उद्धार प्रयोजनका लागि हेलिकप्टरहरू क्याम्प टुसम्म मात्र उड्न पाउँछन् । विमानहरूले माउन्टेन फ्लाइटको सेवा पनि दिइरहेका हुन्छन् । त्यसमा प्लेनबाटै हिमालहरू देखिन्छन् । तर, जुन उचाइमा प्लेन उड्छन् त्यहाँबाट यात्रु देखिने भन्ने सम्भव नै हुँदैन । त्यहीमाथि नेपालमा माउन्टेन फ्लाइटका क्रममा पहाड यति नजिक देखिन सम्भव हुँदैन । अनि बादल नजिक हुँदा भीएफआर (भिज्युअल फ्लाइट रुल्स) अपरेसन सम्भव हुँदैन ।”

हामीले हाइभ मोडरेसन टुलबाट विभिन्न किफ्रेम निकालेर हेर्‍यौं । त्यस क्रममा सुरुमा देखिने युवकको फोटो एआई सिर्जित हुने सम्भावना ७३ प्रतिशतभन्दा बढी देखियो । 

झट्ट हेर्दा ती युवकको औंला अस्वाभाविक देखिन्छन् । त्यस्तै प्लेनको भनिएको भाग पनि अस्वाभाविक नै देखिन्छ । त्यसपछि त्यहाँ देखिने आरोहीको भनिएको फोटो एआई सिर्जित हुने सम्भावना ९८.६ प्रतिशत देखियो ।

 

समग्र भिडिओ नै एआई सिर्जित हुने सम्भावना हाइभमोडरेसन टुलले ६८.४ प्रतिशत देखायो । 

यसमा अडियो पनि छ । जहाँ अङ्ग्रेजीमा “If this is your final destination, your checked bags can be claimed at carousel number five. For those customers that need special assistance, we ask that you please remain…” भनिएको छ । अर्थात् ‘यदि यो तपाईंको अन्तिम गन्तव्य हो भने, तपाईंले जाँच गर्नुभएको ब्याग पाँच नम्बरको क्यारोसेलमा प्राप्त गर्न सक्नुहुनेछ । विशेष सहयोग आवश्यक पर्ने यात्रुलाई हामी कृपया आफ्नो स्थानमै बसिरहन अनुरोध गर्दछौं…” । यो भनेको विमान अवतरण गर्दा सुनिने आवाज हो । त्यतिका उचाइमा उडिरहेको विमानमा यो अस्वाभाविक अडियो सुनिनु शंकास्पद छ । अर्थात् अर्कै अडियोलाई यस भिडिओमा प्रयोग गरेको देखिन्छ । 

अब भिडिओलाई प्राविधिक रूपमा विश्लेषण गरौं । यो जम्मा ९ सेकेन्डको भिडिओ हो । यसको पूर्ण भिडिओ वा योभन्दा लामो अर्को भिडिओ फेला नै परेको छैन । 

यस भिडिओलाई गहिरिएर हेर्दा यसमा धेरै प्राविधिक त्रुटि र अस्वाभाविक दृश्यहरू देखिन्छन् जसले यो भिडिओ कृत्रिम हुने सङ्केत दिन्छ । 

युवकले झ्यालबाट बाहिर देखाउनेबित्तिकै भिडिओको फ्रेम र लाइटिङमा जुन किसिमको आकस्मिक परिवर्तन आउँछ त्यसले यो दृश्य स्वाभाविक नभई सम्पादन गरिएको प्रस्ट पार्छ । यसलाई प्राविधिक रूपमा लेयरिङ वा मास्किङ भनिन्छ । सबैभन्दा पत्याउनै नसकिने कुरा त के छ भने बाक्लो बादलले ढाकेको अवस्थामा क्यामेरा जुम गर्दा बादल छिचोलेर भित्रका आरोही प्रस्ट देखिनु प्राकृतिक र प्राविधिक दुवै रूपले असम्भव प्रायः देखिन्छ । 

सामान्यतया जुम गर्दा अगाडि रहेको बादल नै ठुलो देखिनुपर्ने हो, तर यहाँ बादलले छेकेको भागभित्रको दृश्य देखिनुले यो कुनै ड्रोन वा प्रोफेसनल क्यामेराको फुटेजलाई जोडिएको बुझिन्छ । यी तमाम कमजोरीले यो भिडिओ वास्तविक नभएर एडिट गरिएको पुष्टि गर्छ । 

यसबाहेक हामीले यस भिडिओका बारेमा तयार पारिएका समाचार वा अन्य जानकारी खोज्यौं । तर, कुनै पनि व्यावसायिक सञ्चार माध्यममा यो विषय नआएको देखियो । त्यसका साथै यो कहिलेको हो, कसले खिचेको हो भन्ने जानकारी पनि उपलब्ध छैन । 

साथै यस विषयसँग जोडिएको १० सेकेन्डभन्दा लामो भिडिओ कतै पनि फेला परेन । यी विभिन्न तथ्यबाट ‘विमानभित्रका यात्रुले सगरमाथा आरोहण गरिरहेका आरोहीको भिडिओ खिचे’ भन्ने दाबी ‘फेक’ रहेको पुष्टि हुन्छ । 

दाबी

विमानको झ्यालबाट एक यात्रुले सगरमाथा आरोहण गरिरहेका आरोहीको भिडिओ खिच्न सफल भए । 

दाबीकर्ता

‘nabeelsarwer’ नामका टिकटक प्रयोगकर्ता, ‘BOODAK BARU’ नामका एक्स प्रयोगकर्ता, ‘captain.forozgandhipilot’ र ‘tbh.newsbd’ नामका इन्स्टाग्राम प्रयोगकर्ता, ‘GTV NETWORK HD’ नामको युट्युब च्यानल र ‘Words_worth_Billions’ नामको फेसबुक पेज लगायत । 

तथ्य

क्यानको भनाइ: नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उडिरहेको विमानको उचाइबाट हिमालमा रहेका आरोही देखिनु असम्भव छ । साथै, बादल नजिक हुँदा भिज्युअल फ्लाइट रुल्स अपरेसन सम्भव हुँदैन ।

एआईको प्रयोग: हाइभ मोडरेसन टुलबाट परीक्षण गर्दा भिडिओमा देखिएको युवकको अनुहार (७३% भन्दा बढी) र आरोहीको दृश्य (९८.६%) एआई सिर्जित भएको पुष्टि भएको छ । समग्र भिडिओ नै एआईबाट बनेको सम्भावना ६८.४ प्रतिशत देखिएको छ । 

असान्दर्भिक अडियो: भिडिओमा विमान अवतरण (ल्यान्डिङ) गरेपछि ब्यागेज लिने बेलामा हुने घोषणा राखिएको छ, जुन उडिरहेको प्लेनमा सुनिने आवाज होइन । 

प्राविधिक त्रुटि: भिडिओको फ्रेम र लाइटिङमा आकस्मिक परिवर्तन (लेयरिङ वा मास्किङ) भएको छ । बाक्लो बादल जुम गरेर छिचोल्दै आरोही स्पष्ट देखिनु प्राकृतिक र प्राविधिक दुवै रूपले असम्भव छ । 

स्रोतको अभाव: यस विषयमा कुनै पनि व्यावसायिक सञ्चारमाध्यममा समाचार नआएको, यो कहिले र कसले खिचेको भन्ने जानकारी नभएको र १० सेकेन्डभन्दा लामो भिडिओ कतै पनि उपलब्ध छैन ।

निष्कर्ष 

विमानको झ्यालबाट सगरमाथा आरोही देखिएको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडिओ भ्रामक हो ।
 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, ​युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २५, २०८३ १७:२७