close

सौर्य ऊर्जा लगायतका क्षेत्रमा अब स्थानीय तह आफैँले कम्पनी खोल्न वा शेयर खरिद गर्न सक्ने

टेकपाना टेकपाना

बैशाख २६, २०८३ १०:१०

सौर्य ऊर्जा लगायतका क्षेत्रमा अब स्थानीय तह आफैँले कम्पनी खोल्न वा शेयर खरिद गर्न सक्ने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहहरूलाई आफैँ कम्पनी दर्ता गर्न र अन्य कम्पनीको शेयर खरिद गरी स्वामित्व लिन सक्ने बाटो खुला गरिदिएको छ । एक सूचना जारी गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयले सौर्य ऊर्जा लगायतका विभिन्न क्षेत्रमा स्थानीय तहहरूबाट कम्पनी स्थापना र शेयर लगानीका लागि अनुरोध भई आएकाले यस्तो निर्णय गरिएको जनाएको छ ।

कार्यालयको २०८३ वैशाख २५ गतेको निर्णयानुसार स्थानीय तहले निश्चित सर्तहरू पूरा गरी व्यावसायिक क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था गरिएको हो ।

कार्यालयले स्थानीय तहले कम्पनी दर्ता गर्न वा शेयर खरिद गर्नका लागि मुख्य दुईवटा सर्तहरू पालना गर्नुपर्ने उल्लेख गरेको छ । यसअन्तर्गत सम्बन्धित स्थानीय तहले यस विषयमा आफ्नै कानुन बनाएर आधिकारिक निर्णय गर्नुपर्नेछ । साथै, कम्पनी दर्ता र सञ्चालनको सम्पूर्ण प्रक्रिया कम्पनी ऐन २०६३ र प्रचलित कानुन बमोजिम हुनुपर्नेछ ।

यसअघि स्थानीय तहहरूले व्यावसायिक कम्पनीमा लगानी गर्ने वा आफैँ कम्पनी खोल्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नहुँदा अलमल हुँदै आएको थियो । विशेषगरी नवीकरणीय ऊर्जा र उत्पादनमूलक क्षेत्रमा प्रत्यक्ष संलग्न हुन चाहने पालिकाहरूका लागि यो निर्णयले थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८३ १०:१०