सडक छेउमा निहुरो बेच्ने वृद्धालाई सेनाले हटाएको भिडिओ भाइरल, के हो वास्तविकता ?
बैशाख ३१, २०८३ २१:१३
काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा निहुरो बेच्दै गरेकी एक वृद्धामाथि नेपाली सेनाले गरेको व्यवहारको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘आरपीए भ्लग’ नामक फेसबुक पेजमार्फत राजन आचार्यले बुधबार सार्वजनिक गरेका दुई ओटा भिडिओलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
भिडिओमा एक युवकले ती वृद्धासँग निहुरो किन्ने बहानामा कुराकानी गरिरहेको देखिन्छ । कुराकानीका क्रममा वृद्धाले आफू सुकुम्वासी टोलमा बस्ने र जीविकोपार्जनका लागि जङ्गलबाट निहुरो टिपेर ल्याएको बताउँछिन् ।
सोही क्रममा नजिकै नेपाली सेनाको गाडी देखेपछि उनी त्रसित हुँदै ‘आर्मी आए’ भन्दै हतार-हतार निहुरो समेट्न खोज्छिन् । त्यसलगत्तै आएका सेनाका कर्मचारीले उनलाई त्यहाँबाट हट्न लगाउँछन् र उनको निहुरो नियन्त्रणमा लिन्छन् ।
पीडित महिलाले आफूले गुजाराका लागि जम्मा १० मुठा मात्र निहुरो ल्याएको भन्दै रोइकराई गरे पनि सेनाले उनलाई त्यहाँ बस्न दिँदैन । भिडिओ खिच्ने युवकले पनि राज्यले गरिबको समस्या बुझ्नुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छन् । पछि उनै युवकले वृद्धालाई ५०० रुपैयाँ आर्थिक सहयोग गरेको समेत भिडिओमा देखिन्छ ।
भिडिओ सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेपाली सेनाको चर्को आलोचना भइरहेको छ । धेरैले गरिब र असहाय महिलाको रोजीरोटी खोसेको भन्दै सेनाको व्यवहारलाई ‘अति’ भएको टिप्पणी गरेका छन् । तर, केहीले भने उक्त क्षेत्र निकुञ्जको संवेदनशील क्षेत्र भएकाले सुरक्षाका कारण यसो गरिएको हुनसक्ने तर्क गरेका छन् ।
यस विषयमा चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले सुरक्षा संवेदनशीलताका कारण त्यसो गरिएको दाबी गरेका छन् । टेकपानासँग कुरा गर्दै उनले भने, “भाइरल भएको भिडिओ टिकौलीदेखि गोन्द्राङसम्मको सडक खण्डको हो । यो निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने महत्त्वपूर्ण ‘जैविक मार्ग’ हो । यहाँ बाघ, गैँडा जस्ता हिंस्रक जङ्गली जनावरको निरन्तर आवतजावत हुने भएकाले मानवीय सुरक्षाका हिसाबले निकै जोखिमपूर्ण छ।”
उनका अनुसार उक्त क्षेत्रमा गाडी रोक्न वा पैदल हिँड्न समेत निषेध गरिएको छ। “ती महिलाको ज्यानकै जोखिम हुने भएकाले सुरक्षाकर्मीले उनलाई त्यहाँबाट हटाएका हुन्, यसलाई अन्यथा लिनु हुँदैन,” उनले थपे ।
साथै, सूचना अधिकारी थापाले बिना अनुमति निकुञ्ज वा मध्यवर्ती वन क्षेत्रमा पसेर वन पैदावार सङ्कलन गर्नु र राजमार्गको जोखिमयुक्त क्षेत्रमा बसेर व्यापार गर्नु दुवै गैरकानुनी भएको जानकारी दिए । मानवीय सुरक्षा र वन्यजन्तुको अवरोध रोक्न सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी मात्र पूरा गरेको निकुञ्जको दाबी छ ।
भिडिओ सार्वजनिक गर्दै भ्लगर राजन आचार्यले राज्य र सेनाको व्यवहारप्रति प्रश्न उठाएका छन् । उनले भनेका छन्, “बाटोमा तरकारी बेच्न बसेको भनेर आर्मीले उहाँको तरकारी खोसेर लग्नुभयो । उहाँहरू गरिब हुनुहुन्छ र यसैबाट आफ्नो घरपरिवार चलाइरहनुभएको छ । अब उहाँहरूलाई पनि सम्बन्धित उपयुक्त ठाउँमा बसेर व्यापार गर्ने अनुमति दिनुपर्यो ।”
सामाजिक सञ्जालमा यो भिडिओलाई लएर मिश्रित प्रतिक्रिया आएका छन् । धेरैले सेनाको व्यवहारलाई निर्दयी र लुटतन्त्रको संज्ञा दिएका छन् । प्रयोगकर्ताहरूले "ठुला तस्करलाई छोडेर दुई मुठा निहुरो बेच्ने गरिबलाई दुख दिइएको" भन्दै आक्रोश व्यक्त गरेका छन् । केहीले भोको पेटका अगाडि वन्यजन्तुको डर गौण हुने भन्दै राज्यले विकल्प दिनुपर्ने माग गरेका छन् ।
अर्काथरी प्रयोगकर्ताहरूले भने सेनाले वृद्धाको ज्यान जोगाउन उनलाई हटाएको तर्क गरेका छन् । "निकुञ्जभित्र जङ्गली जनावरको आक्रमण भए यसको जिम्मा कसले लिने ?" भन्दै एक प्रयोगकर्ताले भ्लगरले डलर कमाउनका लागि नियम र सुरक्षालाई बेवास्ता गरी इमोसनल भिडिओ बनाएको आरोप लगाएका छन् । कतिपयले त राजमार्गमा ८०-९० को रफ्तारमा गाडी गुड्ने हुँदा त्यहाँ व्यापार गर्नु दुर्घटना निम्त्याउनु भएको टिप्पणी गरेका छन् ।
सुरक्षा निकायले सुरक्षाकै लागि सामग्री हटाएको दाबी गरे पनि, विकल्पविहीन गरिबमाथि सेनाको व्यवहार मानवीय संवेदना विपरीत रहेको भन्दै सामाजिक सञ्जालका धेरैजसो प्रयोगकर्ता असन्तुष्ट देखिएका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ २१:१३
