close

एआई मोडेल ट्रेनिङका लागि जीपीयू भाडामा दिने नेपाली स्टार्टअप ‘अङ्क’

रञ्जिता उप्रेती रञ्जिता उप्रेती

जेठ ३, २०८३ ९:८

एआई मोडेल ट्रेनिङका लागि जीपीयू भाडामा दिने नेपाली स्टार्टअप ‘अङ्क’

काठमाडौँ । पछिल्लो समय नेपालमा एआईसम्बन्धी स्टार्टअप र विद्यार्थीहरू नयाँ नयाँ प्रोजेक्टमा काम गरिरहेका छन् । तर, एआई मोडेल बनाउन शक्तिशाली कम्प्युटर डिभाइस आवश्यक पर्छ । यस्ता पूर्वाधार खरीद र सञ्चालन गर्न निकै महँगो पर्ने गरेको छ । 

महँगो पूर्वाधारमा पहुँच नहुँदा इनोभेसन गर्दा आउने समस्या समाधान गर्न नेपालमा आधारित रहेको स्टार्टअप अंक (एक्सिलेरेटेड कम्प्युटिङ) ले इन्फ्रास्ट्रक्चर एज अ सर्भिस (IaaS) सेवा सुरु गरेको छ । कम्पनीका सह-संस्थापक अमित रेग्मीका अनुसार भक्तपुरको सुर्यविनायकको सिपाडोलमा कोठा भाडामा लिएर १९ वटा कम्प्युटर राखिएका छन् ।

विद्यार्थी र एआई स्टार्टअपले अङ्कको उच्च क्षमतायुक्त यी जीपीयू पूर्वाधारलाई रिमोट एक्सेस मार्फत सुलभ दरमा भाडामा लिएर आफ्ना एआई मोडेलहरू तालिम दिन र जटिल इन्जिनियरिङ अनुसन्धान गर्न सक्छन् ।

यो पूर्वाधारको सुरुवात व्यापारिक योजनाभन्दा पनि आन्तरिक आवश्यकताबाट भएको हो । रेग्मी भन्छन्, “अंकले मेकानिकल क्षेत्रको सिमुलेसनका लागि एआई मोडेल बनाउने काम गर्छ । साधारण डेस्कटप कम्प्युटरहरूले एआई ट्रेनिङको भार थाम्न सक्दैनन् । त्यसैले आफ्नै लागि शक्तिशाली जीपीयू (ग्राफिक्स प्रोसेसिङ युनिट) र सर्भरहरू जोड्न थाल्यौँ ।”

आवश्यकता अनुसार प्रविधि थप्दै जाने क्रममा बिस्तारै कम्पनीसँग पूर्वाधारको सङ्ख्या बढ्दै जान थाल्यो । यसै क्रममा एआईमा काम गरिरहेका नेपालका अन्य स्टार्टअप र विद्यार्थीले शक्तिशाली जीपीयू सहितका पूर्वाधार सहजै पाउन नसकेको महसुस उनीहरूले गरे । त्यसैले कम्पनीले आफ्ना कम्प्युट पूर्वाधारलाई इन्फ्रास्ट्रक्चर एज अ सर्भिस मोडेलमा बिस्तार गर्ने निर्णय गरेको उनी बताउँछन् । 

 

साँढे ३ करोड रुपैयाँ भन्दा बढीको पूर्वाधार

कम्पनीका अनुसार हाल अङ्कसँग  नेपाल र जापानमा गरी दुई स्थानमा शक्तिशाली कम्प्युटिङ स्रोतहरू उपलब्ध छन् । कम्पनीकी चिफ अपरेटिङ अफिसर शुभाङ्गी अधिकारीका अनुसार नेपालमा कूल १९ ओटा कम्युट डिभाइस राखिएका छन् । जसमा  हालै बजारमा आएको एनभिडियाको सबैभन्दा शक्तिशाली जीपीयू मध्ये एक मानिने RTX 5090 मात्रै आठ वटा छ ।

उच्च स्तरको कम्प्युटेसन र एआई कामका लागि उपयुक्त हुने RTX 5080 चार वटा, एआई रिसर्च तथा इन्जिनियरिङका लागि RTX 3090 पाँच वटा र सर्भर होस्टिङका लागि दुई वटा म्याक मिनी राखिएका छन् । 

यस्तै जापानमा ठुला एआई मोडेल र इन्टरप्राइज लेभलको कामको लागि प्रयोग गर्न उपयुक्त हुने चार वटा DGX Spark Systems युनिट राखिएका छन् । जापानमै NVIDIA RTX 6000 Pro समेत थप गर्ने योजना बनाइएको छ । 

नेपालमा ४० केभीएको इन्भर्टर र २५ केभीए क्षमताको डेडिकेटेड बिजुली लाइन जडान गरिएको छ । जीपीयू चल्दा उत्पन्न हुने तापक्रमको व्यवस्थाका लागि कुलिङ र थर्मल  म्यानेजमेन्ट सिस्टम राखिएको छ । ठुलो डेटाको लागि ७० टीबीको नेटवर्क अट्याच्ड स्टोरेज पनि राखिएको छ ।

हार्डवेयर, इन्भर्टर, कुलिक सिस्टम, सर्भर सेटअप लगायत गरेर नेपालमा दुई करोड रुपैयाँभन्दा बढी खर्च भएको सह-संस्थापक रेग्मीले बताए । जापानमा भने करिब डेढ करोड रुपैयाँ लागतमा पूर्वाधार राखिएका छन् । 

आफूलाई हाइ पर्फमेन्सको जीपीयू चाहिने विद्यार्थी तथा स्टार्टअप कम्पनीहरूले रिमोट एक्सेसमार्फत अङ्कको पूर्वाधार प्रयोग गर्न सक्ने चिफ अपरेटिङ अफिर अधिकारीले बताइन् । यसका लागि अङ्कले हरेक प्रयोगकर्ताका लागि भर्चुअल मसिन बनाइदिन्छ । त्यसपछि दिइने युजरनेम र पासवर्ड प्रयोग गरेर प्रयोगकर्ताले सामान्य ल्यापटपबाट आफूलाई चाहिएको जीपीयू र स्टोरेज उपयोग गर्न सक्छन् । 

घण्टा वा महिनाको हिसाबले भाडा तिरेर जीपीयू प्रयोग गर्न सकिने उनले बताइन् । यो पूर्वाधार मुख्यतया आफ्नै मोडेललाई तालिम दिन चाहने एआई स्टार्टअप, डेटा साइन्स वा इन्जिनियरिङमा रिसर्च गर्ने विद्यार्थी र प्रोफेसरलाई लक्षित गरिएको छ । अमित भन्छन्, “विदेशीलाई महँगो पैसा तिरेर खरीद गर्नुभन्दा नेपाली कम्पनीले चाहिने जीपीयू आवश्यकता अनुसार सहज तरिकाले किन्न सकिने सुविधा हामीले नेपालमै दिएका छौँ ।” 

 

मेकानिकल इन्जिनियरिङ र एआईलाई जोड्ने अंक

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका अमित सन् २०११ मा उच्च शिक्षा र कामको सिलसिलामा जापान पुगेका थिए । त्यहाँ ६ वर्षसम्म बसेका उनले होन्डा, ईएन्डटी जापान, मिसुमी जस्ता कम्पनीमा काम गरे । टोकियो विश्वविद्यालयमा पीएचडी ड्रप आउट भएर उनी सन् २०१७ मा कामकै सिलसिलामा अमेरिका पुगे । 

कामकै शीलशीलामा सन् २०११ मा आकियो तानाकासँग जापानमा उनको भेट भएको थियो । वासेडा युनिभर्सिटीबाट इलेक्ट्रिकल इन्जिनियरिङ गरेका तानाकाले जापानमा गोडेल ब्लक नामक कम्पनी पनि सञ्चालन गरेका छन् । म्यानुफ्याक्चरिङ र सिमुलेसन सफ्टवेयर निर्माणमा काम गर्ने उक्त कम्पनीमा अमित पनि बोर्ड सदस्यका रूपमा कार्यरत छन् । यसले जापानका ठुला उद्योगका लागि कम्प्युटर एडेड डिजाइन (सीएडी) र मेकानिकल इन्जिनियरिङसँग सम्बन्धित प्राविधिक समाधान प्रदान गर्छ ।

तानाकाको कम्प्युटर एडेड डिजाइन र कम्प्युटर एडेड इन्जिनियरिङ सम्बन्धी अनुभव र अमितको यसै क्षेत्रमा काम गरेको लामो अनुभवलाई लिएर सन् २०२३ मा अङ्क सुरु भएको हो । 

 

अमितका अनुसार उत्पादन क्षेत्रमा कुनै पनि सामान (जस्तैः गाडीको इन्जिन, हवाईजहाजको पङ्खा, मोबाइलको कभर आदि) बनाउनुअघि कम्प्युटरमार्फत त्यसको डिजाइन र कार्यक्षमता परीक्षण गर्ने प्रक्रियालाई सिमुलेसन भनिन्छ ।

यसमा कुनै सामानको थ्रिडी मोडेललाई ससाना भागमा विभाजन गरिन्छ । त्यसपछि भौतिक विज्ञानका जटिल गणितीय सूत्र प्रयोग गरेर प्रत्येक भागमा कति चाप, तापक्रम वा हावाको बहाव पर्छ भन्ने हिसाब गरिन्छ ।

तर यो प्रक्रिया निकै समय लाग्ने र महँगो हुन्छ । एउटा जटिल पार्टपूर्जाको परीक्षण गर्न शक्तिशाली कम्प्युटरले १० देखि ४० घण्टासम्म लगातार गणना गर्नुपर्ने हुन सक्छ । डिजाइनमा सानो परिवर्तन भए पनि फेरि सुरुदेखि नै घण्टौँ लगाएर परीक्षण दोहोर्‍याउनुपर्छ । 

सोही समस्या समाधानका लागि अङ्कले एआईमा आधारित सरोगेट मोडेल निर्माण गरिरहेको छ । यी मोडेल निर्माण गर्न एआईलाई हजारौँ पुराना सिमुलेसनका नतिजा देखाएर तालिम दिइन्छ । एआईले ती नतिजा हेरेर भौतिक विज्ञानले कसरी काम गर्छ भन्ने प्याटर्न सिक्छ र नयाँ डिजाइन तयार पार्दा तत्कालै सिमुलेसन गर्न सक्छ  । यसले कम समय र लागतमा मेकानिकल इन्जिनियरिङमा सिमुलेसन गर्न सक्ने सुविधा प्रदान गर्छ । 

 

थ्रिडी मोडेलिङको समय घटाउने ‘मेदा’देखि दाँतसम्बन्धी उपचारलाई स्वचालित बनाउने आविष्कार

अङ्कले मेदा (मेकानिकल इन्जिनियरिङ डिजाइन एजेन्ट-MEDA) नामक एआई प्रणाली पनि विकास गरेको छ । यसले टेक्स्ट लेखेको भरमा वा टुडी ड्रइङ गरेको भरमा थ्रिडी डिजाइन तयार पारिदिन्छ । यो प्रोजेक्टको बारेमा लेखिएको अनुसन्धान पत्र अमेरिकाको प्रतिष्ठित एएसएमई कन्फे्रेन्समा समेत प्रस्तुत गरिएको थियो ।

 

सिमुलेसन मोडेल ‘मेदा’

यस्तै कम्पनीले दाँतसम्बन्धी एआई प्रोजेक्टमा समेत काम गरेको सह-संस्थापक रेग्मी बताउँछन् । दाँतको उपचार प्रक्रियालाई डिजिटल र स्वचालित बनाउनका लागि जापानको एक अस्पतालका लागि उक्त प्रोजेक्ट तयार पारिएको हो । 

यो प्रणालीले यदि कसैको दाँत भाँचिएको वा बिग्रिएको छ भने वरपरका दाँतहरूको बनावट हेरेर बिरामीका लागि ठिक्क हुने नयाँ दाँतको 'क्राउन' आफैँ डिजाइन गरिदिन्छ । नयाँ बनाइएको दाँतले चपाउँदा वा मुख बन्द गर्दा माथिल्लो वा तल्लो दाँतसँग ठोक्किन्छ कि मिल्छ भनेर एआईले नै परीक्षण गर्छ । बिरामीको दाँतको स्क्यानमा कुन दाँत कहाँ छ र कुन मिसिङ छ भन्ने पहिचान गरेर एआईले नै नयाँ दाँत रजिस्टर गरिदिन्छ ।

कम्पनीले सिसालाई प्रेस गरेर निश्चित आकार दिनु अघि गरिने सिमुलेसनसँग सम्बन्धित प्रेसनेट पनि बनाएको छ (डेमो भिडिओ)। धातुलाई नतताई ससाना पार्टपुर्जाहरू जस्तै बोल्ट, बियरिङ, गेयर्स बनाउने कोल्ड फर्गिङ प्रक्रियासँग सम्बन्धित फर्जनेट नामक सरोगेट मोडेलसम्बन्धी अनुसन्धान पत्र समेत प्रकाशनको चरणमा रहेको छ । 

सिमुलेसन मोडेल ‘प्रेसनेट’

जापानको सिसा निर्माता कम्पनीहरूमा अङ्कको सरोगेट मोडेल प्रेसनेट प्रयोग भइरहेको छ । अमित भन्छन्, “नेपालमा ठुला म्यानुफ्याक्चरिङ कम्पनीहरू छैनन् । त्यसैले हामी जापान, अमेरिका जस्ता उत्पादन क्षेत्रमा अगाडि रहेका कम्पनीहरूलाई लक्षित गरेर सरोगेट मोडेल तयार गरिरहेका छौँ ।” 

 

कम्पनीको क्षमता बढाउन लगानी खोज्दै

नेपालमा कम्पनी सञ्चालन गरिरहँदा अमित भने हाल अमेरिकामा छन् । त्यहाँको कार्नेगी मेलन युनिभर्सिटीमा प्रोजेक्ट म्यानेजरको रूपमा कार्यरत उनी बिहान र साँझ अनलाइन मिटिङ गर्दै नेपालमा रहेको अङ्कको टोलीसँग कम्पनी सञ्चालन र प्रोजेक्टहरूमा भइरहेको प्रगतिको बारेमा जानकारी लिन्छन् । 

अङ्क हाल १४ जनाको परिवार बनेको छ । हाल कम्पनीको सह-संस्थापकहरू बाहेकका सम्पूर्ण कर्मचारी नेपालमै छन् । युवा दक्ष जनशक्ति कम्पनीमा आकर्षित गर्न रिमोट वर्कको संस्कृति समेत विकास गरिएको रेग्मीले बताए । 

“अहिले सबै युवाहरू विदेशिएका छन् । युवाले नै नयाँ अवसर खोज्ने हो । देश विदेशमा गएर सिक्ने हो । त्यसैले नेपालीहरू जुनसुकै देशमा गए पनि काम गर्न सक्ने वातावरण बनाएका छौँ,” रेग्मी भन्छन्, “एउटा मेकानिकल इन्जिनियर पढ्नको लागि अस्ट्रेलिया गएको छ भने त्यहाँ कुनै क्याफे वा रेस्टुरेन्टमा काम गर्नुभन्दा नेपालमा आफ्नो क्षमता र विषयसँग मिल्ने क्षेत्रमा घरमै बसेर काम गर्न सकुन् भनेर हामीले फ्लेक्जिबिलिटी हेर्ने गरेका छौँ ।”

‘अंक’ टिम

पछिल्लो समयमा कम्पनीका उत्पादनहरू क्राउन प्रोजेक्ट र सरोगेट मोडेलको आम्दानीबाट कम्पनीको खर्च चलिरहेको रेग्मी बताउँछन् । उनी भन्छन्, “अङ्कको पूर्वाधार विकासमा आफ्नै पकेटबाट पनि खर्च भइरहेको हुन्छ । पछिल्लो समयमा केही आम्दानी पनि गरिरहेको छ । तर, हामी नाफामा नै गइसकेका भने छैनौँ ।” 

कम्पनीले हाल सरोगेट मोडेलको अनुसन्धान र विकासमा काम गरिरहेको छ। आगामी दिनहरूमा यसलाई नै निरन्तरता दिँदै म्यानुफ्याक्चरिङ प्रक्रियालाई पूर्ण रूपमा एआईमैत्री बनाउने तर्फ योगदान पुर्‍याउने रहेको उनले सुनाए ।

‘एएसएमई कन्फे्रेन्स’मा प्रस्तुती दिँदै ‘अंक’ टिम

 कम्पनीको क्षमता बढाउनका लागि भने लगानीकर्ताको पनि आवश्यकता पर्ने अनुभव उनको छ । उनले भने, “हामीले जे काम गरिरहेका छौँ, त्यसलाई १० गुणाले बढाउने हो भने हामीलाई झन धेरै लगानी आवश्यक पर्छ ।” कम्पनीलाई स्केल अप गर्न चाहने लगानीकर्ता पाएमा आफूहरू सहकार्य गर्न समेत इच्छुक रहेको उनी सुनाउँछन् । 

नेपालमा प्रविधि क्षेत्रका दक्ष जनशक्तिको कमी नरहेको र अन्य देशको तुलनामा यहाँ कम लागतमा जनशक्ति प्राप्त हुने उनको अनुभव छ । विदेशी जनशक्तिमा खर्च हुने रकमलाई नेपालमै अनुसन्धान र विकासमा सदुपयोग गर्न सकिने उनी बताउँछन् । भूगोलले प्रविधि विकास र बजार खोज्न नछेक्ने भन्दै उनी भन्छन्, “नेपालमै बसेर पनि विश्व बजारलाई लक्षित गरी प्रविधि निर्माण गर्न सकिन्छ ।”

करिब तीन महिना पहिले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका विद्यार्थीहरूले ‘भर्टिकल्ली टेकअफ एन्ड भर्टिकल्ली ल्यान्डिङ’ (भीटीभीएल) रकेटको पहिलो चरणको सफल परीक्षण गरेका थिए । उक्त परियोजनाका लागि समेत अङ्कले वित्तीय सहयोग उपलब्ध गराएको थियो । विद्यार्थीहरूको समूहलाई अन्य चरणको परीक्षणका लागि समेत सहकार्य गर्ने योजना कम्पनीको छ । 

 

पछिल्लो अध्यावधिक: जेठ ३, २०८३ ११:३