close

आफ्नै लगानीकर्ताको कम्पनीलाई एनसेलको अन्तर्राष्ट्रिय एसएमएस गेटवे, सम्पत्ति शुद्धिकरण र राजस्व चुहावटको आशङ्का

टेकपाना टेकपाना

जेठ ६, २०८३ १०:५९

आफ्नै लगानीकर्ताको कम्पनीलाई एनसेलको अन्तर्राष्ट्रिय एसएमएस गेटवे, सम्पत्ति शुद्धिकरण र राजस्व चुहावटको आशङ्का

काठमाडौँ । एनसेलका नम्बरहरूमा विश्वभरबाट आउने व्यावसायिक Application-to-person (A2P) SMS भित्र्याउन कम्पनीकै लगानीकर्ता सतिशलाल आचार्यकै सिङ्गापुर स्थित कम्पनी स्मार्ट जेन पीटीई लिमिटेडसँग सम्झौता गरेको पाइएको छ । टेकपानालाई प्राप्त दुई कम्पनीबिचको ‘मास्टर सर्भिस एग्रिमेन्ट’बाट यस्तो रहस्य खुलेको हो ।

एनसेलको शेयर खरिद विक्री छानबिनका लागि गठित टङ्कमणि शर्मा दङ्गाल नेतृत्वको छानबिन समितिले कम्पनीका लगानीकर्तामाथि सम्पत्ति शुद्धीकरण, अन्डर इन्भोइसिङ, ओभर इन्भोइसिङ, हुन्डी लगायतका विषयमा थप अनुसन्धानको आवश्यकता औँल्याएको बेला यो तथ्यले त्यसैलाई थप बल पुर्‍याएको छ । १५ मङ्सिर २०८० (१ डिसेम्बर २०२३) मा विदेशी लगानीकर्तासँग रहेको ८० प्रतिशत शेयर गैर आवासीय नेपाली सतिशलाल आचार्यले खरिद गरेका थिए । 

उनले कम्पनी खरिद गरेपछि १७ जनवरी २०२५ मा स्मार्टजेनसँग एनसेलले ए-२-पी एसएमएसका लागि द्विपक्षीय मास्टर सर्भिस एग्रिमेन्ट गरेको हो । सम्झौता अन्तर्गत स्मार्ट जेनलाई एनसेलको नेटवर्कमा आउने सबै अन्तर्राष्ट्रिय ए-२-पी एसएमएसको 'सिङ्गल-हब' को रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ । यस्ता एसएमएसहरूमा बैङ्किङ अलर्ट, वन-टाइम पासवर्ड (ओटीपी), मार्केटिङ मेसेज र अन्य व्यावसायिक एसएमएसहरू पर्दछन् ।

आफ्नै कम्पनीसँग सम्झौता गर्दा यसले स्वार्थको द्धन्द्ध निम्त्याउने, ओभर बिलिङमार्फत् विदेशी मुद्रा अपचलन तथा राजस्व छलीको सम्भावना रहने नेपाल राष्ट्र बैङ्कका एक पूर्वकार्यकारी निर्देशकको विश्लेषण छ । “विदेश स्थित कम्पनीको बेनिफिसरी अनर खुल्दैन वा लुकाइएको छ भने यो गम्भीर विषय हो,” नाम नखुलाउने सर्तमा उनले भने ।   

सम्झौतामा दुई वर्षका लागि आम्दानी र एसएमएसको परिमाण तोकिएको छ । जसअनुसार प्रति महिना ४६ लाख ६६ हजार र प्रति वर्ष ५ करोड ६० लाख एसएमएस प्रवाह हुने र दुई वर्षमा कूल ११ करोड २० लाख एसएमएस भित्रिने प्रक्षेपण गरिएको छ ।

यत्रो ठुलो व्यवसायिक कारोबार र जिम्मेवारीको लागि छानिएको स्मार्ट जेनको वास्तविक चुक्ता पुँजी जम्मा १ सिङ्गापुर डलर मात्र छ । शेयर सङ्ख्या पनि एउटा मात्रै छ । 

सम्झौतामा पहिलो वर्ष ९२ लाख ४० हजार अमेरिकी डलर र दोस्रो वर्ष ९५ लाख २० हजार अमेरिकी डलर आम्दानी सङ्कलन हुने अनुमान गरिएको छ । जुन दुई वर्षमा कूल १ करोड ८७ लाख ६० हजार डलर (करिब ३ अर्ब नेपाली रुपैयाँ) हुन आउँछ । एसएमएसको आधार दर पहिलो वर्ष प्रति मेसेज ०.१६५ डलर (२५ रुपैयाँ माथि) र दोस्रो वर्ष ०.१७० डलर (२६ रुपैयाँ माथि) कायम गरिएको छ ।

अनधिकृत रुटहरूबाट आउने मेसेजहरू रोक्न एसएमएस फायरवाल र फ्ल्याश कल म्यानेजमेन्ट जस्ता आधुनिक सुरक्षा संयन्त्रहरू प्रयोग गरिने र त्यसमा लाग्ने मासिक २७,५०० अमेरिकी डलर पनि स्मार्ट जेनले नै बेहोर्ने सम्झौतामा उल्लेख छ । एनसेलले आफ्नै लगानीकर्ताको नियन्त्रणमा रहेको सिङ्गापुर स्थित अर्को कम्पनी मार्फत अन्तर्राष्ट्रिय ए-२-पी एसएमएस भित्र्याउने सम्झौता गर्नुले अनेकौँ आशङ्का उब्जिएका छन् । यस्तो अवस्थामा कारोबारको रकम तथा एसएमएसको दर समेत यथार्थपरक हुनेमा आशङ्का छ ।

ए-२-पी एसएमएस कारोबारमा सबैभन्दा संवेदनशील विषय ट्राफिक अर्थात् एसएमएसको वास्तविक परिमाण पनि हो । सम्पूर्ण अन्तर्राष्ट्रिय एसएमएस ट्राफिकको नियन्त्रण, रुटिङ र बिलिङ सम्बन्धित लगानीकर्ताको विदेशी कम्पनीमार्फत हुँदा वास्तविक कारोबारको स्वतन्त्र पुष्टि गर्न समेत चुनौतीपूर्ण देखिन्छ । यस्तो अवस्थामा वास्तविक ट्राफिकभन्दा कम वा बढी देखाउने, कारोबार रकम अफशोर सेटलमेन्ट गर्ने तथा आम्दानी कम वा बढी देखाउने कार्य हुनसक्ने प्राधिकरणका एक पूर्व निर्देशकले बताए । 

यो सम्झौताले ए-टु-पी एसएमएस मात्र नभएर अन्य दूरसञ्चार सेवाहरूलाई पनि समेट्ने देखिन्छ । 'मास्टर सर्भिस एग्रिमेन्ट' नाम दिएर यसमार्फत् विभिन्न किसिमको खरिद बिक्रीका लागि आधार तयार पारिएको छ ।

सम्झौताको प्रस्तावनामा नै स्मार्ट जेनलाई विश्वभर विभिन्न दूरसञ्चार सेवाहरू उपलब्ध गराउने कम्पनीको रूपमा उल्लेख गरिएको छ । यो सम्झौता अन्तर्गत दुवै पक्षले थप अनुसूचीको रूपमा अन्य सेवाहरू समेत थप्न र समावेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

जसको आधारमा कुनै पनि नयाँ सेवा खरिद गर्न सकिने र त्यसका लागि छुट्टै अनुसूची तयार गरे पुग्छ । जुन स्वतः यही सम्झौताको अङ्गको रूपमा रहने व्यवस्था छ । यस हिसाबले यो मास्टर एग्रिमेन्ट अन्तर्गत एनसेलले  स्मार्ट जेनसँग अन्य व्यावसायिक कारोबार समेत गरेको हुनसक्ने सम्भावना छ । 

एनसेलले आफ्नै लगानीकर्ताको अर्को कम्पनीसँग एक्सक्लुसिभ सम्झौता गरेर 'सेल्फ-डिलिङ' गरेको छ । प्रतिस्पर्धी कम्पनीहरूलाई अवसर नदिई आफ्नै विदेशी कम्पनीलाई एसएमएस गेटवे बनाइएको विषयमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई अहिलेसम्म जानकारी छैन । 

स्पष्ट आधार र प्रमाण भेटिएमा अध्ययन अनुसन्धान गरेर कानुन बमोजिम उचित निर्णय लिइने नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । “यस विषयमा हामी बुझ्छौँ, अनुसन्धान गर्छौँ । अनधिकृत कार्य भएको विपरीत कार्य भएको पाइएमा  कानुन बमोजिम कारबाही गर्छौँ ।” 

एउटै लगानीकर्ताका दुई कम्पनीबिच ए-२-पी एसएमएसका लागि सम्झौता हुँदा कर छलि, विदेशी मुद्रा अपचलन, राजस्व चुहावट, सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर प्रश्न उब्जिएका छन् । 

 

यसरी खुल्छ स्मार्ट जेन र एनसेलका लगानीकर्ता सतिशलालको सम्बन्ध

सम्झौतामा स्मार्ट जेनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) कारी जोकेला र एनसेलका तर्फबाट चिफ कमर्सियल अफिसर (सीसीओ)  उमाइर मोहसिनले हस्ताक्षर गरेका छन् । कारी जाकेला सतिशकै अर्को कम्पनी एलएस सिस्टम्सका सीईओ हुन् । एलएस सिस्टम्स र स्मार्ट जेन दुवैको ठेगाना एउटै हो- 84 Genting Lane, #07-08 Axxel Innovation Center, Singapore 349584 ।

एलएस सिस्टम सतिशले सन् २०२० मा सुरु गरेको कम्पनी हो । जुन विषय उनकै वेबसाइटमा उल्लेख छ ।

 


 

सिङ्गापुरको अकाउन्टिङ एन्ड कर्पोरेट रेगुलेटरी अथोरिटी (ACRA) बाट प्राप्त विवरण अनुसार २३ अगस्ट २०१३ मा स्थापना भएको स्मार्ट डिस्ट्रिब्यसन पीटीई लिमिटेडकै नाम परिवर्तन गरी १० अक्टोबर २०२४ मा स्मार्ट जेन पीटीई लिमिटेड कायम गरिएको थियो । स्मार्ट डिस्ट्रिब्यसन पीटीई लिमिटेडलाई आचार्य परिवारले नेपाल प्रहरीका लागि सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री आपूर्ति गर्ने फर्मको रूपमा समेत सूचीकृत गराएको थियो । जसको लोकल एजेन्ट सतिशकै भाइ सचिनलाल आचार्य हुन् । 

कम्पनीको नाम परिवर्तन गरेको ३ महिना लगत्तै स्मार्ट जेन र एनसेलबिच क्यारियर तथा होलसेल सर्भिसको लागि द्विपक्षीय मास्टर सर्भिस एग्रिमेन्ट भएको छ । 

स्मार्ट जेन पीटीईमा सिङ्गापुरका नागरिक वाङ्ग लक काईलाई २१ जुलाई २०२५ मा नोमिनी डाइरेक्टरको रूपमा नियुक्त गरिएको छ भने सिङ्गापुरकै नागरिक नियो ले हियाङ पामेला सन् २०१३ देखि नै उक्त कम्पनीको सचिवको रूपमा छिन् । तर वाङ लक काईलाई नै कम्पनीको नोमिनी शेयर होल्डरको रूपमा राखिएको छ ।

पामेलाको नाम इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट्स' (आईसीआईजे) को अफसोर लिक्स डेटाबेसमा पनि जोडिएको छ । उक्त डेटाबेसका अनुसार उनी ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएका विभिन्न अफसोर कम्पनीहरूसँग सम्बन्धित छिन् । उनी ग्रोइङ टेक्नोलोजी लिमिटेड, सनराइज सेक्युरिटिज लिमिटेड र रिभरसाइड युनिभर्सल सर्भिसेस इन्क जस्ता दर्जनौँ कम्पनीहरूमा निर्देशक, सचिव र सेयरधनीको रूपमा संलग्न रहेको देखिन्छ ।

नेपालको सन्दर्भमा उनको नाम सेन्टर फर इन्भेस्टिगेटिभ जर्नलिजम नेपाल (सीआईजे-नेपाल) को खोजमूलक रिपोर्टमा उल्लेख छ । नेपाली व्यवसायी सतिशलाल आचार्यको सिङ्गापुरमा रहेको लाल साहु डिस्ट्रिब्युसन र बिटम्याप प्राइभेट लिमिटेडमा पामेलाको लगानी रहेको खुलेको छ । कर तथा कर्पोरेट विज्ञको रूपमा परिचित उनको संलग्नता अन्तर्राष्ट्रिय व्यापार, अफसोर (ट्याक्स हेभन) कम्पनीहरूको स्थापना र व्यवस्थापनमा गहिरो संलग्नता रहेको देखिन्छ ।

तर वाङ लक काईलाई नोमिनी डाइरेक्टर तथा नोमिनी शेयर होल्डरको रूपमा देखाएर वास्तविक मालिक लुकाउने प्रयास गरिएको छ । संरचना नै अस्पष्ट भएको कम्पनीको अन्तिम लाभग्राही नखुल्नु आफैमा शङ्कास्पद विषय हो ।

स्मार्ट जेनलाई सिङ्गापुरमा आधारित एक थोक सेवा प्रदायकको रूपमा प्रस्तुत गरिएको छ । जसले विश्वभर विभिन्न प्रकारका दूरसञ्चार सेवाहरू स्थापना, सञ्चालन र प्रदान गर्ने भनिएको छ । एनसेलसँगको सम्झौता अनुसार स्मार्ट जेनलाई एनसेलको नेटवर्कमा आउने सबै अन्तर्राष्ट्रिय ए-२-पी एसएमएस प्रसारणका लागि एकल हबको रूपमा नियुक्त गरिएको छ । 

यसको अर्थ एनसेलका ग्राहकहरूलाई आउने सबै अन्तर्राष्ट्रिय व्यावसायिक मेसेजहरू स्मार्ट जेनकै प्लेटफर्ममार्फत मात्र प्रवाहित हुने सुनिश्चित गरिएको छ । यति मात्र होइन, आवश्यक परेमा आफ्ना दायित्वहरू पूरा गर्न प्राविधिक साझेदारहरूलाई उप-प्रतिनिधि वा उप-सम्झौता मार्फत परिचालन गर्न सक्ने अधिकार समेत यसले राख्दछ । यस्तो विशिष्ट काम गर्ने सेवा प्रदायकको रूपमा चिनाइएको स्मार्ट जेन कुनै ठुलो कम्पनी भने होइन । सिङ्गापुरको अकाउन्टिङ एन्ड कर्पोरेट रेगुलेटरी अथोरिटीका अनुसार स्मार्ट जेनको वास्तविक चुक्ता पुँजी जम्मा १ सिङ्गापुर डलर मात्र छ भने शेयर सङ्ख्या पनि एउटा मात्रै छ ।

मास्टर सर्भिस एग्रिमेन्टमा स्मार्ट जेन तर्फको सम्पर्क विवरणमा एनसेलको ८० प्रतिशत शेयर खरिद गर्ने सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटको ईमेल [email protected] उल्लेख छ । जुन स्पेक्ट्रलाइटमा ग्रुप सीईओको पदमा रहेका डन जे रे (Don J. Rae) को ईमेल हो । उनको ठेगाना पनि बेलायतको नभई स्मार्ट जेनकै अफिस रहेको स्थान अर्थात् Address: 84 Genting Lane, #07-07, Axxel Innovation Centre, Singapore 349584 उल्लेख छ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८३ ११:१७