राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित
जेठ ७, २०८३ १७:५६
काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको नाराबाजीका बीच बहुमतले उक्त प्रस्ताव पारित भएको हो ।
प्रधानमन्त्री, गृहमन्त्री तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री वालेन्द्र शाह (बालेन)को सट्टामा प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन् ।
विधेयक प्रस्ताव भएसँगै सभामुख डोलप्रसाद अर्यालले सांसदहरूका लागि विधेयकको सैद्धान्तिक पक्षमा सामान्य छलफलका लागि समय दिए पनि कुनै पनि सांसदले नाम टिपाएनन् । त्यसपछि सभामुखले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्तावमा बहुमत सदस्यले समर्थन जनाएका थिए ।
यससँगै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक २०८१ संशोधन अघि बढाउने बाटो खुलेको छ । अब उक्त विधेयकमा संशोधन चाहने प्रतिनिधि सभा सदस्यहरूले ‘प्रतिनिधि सभा सदस्य नियमावली २०७९’ को नियम ११२ बमोजिम सिंहदरबारस्थित संघीय संसद कार्यालयको विधेयक शाखामा संशोधन पेश गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ ७, २०८३ १७:५६
