close

सोलिड-स्टेट ब्याट्रीमा बीवाईडीको नयाँ पेटेन्ट दर्ता, २०२७ सम्ममा पाइलट उत्पादन सुरु गर्ने

टेकपाना टेकपाना

जेठ १२, २०८३ ९:९

सोलिड-स्टेट ब्याट्रीमा बीवाईडीको नयाँ पेटेन्ट दर्ता, २०२७ सम्ममा पाइलट उत्पादन सुरु गर्ने

काठमाडौँ । चिनियाँ विद्युतीय सवारी (ईभी) निर्माता कम्पनी बीवाईडीले सोलिड-स्टेट ब्याट्री प्रविधिमा एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै नयाँ पेटेन्ट दर्ता गरेको छ । मे २०२६ मा सार्वजनिक भएको यो पेटेन्टले चीनको ब्याट्री उद्योगमा बढ्दो प्रतिस्पर्धा र २०२७ सम्ममा पाइलट उत्पादन सुरु गर्ने लक्ष्यलाई थप बल पुर्‍याएको छ ।

चीनको राष्ट्रिय बौद्धिक सम्पत्ति प्रशासन (National Intellectual Property Administration) द्वारा प्रकाशित पेटेन्ट नम्बर CN121983643A का अनुसार यो पेटेन्ट कम्पोजिट सोलिड इलेक्ट्रोलाइट मेम्ब्रेन र यसको निर्माण विधि, सोलिड-स्टेट ब्याट्री, ब्याट्री प्याक र विद्युतीय उपकरणसँग सम्बन्धित छ ।

यस प्रविधिमा साना र ठुला दुवै प्रकारका इनअर्गानिक सोलिड इलेक्ट्रोलाइट कणहरूलाई पोलिमर इलेक्ट्रोलाइट फाइबर नेटवर्कको लेपन (coating) सँग मिसाइएको हुन्छ । यो पोलिमर इलेक्ट्रोलाइटमा पोलिमर म्याट्रिक्स र लिथियम साल्ट समावेश हुन्छ ।

यो विशेष संरचनाको उद्देश्य इलेक्ट्रोलाइट मेम्ब्रेनको आयोनिक चालकता (ionic conductivity) र मेकानिकल शक्तिमा सुधार ल्याउनु हो ।यद्यपि यस पेटेन्ट कागजातमा ऊर्जा घनत्व (energy density), चार्जिङ प्रर्फमेन्स, साइकल लाइफ, उत्पादन लागत वा व्यावसायिकरणको निश्चित समय तालिकाबारे जानकारी दिइएको छैन । साथै लिथियम-मेटल एनोड्स वा सवारी साधनमा यसको एकीकरण जस्ता विषयहरू पनि यसमा उल्लेख छैनन् ।

अप्रिल २०२६ मा बीवाईडीका प्रमुख वैज्ञानिक लियान युबोले कम्पनीको सोलिड-स्टेट ब्याट्री विकास निर्णायक मोड (critical breakthrough stage) मा पुगेको जानकारी दिएका थिए । तर इन्जिनियरिङ जटिलता, लागत नियन्त्रण र उत्पादन क्षमता जस्ता चुनौतीहरू अझै बाँकी रहेको उनले बताएका छन् ।

लियानका अनुसार सोलिड-सोलिड इन्टरफेसियल स्थिरता र लिथियम डेन्ड्राइटको समस्या यस प्रविधिका मुख्य प्राविधिक बाधाहरू हुन् । उनले उद्योगलाई प्रत्येक ब्याट्री सेल सुधार गर्नुको सट्टा पूर्ण-श्रृङ्खला प्रणाली (full-chain system) विकासमा ध्यान दिन आग्रह गरेका छन् ।

बीवाईडीले २०२७ सम्ममा पाइलट-स्केलमा सोलिड-स्टेट ब्याट्रीको परिचालन गर्ने लक्ष्य राखेको छ । यसका साथै कम्पनीले १०,००० चार्जिङ साइकलको लक्ष्य राखेको तेस्रो पुस्ताको सोडियम-आयन ब्याट्री पनि विकास गरिरहेको छ ।

बीवाईडी मात्र नभई चीनका अन्य ठुला ब्याट्री उत्पादकहरू पनि यो प्रविधिमा अगाडि बढिरहेका छन् । सीएएलबी मार्चमा ६० Ah को पूर्ण-सोलिड-स्टेट ब्याट्री प्रोटोटाइप प्रस्तुत गरेको थियो । जसको ऊर्जा घनत्व ४५० Wh/kg भन्दा बढी छ ।

त्यस्तै चेरीले ४०० Wh/kg घनत्व भएको ६० Ah सोलिड-स्टेट ब्याट्री विकास गरिरहेको छ । २०२७ सम्ममा सवारी साधनमा यसको परीक्षण गर्ने योजना छ ।

सीएटीएलले सल्फाइडमा आधारित सोलिड-स्टेट ब्याट्री पेटेन्ट दर्ता गर्दै २०२७ सम्ममा पाइलट उत्पादनको लक्ष्य राखेको छ भने जीएसीले साना ब्याचहरूमा परीक्षणका लागि ६० Ah भन्दा माथिका सोलिड-स्टेट सेलहरूको उत्पादन सुरु गरिसकेको छ ।

हाल बीवाईडी मुख्य रूपमा एलएफपी (Lithium Iron Phosphate) ब्याट्री उत्पादनमा केन्द्रित छ ।

पछिल्लो अध्यावधिक: जेठ १२, २०८३ ९:११