close

‘गड्स आई’ प्रविधिबाट सडक दुर्घटना शून्य बनाउने बीवाईडीको लक्ष्य, क्षति भएमा खर्च पनि व्यहाेर्ने​

टेकपाना टेकपाना

जेठ १६, २०८३ १४:४०

‘गड्स आई’ प्रविधिबाट सडक दुर्घटना शून्य बनाउने बीवाईडीको लक्ष्य, क्षति भएमा खर्च पनि व्यहाेर्ने​

काठमाडाैँ । विश्वको सबैभन्दा ठुलो विद्युतीय सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाईडीले आफैँले विकास गरेको स्वचालित (अटोनोमस) ड्राइभिङ प्रविधि मार्फत सडक दुर्घटनालाई शून्यमा झार्ने लक्ष्य लिएको छ । कम्पनीले आम उपभोक्ताले किन्न सक्ने किफायती मूल्यका नयाँ पुस्ताका सवारीसाधन उत्पादन गर्ने उद्देश्यसहित उक्त प्रविधिको विकासलाई तीव्रता दिएको जनाएको छ ।

बीवाईडीले ‘गड्स आई’ (God’s Eye) नामक उन्नत चालक सहायता प्रणाली (Advanced Driver Assistance System) विकास गरेको छ । यो प्रणाली सक्रिय भएको अवस्थामा चालकले स्टेयरिङबाट हात हटाएर सवारी चलाउन सक्नेछन् । गत बिहीबार शेन्जेनमा आयोजित एक कार्यक्रममा बोल्दै बीवाईडीका संस्थापक तथा अध्यक्ष वाङ चुआनफूले ‘गड्स आई’ मार्फत ट्राफिक दुर्घटना शून्यमा झार्ने लक्ष्य रहेको बताएका छन् । 

“विश्वभर हरेक वर्ष करिब ११ लाख ९० हजार मानिस ट्राफिक दुर्घटनामा ज्यान गुमाउँछन् र करोडौँ बढी घाइते हुन्छन् । हाम्रो पहिलो लक्ष्य ट्राफिक दुर्घटनालाई शून्यमा झार्नु हो,” साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित रिपोर्टमा भनिएको छ । “एक कारमा दर्जनौँ क्यामेरा, लाइडर र राडार जडान गरिएको हुन्छ । यो दर्जनौँ आँखासरह प्रणाली हो, जसले चौबीसै घण्टा सडक अवस्थालाई कुनै ब्लाइन्ड स्पटबिना निगरानी गर्छ । उन्नत चालक सहायता प्रणाली कहिल्यै थाक्दैन,” उनले थपे ।

उक्त प्रविधि प्रयोग भइरहेका बेला हुने ट्राफिक दुर्घटनाबाट निम्तिने खर्च बीवाईडीले नै व्यहोर्ने प्रतिबद्धता पनि कम्पनीले जनाएको छ । गड्स आईको मूल्य १२ हजार युआन हुने वाङ जानकारी गराएका छन् । यद्यपि यो प्रविधि व्यावसायिक रूपमा बजारमा कहिले आउँछ भन्ने समयसीमा खुलाइएको छैन । बीवाईडीले हालै सार्वजनिक गरेका नवीन प्रविधिहरूले कम्पनीको रणनीतिमा महत्वपूर्ण परिवर्तन देखाएको छ ।

कम्पनीले बजार हिस्सा बढाउन मूल्य कटौतीको सट्टा प्रविधिगत प्रगतिमा ध्यान केन्द्रित गर्न थालेको स्पष्ट संकेत दिएको छ । गत वर्ष चीन सरकारले ईभी कम्पनीहरुलाई मूल्य युद्धबाट पछि हट्न आग्रह गरेको थियो । अहिले कार निर्माताहरू उत्पादन प्रविधिमा सुधार गरेर लागत घटाउँदै मूल्य कम गर्ने वा उपभोक्तालाई पुरानै मूल्यमा विद्यमान मोडेलभन्दा राम्रो प्रदर्शन गर्ने नयाँ मोडेलहरू उपलब्ध गराउने मध्ये कुनै एक रणनीति अपनाइरहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८३ १५:८