सांकेतिक तस्बिर
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा प्रवाहका क्रममा कुनै पनि कर्मचारी वा अन्य व्यक्तिले अतिरिक्त रकम माग गरेमा वा अनुचित कार्य गरेमा तत्काल प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले सम्पर्क नम्बर र ईमेल एड्रेस उपलब्ध गराएको हो ।
विज्ञप्तिमा प्राधिकरणले लेखेको छ, “...सेवाग्राहीलाई तोकिएको प्रक्रिया र आधिकारिक माध्यमबाट मात्र सेवा लिन तथा कुनै अनियमितता देखिएमा सम्बन्धित निकायमा जानकारी गराई सुशासन कायम गर्न सहयोग गर्न अनुरोध गर्दछ ।”
विज्ञप्तिमा अगाडि भनिएको छ, “प्राधिकरणबाट उपलब्ध गराइने सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्क भन्दा अतिरिक्त रकम मागिएको वा कुनै कर्मचारी तथा अन्य व्यक्तिबाट अनुचित कार्य भएको पाइएमा सोको यथेष्ट प्रमाणसहित नेपाल विद्युत प्राधिकरणको देहाय बमोजिमको नम्बरमा तत्काल जानकारी गराउन सम्पूर्ण सेवाग्राहीमा अनुरोध गरिन्छ ।”
यस्ता गुनासो तथा उजुरीहरू दर्ता गर्नका लागि प्राधिकरणले विभिन्न माध्यम तोकेको छ । सेवाग्राहीले वितरण तथा ग्राहक सेवा निर्देशनालयको टेलिफोन नम्बर ०१-४१५३१४५ मा सिधै सम्पर्क गरी आफ्नो गुनासो राख्न सक्नेछन् । यसका साथै जनसम्पर्क तथा गुनासो व्यवस्थापन शाखाको मोबाइल नम्बर ९८५१३५५६९६ मा वा ईमेल ठेगाना [email protected] मा आवश्यक प्रमाणसहित उजुरी पठाउन सकिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार २, २०८३ १६:२३
