close

साउन १ देखि घरमै ड्राइभिङ लाइसेन्स डेलिभरी गर्ने सरकारको तयारी

टेकपाना टेकपाना

असार १८, २०८३ २२:१७

साउन १ देखि घरमै ड्राइभिङ लाइसेन्स डेलिभरी गर्ने सरकारको तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले आगामी १ साउनदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को आवेदन दिने सेवाग्राहीलाई घरमै पुर्‍याउने व्यवस्था सुरु गर्ने भएको छ । विभागले हुलाक सेवा विभागसँगको सहकार्यमा सेवाग्राहीको इच्छाअनुसार तोकिएको ठेगानामा लाइसेन्स पुर्‍याउने तयारी गरेको हो ।

विभागका उपनिर्देशक केशवराज खतिवडाका अनुसार नयाँ आर्थिक वर्षदेखि आवेदन दिने सेवाग्राहीले फारम भर्दा नै आफूलाई पायक पर्ने स्थान वा घरको ठेगाना छनोट गर्न पाउनेछन् । “अहिले प्रिन्ट भएका लाइसेन्स कसलाई कहाँ लगेर दिने भन्ने स्पष्ट जानकारी हुँदैन । किनभने मानिसको स्थायी ठेगाना र हालको बसाइ फरक हुन सक्छ,” खतिवडाले टेकपानासँग भने, “अब नयाँ आवेदनकै क्रममा वितरण केन्द्र वा घरमै लिने विकल्प खुलाइनेछ ।”

यसै क्रममा एक हजार ८९ वटा लाइसेन्स नागरिकका घर-घरमा पुगेको उनले जानकारी दिए । हुलाकले विभिन्न यातायात कार्यालयसँग समन्वय गरेर कास्की, मोरङ, बाँके, सुनसरी, बझाङ, कालिकोट र पर्सा जिल्लामा घर घरमा पुर्‍याउने काम गरेको हो । आगामी साउनदेखि भने यातायात विभागले पनि तथ्याङ्क सङ्कलन गर्ने तयारी गरेको हो । 

उपनिर्देशक खतिवडाका अनुसार गत कात्तिक १२ गते १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भएको थियो । सो अनुसार १२ वैशाखसम्ममा १२ लाख लाइसेन्स छापिएको थियो । ३२ असारसम्ममा बाँकी १७ लाख छाप्ने गरी दोस्रो चरणको सम्झौता भएको थियो । 

सुरक्षण मुद्रण केन्द्रसँगको यी दुई सम्झौताअनुसार कुल २९ लाख लाइसेन्समध्ये हालसम्म २४ लाख प्रति छापिसकिएको उनले बताए । बाँकीमध्ये दुई लाख प्रति छाप्ने तयारी भइरहेको र ३२ असारसम्म सम्पन्न भइसक्ने उनले बताए ।

पछिल्लो अध्यावधिक: असार १८, २०८३ २२:१८